हुप्रतीक्षित रक्सौल अमलेखगञ्ज पेट्रोल पाइपलाईन परियोजना निर्माण कार्य अर्को महिनादेखि सुरु हुने भएको छ। भारतबाट पेट्रोलियम पदार्थ ल्याउने यो परियोजना निर्माण कार्य अर्को महिनादेखि अघि वढाउन नेपाल आयल निगम र इनिडयन आयल कर्पोरेशनका अधिकारी सहमत भएका छन्। यो खबर दिली पौडेलले आजको नागरिकमा लेखेका छन्।
परियोजना निर्माण कार्य थाल्ने सहमति भएपछि नेपाली अधिकारी उत्साहित बनेका छन्। पाइपलाईन बिछ्याउने रुटको स्थलगत अध्ययनपछि भएको दुईपक्षीय छलफलमा इनिडयन आयल कर्पोरेशन (आइओसी) ले नोभेम्बरबाट पाइप ल्याउन सुरु गर्ने सहमति जनाएको छ।
आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले आइओसीले अक्टुबरमा टेण्डर गरेर पाइप बनाउन सुरु गरेको जानकारी दिए। आपुर्ती मन्त्रालयका सचिब कृष्णप्रसाद देवकोटा, आइओसी पाइपलाईन परियोजना निर्देशक अनिश अग्रवाल, निगमका कार्यकारी निर्देशक भट्टराईसहितको टोलीले शुक्रबार र शनिबार पाइप बिछ्याउने स्थानको स्थलगत निरिक्षण गरेको छ।
पाइप राख्न निगमले वीरगञ्जस्थित चिनी कारखानाको जग्गा भाडामा लिएको छ। पाइपलाईनको लम्बाइ ३७ किलोमिटर हुनेछ। चार अर्ब २० करोड रुपैयाँ लागतमा यो परियोजना निर्माण गर्न लागिएको हो। यसमा भारतले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ।