नेपालमा कृषिजन्य उत्पादनमा विषादीको प्रयोग गर्ने क्रम बढेको छ। गत आर्थिक वर्ष ०७२(७३ मा मात्रै ५ लाख ७४ हजार ६० किलो विषादी खपत भएको छ। यो विषादी खरिदका लागि ६९ करोड ४८ लाख ४ हजार ७१ रुपैयाँ खर्च भएको छ।
सबैभन्दा धेरै विषादी तरकारीमा खपत हुने गरेको छ। तरकारीमा मात्रै ८५ प्रतिशतसम्म विषादी प्रयोग हुने गरेको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशन अच्युतप्रसाद ढकालले बताए। उनका अनुसार आर्थिक वर्ष ०७२(७३ मा १ सय ८१ टन कीटनासक, २ सय ४७ टन रोगनासक, १ सय ३४ टन झारनासक र १२ टन अन्य प्रकारका विषादी प्रयोग भएको खबर सरला कट्टेलले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।
विषादीको प्रयोग तराईमा धेरै हुने गरेको छ। वार्षिक ९९५ ग्राम प्रतिहेक्टरका दरले तराईमा विषादी प्रयोग भइरहेको बाली संरक्षण निर्देशनालयले जनाएको छ। त्यस्तै उच्च पहाडी क्षेत्रमा प्रतिहेक्टर ८५, पहाडी क्षेत्रमा ३१४ र उपत्यकामा ४७० ग्राम प्रतिहेक्टर विषादी प्रयोग हुने गरेको छ।
नेपालमा खपत हुने विषादीमध्ये ८० प्रतिशत विषादी भारत, चीन र जापानबाट आउने गरेको वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए। २० प्रतिशत भने नेपालमा उत्पादन हुन्छ। सबैभन्दा बढी विषादी भारतबाट आउने गरेको उनले बताए।
बाली संरक्षण निर्देशनालयले सिमी, भिन्डी र अकबरे खुर्सानीको विषादी परीक्षण गर्दा ४५ प्रतिशत प्रयोग भएको पाइएको छ। सर्लाहीको सिमी, धादिङको भिन्डी र मकवानपुरको अकबरे खुर्सानीको विषादी मापन गर्दा विषादीको यस्तो परिणाम देखापरेको निर्देशक ढकालले बताए।
डा.अरुणा उप्रेतीका अनुसार कृषिजन्य उत्पादनमा विषादीको प्रयोगबाट स्वास्थ्यमा पर्ने असरबारे सरकारी तवरबाट कुनै पनि अनुसन्धान गरिएको छैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार विषादीकै कारण विश्वमा हरेक वर्ष ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ। ४ करोड मानिसमा विषादीले कुनै न कुनै रूपमा असर गरेको हुन्छ।
तत्कालीन असरमा बान्ता हुने, मूर्छा पर्ने, झाडापखाला लाग्ने, पेट दुख्ने, टाउको दुख्ने, एलर्जी हुने, रिँगटा लाग्ने, श्वासप्रश्वासमा समस्या, खाना अरुचि, धमिलो देख्ने, वाकवाक लाग्ने, आँखा–नाक पोल्ने जस्ता असर देखिन्छ भने दीर्घकालीन असरमा अन्धोपना, क्यान्सर, ट्युमर, नपुंसकता, बाँझोपन, विकृत बच्चाको जन्म, नसामा समस्या, स्नायु प्रणालीको विकासमा ह्रास, एकाग्रतामा कमी जस्ता असर देखिने गरेको डाक्टर उप्रेतीले बताइन्।