प्रदेश राजधानीका लागि नयाँ सहरको विकास गर्नु उचित हुने विभिन्न अध्ययन तथा अन्य देशको अनुभवले देखाएको छ । अहिले प्रदेश राजधानीका लागि प्रचारमा ल्याइएका कुनै पनि सहर राजधानी बन्नका लागि आवश्यक सबै मापदण्ड पुगेको नभएकाले त्यसका लागि नयाँ सहर नै बनाउनुपर्ने आवश्यकता देखिएको हो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
केन्द्रीयता : प्रदेशको राजधानी सम्बन्धित प्रदेशको केन्द्रमा हुनुपर्छ, ता कि सबै क्षेत्रका मानिसलाई राजधानी आउन–जान पायक परोस् । त्यस्तै, राजधानी सहर अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पर्यो भने त्यहाँ पछि उपलब्ध हुने सुविधा देशका भन्दा विदेशी नागरिकले धेरै उपयोग गर्ने सम्भावना हुन सक्छ ।
जमिन र पानीको पर्याप्तता : राजधानीका लागि बनाइने सहरमा व्यवस्थित सहरीकरणका लागि पर्याप्त जमिन आवश्यक हुन्छ । साथै, पानीको समेत पर्याप्त व्यवस्था हुनुपर्छ । सहरीकरण बढ्दै जाँदा पानीको अभावसमेत बढ्दै जाने हुन्छ, त्यसैले शताब्दीयौँ पछिका लागि समेत आवश्यक पानीको उपलब्धतासमेत हेर्नुपर्ने हुन्छ ।
प्राकृतिक भिरालोपन : नेपालका धेरै सहर बर्खाको वेलामा डुबानमा पर्ने गर्छन् । प्रदेशको राजधानी बन्ने सहर त्यसरी डुबान नपर्ने खालको हुनुपर्छ । उदाहरणका लागि भारतमा चण्डीगढ सहरलाई राजधानी बनाउने सन्दर्भमा १ प्रतिशत प्राकृतिक भिरालोपन हुनुपर्ने मापदण्डका आधारमा तय गरिएको थियो ।
उचित हावापानी : प्रदेश राजधानी बन्ने सहर अत्यन्तै जाडो वा अत्यन्तै गर्मी हुने किसिमको हुनुहुँदैन । सबै मौसममा सकेसम्म सहज हावापानी भएको सहरमा राजधानी राख्नुपर्छ । त्यस्तै, प्राकृतिक सुन्दरताका हिसाबले पनि त्यो सहर उपयुक्त हुन आवश्यक छ ।
आर्थिक क्षमता : प्रदेश राजधानी आर्थिक विकासलाई तल्लो तहसम्म लैजाने माध्यमसमेत हो । प्रदेश राजधानीले सहरी विकासलाई केन्द्र र स्थानीय तहसम्म जोड्ने काम गर्छन् । त्यसो हुँदा आर्थिक विकासका लागि आवश्यक स्रोत, पूर्वाधार र सेवा तल्लो तहसम्म प्रदान गर्ने क्षमतासमेत ती क्षेत्रमा हुनु आवश्यक छ ।