भूकम्पपछिको पुनर्निर्माण भइरहेको ढिलाइको उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन। मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारको तस्वीरले नै पुनर्निर्माणको अवस्था प्रष्ट देखाउँछ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
२०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सिंहदरवारको पश्चिमी मोहडा थप जिर्ण बन्दै गएको छ। भूकम्पले भवन चर्काएको ३० महिना बितिसक्दा पनि भत्काएर नयाँ बनाउने कि सबलीकरण गरेर जोगाउने भन्ने टुंगो लागेको छैन।
भवनको सबलीकरण गर्ने वा भत्काउने भन्ने टुंगो नलागे पनि सरकारले पटकपटक गरी करोडौं खर्च खरिसकेको छ। गत असारमा प्लास्टिकले ढाक्न प्राधिकरणले ६ लाख ५० हजार रुपैयाँ खर्च गरेको थियो। दुई महिनाअघि स्काफोल्डिङमा एक करोड २४ लाख खर्च गरेको छ। यसअघि सहरी विकास मन्त्रालयले भवनको अध्ययनमा लाखौं खर्च गरेको थियो। प्राधिकरणले अध्ययनकै लागि पुनः दुई करोड खर्च गर्ने तयारी गरेको छ।