जस्ताले बेरबार बनाएको छाप्रोको अघिल्तिर थोत्रो सुकुलमा घाम तापिरहेकी थिइन् ६५ वर्षीया टरमैयाँ महर्जन। छेउमा थिए, ७५ बर्से पति माइलाकाजी। माइलाकाजी पत्नीको साथ एकैछिन पनि छाड्दैनन् किनकि ०७२ सालको भूकम्पपछि टरमैयाँको होस राम्ररी खुलेको छैन। त्यही बेलादेखि उनी पक्षघातले थलिएकी छन्। ‘उनी न बोल्न सक्छिन् न त हिँडडुल गर्नै ! त्यसैले एकछिन पनि छाड्दिनँ’, पत्नीको छेउमा बसिरहेका माइलाकाजीले भने। यो खबर नितु घलेले आजको अन्नपूर्णमा लेखेकी छन्।
खोकनाको सार्वजनिक चौरमा निर्मित टहरामा बस्दै आएका तीन सय भूकम्पपीडितमध्ये हो यो वृद्ध जोडी। पुसको ठण्डीमा यसरी कहर काटिरहेका यस्ता धेरै वृद्धवृद्धा छन् यहाँ। भूकम्पले भग्नावशेष बनेका घर पन्छाउन आर्थिक अभाव भएकाले यो दम्पती अहिलेसम्म टहरामै दिन काट्न विवश छ। घर बनाउन लालपुर्जाको पनि समस्या रहेको उनीहरू बताउँछन्।
खोकना माझटोल बस्ने ७६ बर्से मानभक्त महर्जन पनि यस्तै पीडित हुन्। परिवारका एक्ला सदस्य। डेढ आना जग्गामा बनेको उनको घर भत्किएपछि टहरामा बसिरहेका छन्। दमले थलिएका उनले राहतको पहिलो किस्तास्वरूप पाएको ५० हजार रुपैयाँ दमको औषधि किनेरै सकिन लागेको बताए। उनले भने, ‘जाडोमा हामीजस्ता रोगीलाई छाप्रोमा बस्न धेरै गाह्रो छ, आफ्नै घरमा सर्न पाए हुन्थ्यो।’
दमपीडित ८४ वर्षीया धनकुमारी महर्जन पनि टहरोमै रात काटिरहेकी छन्। ‘जति रात छिप्पिन्छ, स्वाँ स्वाँ झन् बढ्छ’, उनले भनिन्, ‘दमका बिरामीलाई चिसोमा रात काट्न सास्ती छ।’ ४५ वर्षअघि पति गुमाएकी उनको बास दुई वर्षदेखि टहरामै छ। ‘मर्नुअघि आफ्नै घरमा सर्न पाए हुन्थ्यो’, उनी भन्छिन्। एक आना जग्गामा बनेको घरको माटो अझै पन्छाउन नसकेको बताउँछिन् उनी। नेवारी परम्पराअनुसार तेस्रोपल्ट ‘जंकु’ गर्ने बेला भइसकेको छ तर टहरामा ‘जंकु’ गर्न उनलाई मन छैन।
टहरोमा बस्दै आएका स्थानीयले भूकम्पका भग्नावशेष पन्छाइदिन पटक-पटक वडा कार्यालयमा आग्रह गरे पनि अहिलेसम्म २०÷२२ घरबाहेक बाँकीको हटाइएको छैन। एउटै घरको माटो पन्छाउन २५ सयदेखि ५ हजार रुपैयाँसम्म लाग्ने अनुमान छ।
ललितपुर महानगर-२५ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार अझै खोकनाका पाँच सय घरको भग्नावशेष पन्छाउन बाँकी छ। फागुनसम्म सबै भूकम्पीडितका घरको भग्नावशेष पन्छाइसक्ने र लालपुर्जा बनाउन पहल गर्ने प्रतिबद्धता उनले जनाए। उनले भने, ‘यस्ता वृद्धवृद्धाको समस्या समाधान गर्ने प्रयास गर्नेछु।’