कर्णालीका ३ सय ७७ मतदान केन्द्रमध्ये कालिकोटबाहेक ३० केन्द्रमा हिउँ जमेको छ। मनाङ, मुस्ताङ र गोरखाका हिमाली क्षेत्र अधिकांशमा तापक्रम शून्य डिग्री झरेको छ। हिमाली मतदाताले आइतबार हिउँले पुरिएको बाटो छिचोल्दै मतदान गर्दैछन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
प्रदेश ६ को कर्णाली क्षेत्रका उच्च हिमाली भेगमा केही दिनअघि हिउँ पर्यो। हिमपात रोकिए पनि गाउँबस्ती र पाखा अझै सेताम्मे छन्। मतदान केन्द्र पुग्ने गोरेटोमा हिउँ पग्लिसकेको छैन। जुम्लाका ६० वटै केन्द्रमा तापक्रम शून्य डिग्रीमा झरिसकेको छ। ‘मतदान केन्द्र वरपर हिउँ जमेको छ, तर थप हिमपात नभए चुनाव प्रभावित नहुने गरी सम्पूर्ण तयारी मिलाइएको छ,’ प्रदेश ६ को निर्वाचन समन्वय गरिरहेको मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयकी सूचना अधिकारी शोभा अधिकारीले भनिन्, ‘चिसोले जनजीवन कष्टकर भए पनि मतदाता परिचयपत्र उत्साहजनक रूपमा वितरण भएको छ।’ निर्वाचनप्रति स्थानीयको धेरै चासो देखिएको उनले बताइन्।
सबैभन्दा धेरै माथिल्लो डोल्पाका १९ मतदान केन्द्रमा हिउँ जमेको छ। हुम्लाको लिमी उपत्यकाका ९ र माथिल्लो मुगुका डोल्फु तथा मुगुगाउँ केन्द्र पनि हिउँले सेताम्मे छ। निर्वाचन केन्द्रसम्म पुग्ने बाटो हिउँले पुरिएकाले धेरै स्थानमा हेलिकप्टरबाट निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुर्याइएको उनले बताइन्। ‘भौगोलिक विकटता र अत्यधिक चिसोले निर्वाचन व्यवस्थापनमा कठिनाइ भएको पक्कै हो,’ ती जिल्लाका निर्वाचन अधिकृतहरूलाई उद्धृत गर्दै उनले भनिन्, ‘तर पनि मतदाता उत्साहित नै छन्।’ हुम्लामा मंसिर ३ र ४ गते परेको हिमपातले ५२ मध्ये ९ वटा मतदानस्थलमा हिउँ जमेको छ। जनजीवन उत्तिकै कष्टकर बनेको छ। दिउँसो घाम लागेकाले पग्लिन थाले पनि चिसो उत्तिकै छ। हिमालपारिको गाउँ मानिने नाम्खा गाउँपालिकाका मतदान केन्द्रमा मतदाता संख्या अति कम छ। थोरैमा ८७ देखि धेरैमा ३ सय ८४ मतदाता रहेका ती १० वटा केन्द्रबाट १ हजार ८ सय ९६ जनाले मतदान गर्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए।
नाम्खाको लिमी उपत्यका सेताम्य छ। हिउँद लाग्नासाथ त्यहाँका अधिकांश सर्वसाधारण जाडो छल्न ६ महिना जिल्लाबाहिर जान्छन्। तर यस पटक धेरैलाई चुनावले रोकेको छ। हिउँले बाटो पुरिएपछि मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकप्टरबाट लगिएको थियो। मतदानपछि मतपेटिका पनि हेलिकप्टरबाटै ल्याउने तयारी गरिएको प्रजिअ बाँस्कोटाले बताए। सदरमुकाम सिमकोट फर्किन ५ हजार मिटर अग्लो यारी भन्ज्याङ लेक काट्नुपर्छ। ‘हिउँले पुरिएको बाटो छिचोल्दै आउन कठिन हुन्छ भनेर कर्मचारी र सुरक्षाकर्मीले हेलिकप्टरको माग गर्नुभएको छ,’ उनले भने, ‘मैले माथिल्लो निकायमा अनुरोध पठाएको छु।’ जुम्लाको तापक्रम बिहान अबेरसम्म माइनस ५ डिग्री सेल्सियस वरपर रहन्छ। दिउँसो घाम लागेर १० डिग्री पुगे पनि वरपरका लेकमा परेको हिउँले मध्याहनपछि नै सिरेठो चल्छ। ‘जुम्लाको आकाश सफा छ, त्यसैले चुनावसम्म हिमपात नहोला,’ प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले भने, ‘अत्यधिक चिसो भए पनि मतदाता स्थानीय नै भएकाले मतदान प्रभावित हुँदैन।’ जुम्लाका ९० वटा मतदानस्थलको तापक्रम शून्य डिग्रीमा झरिसकेको उनले बताए।
डोल्पाका उच्च हिमाली मतदान केन्द्रमा तापक्रम माइनस ७ डिग्रीमा झरे पनि निर्वाचनको राम्रो तयारी गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी हरिप्रसाद शर्माले बताए। ‘मतदानस्थल र पाखा हिउँले सेताम्मे छन्,’ उनले भने, ‘चिसोले जनजीवन कष्टकर भए पनि थप हिमपात नभए निर्वाचनमा बाधा पुग्ने छैन।’
सदरमुकाम दुनै बजारमा तापक्रम शून्य डिग्रीमा झरेको छ। मंसिर १ गते परेको हिमपातले माथिल्ला भेगका बाटोहरू पुरिएका थिए। मरिम, बगाला, मुगाला, धों पास, तिन्जे जाने लेकमा एक फिटसम्म हिउँ जमेको थियो। अहिले हिउँ पग्लिने क्रममा रहे पनि पानी जमेको छ। गाउँ र पाखा अझै सेताम्य छन्। माथिल्लो डोल्पाका २२ मध्ये से फोक्सन्डो, थार्कासाङ र कागकोटबाहेक १९ मतदान केन्द्रमा हिउँ जमेको डीएसपी शर्माले बताए। अत्यधिक चिसोले निर्वाचन गराउन गएका केही कर्मचारी र प्रहरी बिरामी परेका छन्। केहीलाई हाई अल्टिच्युटको समस्या देखिएको छ। हिँडेर ५ दिनभन्दा धेरै समय लाग्ने माथिल्लो डोल्पाका मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन अधिकृत, कर्मचारी र प्रहरी पठाइएको छ।