कुनै व्यक्ति जीवनमा कति पटक म्यादी प्रहरी बन्न सक्छ ? एक, दुई, तीन या धेरैमा चारपटक। मंगलसेनका ४३ वर्षीय टंकप्रसाद ढुंगानाको हकमा भने यो उत्तर पर्याप्त हुँदैन। किनकि, उनी ‘सदाबहार’ म्यादी प्रहरी हुन्। मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पनि उनी म्यादी प्रहरीमा छनोट भइसकेका छन्। उनी म्यादी प्रहरी बन्न लागेको यो सातौं पटक हो। यो खबर आजको अन्नपूर्ण पोष्टमा शिवराज खत्रीले मंगलसेनबाट लेखेका छन्।
२०४८ सालको आमनिर्वाचनदेखि म्यादी प्रहरी बन्न थालेका ढुंगानाले ०५६ को निर्वाचनबाहेक अरू छुट्टाएका छैनन्। ‘०५६ सालको निर्वाचनका लागि म्यादी प्रहरी छनोटका बेला टीकापुर गएकाले छुट्यो, नत्र सबै निर्वाचनमा म्यादी प्रहरी बनेको छु’, म्यादी प्रहरी हुँदाका नियुक्तिपत्र देखाउँदै उनले भने,‘०५६ को निर्वाचनमा म्यादी प्रहरी हुन नपाउँदा पछुतो लागेको छ।’
दोस्रो संविधानसभा निर्वाचनमा म्यादी प्रहरी छनोटका क्रममा विवाद हुँदा मंगलसेनमा प्रहरीले लाठीचार्ज गरेपछि दिपायलमा छनोट भई बाजुरामा खटिएको उनले सुनाए। बाँकी ६ वटा निर्वाचनमा भने अछामका विभिन्न ठाउँमा खटिएर निर्वाचन सम्पन्न गरेको अनुभव छ, उनीसँग।
म्यादीका लागि आवेदन दिन जाँदा पहिलोपटक देख्नेले उनको जीउडाल र हिँडाइ–डुलाइ हेर्दा भूपू सुरक्षाकर्मी हो कि भनेर सोध्ने गर्छन्। म्यादी भएर काम गरेका कागजपत्र हेरेपछि भने छनोटमा बस्नेहरू छक्क पर्ने गरेको उनले सुनाए। उनी भलिबलका क्षेत्रीय स्तरका खेलाडीसमेत हुन्।
यो उमेरमा पनि उनी म्यादीमा छनोटका लागि हुने हरेक प्रक्रियामा उत्कृष्ट हुने गर्दछन्। पढाइमा पनि अब्बल उनले २०४९ सालमा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए। प्रवीणता प्रमाणपत्र तह पहिलो वर्ष उत्तीर्ण गरेपछि घरायसी समस्याका कारण पढाइलाई अगाडि बढाउन नसकेको उनले सुनाए।
‘सँगैका साथीहरू धेरै माथि पुगे पनि म भने म्यादी प्रहरी भएर निर्वाचन सम्पन्न गर्नकै लागि जन्मिएको हुँ कि जस्तो लाग्छ’, उनले भने, ‘सरकारले म्यादी प्रहरी हुनका लागि ५४ वर्षको सीमा तोकेकाले बाँकी १० वर्षको अवधिमा पनि जति निर्वाचन हुन्छन् ती सबैमा म्यादी प्रहरी नै बनेर सेवा गर्ने सोच छ।’