एमाले र माओवादीबीचको एकता प्रक्रिया एकीकृत पार्टीको नेतृत्वमा अड्किएको छ। राष्ट्रिय सभा निर्वाचनका कारण प्रक्रिया लम्बिँदै गएपछि वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नयाँ सरकार गठनअगावै एकता टुंग्याउने गरी नियमित छलफल चलिरहेको छ। तर, दुई नेताबीचको छलफल एकीकृत पार्टीको नेतृत्वमा अड्किएको छ। यो खबर शुरोजंग पाण्डे र वीरेन्द्र ओलीले आजको नयाँ पत्रिकामा लेखेका छन्।
एमाले अध्यक्ष ओली सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बन्ने भएकाले एकीकृत पार्टीको नेतृत्वमा माओवादीले दाबी गरेको छ। तर, एमालेले भने महाधिवेशनअगावै त्यसरी जाँदा विधान र पद्धति कमजोर हुने भन्दै दुवै पार्टी प्रमुख बन्ने मोडलमा सहमति खोज्नुपर्नेमा जोड दिएको छ।
स्रोतका अनुसार एमालेले ओली अध्यक्ष र प्रचण्ड सहअध्यक्ष रहने या दुवै महाधिवेशन आयोजक समितिको संयोजक रहने गरी सहमतिमा पुग्न सकिने विकल्प प्रस्तुत गरेको छ। केन्द्रमा दुवै पार्टीका शीर्ष नेताहरू रहेको महाधिवेशन तयारी सचिवालय बनाएर ६०-४० कै अनुपातमा दुवै पार्टीको केन्द्रीय समिति मिलाएर महाधिवेशन आयोजक समिति बनाएर जान सकिने प्रस्ताव गरेको छ। ओलीनिकट नेताहरू शंकर पोखरेलले महाधिवेशनअघिको संक्रमणकालीन चरणमा दुवैलाई पार्टी प्रमुख मानेर जान सकिने विकल्प बहसका रूपमा अघि सारिसकेका छन्।
दुवै पार्टीबाट तीन सयदेखि ३५० जनासम्मको तयारी समिति बनाएर जान सकिने एमालेको विकल्प छ। त्यस्तै, महाधिवेशन तयारीका सन्दर्भमा दस्ताबेज लेखन समिति, मातहत कमिटी र भ्रातृ संगठन एकीकरण टुंग्याउने गरी सांगठनिक एकता तयारी समितिलगायत समिति बनाएर जान सकिने विकल्पमा पनि छलफल चलिरहेको दुवै पार्टीका नेताहरूको दाबी छ।
मुख्य चुनौती : शीर्ष नेताको व्यवस्थापन एकतामा शीर्ष नेताहरूको व्यवस्थापन मुख्य चुनौती देखिएको छ। पार्टी प्रमुख भइसकेका एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र माओवादी वरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ। ओली र प्रचण्डबीचको छलफलमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई निरन्तरता दिने कि नदिने विषयले समेत प्रवेश पाएको छ। एमाले नेता खनालले राष्ट्रपतिमा इच्छा देखाए पनि नेपालले भने परिस्थितिले साथ दिए पुनः एकपटक एकीकृत पार्टीको नेतृत्व लिने आकांक्षा देखाएका छन्।
उता, निर्वाचनमा पराजित गौतम र श्रेष्ठलाई कसरी व्यवस्थापन गर्ने चुनौतीबीच थापालाई भने राष्ट्रिय सभाको नेतृत्व दिन सकिने विकल्पमा समेत कुरा भइरहेको स्रोतको दाबी छ। तर, गौतम र श्रेष्ठले भने पुनः राष्ट्रिय सभामा सांसद बन्ने आकांक्षा देखाएका छैनन्। ओली र प्रचण्डबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षलगायत महत्वपूर्ण पदहरू भागबन्डा गर्ने विषयमा समेत छलफल केन्द्रित रहेको स्रोतको भनाइ छ।
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड तीन दिनदेखि नियमित संवादमा छन्। शुक्रबार र शनिबार दुई नेताबीच ललितपुरस्थित प्रचण्डनिवास खुमलटारमा संवाद भएको थियो। दुई नेताबीच नयाँ सरकार गठनसँगै राजकीय मामिला र पार्टी नेतृत्वको शक्ति बाँडफाँडमा केन्द्रित रहेर छलफल भएको स्रोतले जनाएको छ। ‘उहाँहरूबीच सरकार गठन र पार्टी एकतासम्बन्धी पछिल्लो छलफलकै निरन्तरताका रूपमा नियमित कुराकानी भइरहेको छ,’ ओलीनिकट स्रोतले भन्यो, ‘छलफल सकारात्मक दिशामा उन्मुख भइरहेकाले परिणाम आएपछि नै सबै कुरा सार्वजनिक हुनेछ।’
एमाले र माओवादीभित्र एकता वैचारिक बहसभन्दा पदीय भागबन्डामा केन्द्रित भएको भन्दै कतिपय नेताहरूले असन्तुष्टि जनाएका छन्। एमाले उपमहासचिव घनश्याम भुसालले दुई पार्टीबीचको एकताको मिलनबिन्दु नयाँ सैद्धान्तिक धरातलबाट खोज्नुपर्ने भन्दै पुँजीवादी क्रान्तिसँगै जनताको बहुदलीय जनवादको औचित्य सकिएकाले नयाँ जगमा एकतको सैद्धान्तिक आधार खोज्नुपर्ने धारणा बाहिर ल्याएका छन्। माओवादी नेता गोपाल किराती र विश्वभक्त दुलालले त प्राविधिक एकताको अर्थ नभएको भन्दै पार्टी परित्यागको घोषणा नै गरिसकेका छन्।
एमाले सचिव योगेश भट्टराईले भने ताजा जनादेशले एकतालाई अनुमोदन गरिसकेकाले कांग्रेस अत्तालिएको र टुटाउने खेल भइरहेको दाबी गरे। ‘जनताको जनादेशले एकता अनुमोदित भइसकेकाले पाँच वर्षका लागि होइन, ५० वर्ष शासन चलाउने गरी अब पार्टी एकता हुँदै छ,’ आइतबार आयोजित एक कार्यक्रममा भट्टराईले भने, ‘त्यसैले कांग्रेस अत्तालिएर गठबन्धन टुटाउने खेलमा लागेको छ, कतिपय शक्ति पनि त्यस्तो खेलमा लागेका छन्।’
माओवादी नेता पौडेलले भने वाम एकता गर्ने विषय जनताबाट अनुमोदन भइसकेकाले सैद्धान्तिक बहसकै क्रममा वैचारिक एकता कायम हुने बताए। ‘वामपन्थीकै दबाबमा संविधानमै आगामी समाज समाजवादीउन्मुख हुने उल्लेख छ,’ पौडेलले भने, ‘एमाले–माओवादी एकता हुँदा जसरी तेस्रो पार्टी बन्छ, विचारमा पनि तेस्रो विचार निर्माण हुने सम्भावना छ।’