निर्वाचनका समयमा बढी प्रयोगमा आउने वस्तुको आयात घटेको छ। निर्वाचनको अवसरमा सबैभन्दा बढी खपत हुने अल्कोहलिक पदार्थ, कागजजन्य वस्तु र ड्राई फुडको आयातमा कमी आएको छ। यसअघिका निर्वाचन वर्षमा यस्ता वस्तुको आयात वृद्धि भएको थियो। यतिबेला प्रतिनिधि र प्रदेशसभा निर्वाचनले देशभर रौनक ल्याएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
निर्वाचनका बेला बढी खपत हुने वस्तु स्वदेशमा नै पर्याप्त उत्पादन भएकाले आयात घटेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। दोस्रो संविधानसभाको निर्वाचन भएको वर्ष २०७०/७१ मा अल्कोहलिक पदार्थ, कागजजन्य वस्तु र ड्राई फुडको आयात ५६ प्रतिशतसम्म बढेको थियो। तर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आव २०७४/७५ मा भने थोरै मात्र ड्राइ फुडको आयात बढे पनि अधिकांशको घटेको छ।
अर्थ मन्त्रालयले दिएका जानकारीअनुसार दोस्रो संविधानसभाको निर्वाचनका बेला आयात भएको उपभोग्य वस्तुको तुलनामा अहिले कमी आएको हो। दोस्रो संविधानसभा निर्वाचनअगाडिको चार महिना भारत र तेस्रो मुलुकबाट हुने सबै उपभोग्य वस्तुमा आयात बढेको थियो। तर अहिले घटेको छ।
आव २०७३/७४ को पहिलो चार महिना (साउन-कात्तिक) सम्ममा अल्कोहलिक पदार्थ ८५ करोड ५४ लाख रुपैयाँबराबरको आयात भएको थियो। तर चालू आव २०७४/७५ को पहिलो चार महिनामा अल्कोहलिक पदार्थको आयातमा १८.४४ प्रतिशतले कमी आएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। चालू आवको पहिलो चार महिना अल्कोहलिक पदार्थ ६९ करोड ७३ लाख रुपैयाँबराबरको मात्रै आयात भएको छ। तर दोस्रो संविधानसभाको निर्वाचन वर्ष आव २०७०/७१ को पहिलो चार महिनामा आव २०६९/७० को चार महिनाको तुलनामा आयात बढेको थियो। आव २०७०/७१ को पहिलो चार महिनामा ९६ करोड ८९ लाख रुपैयाँबराबरको अल्कोहलिक पदार्थ आयात भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाउँछ।
तर आव २०६९/७० को चार महिनामा ९६ करोड ५९ रुपैयाँबराबरको अल्कोहलिक पदार्थ आयात भएको थियो। दोस्रो संविधानसभाको निर्वाचन अगाडि अल्कोहलिक पदार्थको आयातमा ०.३१ प्रतिशतले वृद्धि थियो। निर्वाचनमा बढी उपभोग हुने सामानका रूपमा कागजजन्य वस्तु पनि पर्छ। तर, नेताले सामाजिक सञ्जाललाई बढी प्रयोगमा ल्याउँदा कागजजन्य वस्तुको आयातका कमी आएको अर्थ मन्त्रालयको अनुमान छ। निर्वाचन वर्ष भए पनि चालू आवको चार महिनामा कागजजन्य वस्तुको आयात गत आव २०७३/७४ मा भन्दा ३३.०२ प्रतिशतले कमी भएको छ।
चालू आवको साउनदेखि कात्तिकसम्म ४६ करोड १८ लाख रुपैयाँबराबरको कागजजन्य वस्तुको आयात भएको देखिन्छ। तर चालू आव २०७३/०७४ को चार महिनामा कागजन्य वस्तुको ६८ करोड ९४ लाख रुपैयाँबराबरको आयात भएको थियो। आव २०६९/७० को चार महिनामा भएको कागजजन्य वस्तुको आयातभन्दा दोस्रो संविधानसभा निर्वाचन वर्ष २०७०/७१ मा ५६.८५ प्रतिशतले वृद्धि भएको थियो। आव २०७०/७१ मा ६१ करोड ४१ लाख रुपैयाँबराबरको कागजी वस्तु आयात भएको थियो भने २०६९/७० मा ३९ करोड १५ लाख रुपैयाँबराबरको आयात भएको थियो।