नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा बाहुन डन (रमेश पौडेल) समूहका व्यक्तिको समेत संलग्नता खुलेको छ। गौचनको हत्यामा संलग्नमध्ये एक बोका भनिने गंगा लिङदेन बाहुन समूहका व्यक्ति हुन्। चार वर्षअघि ललितपुरमा बाहुनकै योजनामा ललितपुरमा मीनकृष्ण महर्जनलाई गोली हानेको घटनामा उनी पक्राउ परेका थिए। पक्राउ परेर छुटेलगत्तै उनी गौचन हत्याको घटनामा संलग्न भएको प्रहरीले जनााएको छ। यो खबर नवराज मैनालीले आजको नयाँ पत्रिकामा लेखेका छन्।
ठेक्कापट्टाको कमिसन विवादमै बाहुन समूहले ४ माघ ०७० मा महर्जनलाई धापाखेलमा गोली प्रहार गरेको थियो। गुन्डागर्दी पृष्ठभूमि भएका महर्जनले ठेक्काको कमिसन बाँड्ने जिम्मा लिएर आफूले नदिएपछि रमेश बाहुन भनिने सुजन पौडेलले गोली हानेका थिए। पौडेल हाल जेलमा छन्। उनलाई भारतबाट प्रहरीले पक्राउ गरी ल्याएको थियो। सो घटनामा लिङदेनलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएकामा उनी छुटिसकेका छन्। घटनाको विषयमा जेलमा रहेका बाहुनसँग पनि प्रहरीले पटकपटक सोधपुछ गरेको थियो। तर, उनको संलग्नता नभेटिए पनि उनको गिरोहका सहयोगीहरू भने संलग्न रहेको प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको आठजना फरार अभियुक्तको सूचीमा चौथो नम्बरमा लिङदेनको नाम छ। घटनामा गुन्डागर्दीमा संलग्न ठूलो संगठित समूह रहेको डिआइजी गणेश केसी बताउँछन्।
फरार गुन्डा नाइके समीरमानसिंह बस्नेतको योजनामा गौचनको हत्या भएको अनुसन्धान प्रतिवेदन प्रहरीले सार्वजनिक गरिसकेको छ। हत्यामा संलग्न एक सुटरसहित पाँचजनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको थियो। गोली हान्नेमध्ये एक राजीव स्याङ्तान, सहयोग गर्ने पर्साका शिवजी महतो, भारतीय नागरिक मुकेशकुमार पाण्डे, पर्साका सन्तोष गुरुङ र काठमाडौं नागार्जुनका प्रकाश बुढाथोकीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
घटनाको योजनाकार समूहमा बस्नेतसहित मनोज पुन, लोप्साङ लामा, बोका भन्ने गंगा लिम्बू, श्यामबहादुर गम्बे, कालेदाइ भन्ने अम्बरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा रहेको प्रहरीले जनाएको छ। २३ असारमा गौचनको शान्तिनगरमा गोली हानी हत्या भएको थियो। राजीवसहित अम्बरबहादुर रानामगरले गौचनलाई गोली हानेका थिए। राना भने फरार छन्। भगौडा आर्मी रहेका उनी पहिलेदेखि नै ‘वान्टेड’ व्यक्ति हुन्। त्यस्तै, प्रकाश बुढाथोकी र रोशन बुढाथोकी मुख्य योजनाकार बस्नेतका आफन्त तथा मुख्य सहयोगी हुन्।
कुनै समय कुमार घैँटे समूहसँग मिलेर राजधानीमा गुन्डागर्दी गर्ने बस्नेत अहिले भारतमा बसेर असुली आतंक मच्चाइरहेका छन्। गौचनसँग पनि उनले पैसा मागेकोमा नदिएपछि हत्या गरेका थिए। अरू ठेकदारहरूलाई समेत तर्साउन उनले हत्या गरेको प्रहरी आशंका छ।
प्रहरीको हालसम्मको अनुसन्धान अनुसार गौचनको हत्या र गत वर्ष बुटवलमा युवा संघका नेता दुर्गा तिवारीको हत्यामा एउटै समूहको संलग्नता देखिएको छ। गत चैतमा कुमारीगालमा दावा लामामाथि आक्रमण पनि सोही समूहबाट भएको हो। दावालाई अम्बरबहादुर रानाले गोली हानेको प्रहरी स्रोत बताउँछ। तिवारीको हत्या रुपन्देहीका मनोज पुनको समूहले गरेको थियो। त्यसवेला समीर बस्नेत र लोप्साङ पनि उनकै समूहमा थिए। पछि समीर र लोप्साङ पुनसँग टाढा भएका थिए। उनीहरूले ठेकेदारहरूलाई लक्षित गरी धम्क्याएर पैसा उठाउँदै आएका थिए। तर, पटक–पटक प्रहरीको टोली उनीहरूलाई पक्राउ गर्न भारत गए पनि असफल भई फर्किएको छ। जस कारण व्यवसायीहरू आतंकित भएका छन्। निर्माण व्यवसायी महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै हत्याका नाइकेहरू पक्राउ गर्न माग गरेको छ। छानबिन समितिका संयोजक डिआइजी केसी भने घटनामा संलग्न सबैलाई पक्राउ गरिने बताउँछन्।