(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
केही समययता नेपालमा भिटामिन-डी औषधि खानेहरूको संख्या बढेको छ। थकान, आलस्य, मासंपेसी दुख्ने, काममा रूचि नहुने लगायत समस्या देखिएका युवा उमेरका व्यक्तिलाई पनि डाक्टरले भिटामिन-डी सिफारिस गरेको पाइन्छ।
त्यसको मतलब के हिजोआज शरीरमा भिटामिन-डीको मात्रा घट्ने क्रम बढेको हो? आखिर किन भिटामिन-डी खानुपर्ने अवस्था आउँदैछ?
यो स्टोरीमा हामी यसैबारे चर्चा गर्दैछौं। यसका लागि हामीले कुरा गरेका छौं, पोखराको गण्डकी मेडिकल कलेजका सह-प्राध्यापक तथा मेडिप्लस हस्पिटलका कन्सल्ट्यान्ट फिजिसियन डा. सरोज पोखरेलसँग।
उनका अनुसार सधैं गर्दै आएको काममा पनि थकान महसुस हुन्छ, मासंपेसीहरू कटकट दुख्छन् र कुनै पनि काममा रूचि घट्दै जान्छ भने त्यसको एउटा कारण भिटामिन-डीको कमी हुनसक्छ।
उनले हामीलाई भिटामिन-डी के हो, त्यसले के काम गर्छ, त्यसको स्रोत के हो र यो औषधि खाने क्रम किन बढेको छ भन्नेबारे विस्तारमा बताए।
यो भनेको हाम्रो शारीरिक वृद्धि-विकासका लागि अत्यावश्यक भिटामिन हो। पानी र चिल्लो पदार्थमा घुल्ने यो भिटामिनले क्याल्सियम सोसेर हड्डी बलियो बनाउने काम गर्छ। साथै, मांसपेसी बलियो बनाउन र छालाका रोगहरूबाट जोगाउन पनि यसले भूमिका खेल्छ।
त्यस्तै, रक्तचाप सन्तुलनमा राख्नुका साथै मुटुको स्वास्थ्यदेखि मधुमेह र क्यान्सरजस्ता रोगको जोखिम कम गर्नमा पनि भिटामिन-डीले सहयोग पुर्याउँछ। यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ।
यी त शारीरिक लाभका कुरा भए, हाम्रो मानसिक स्वास्थ्यका लागि पनि भिटामिन-डी नभई हुँदैन। डिप्रेसन कम गराउन र हाम्रो मुड सन्तुलनमा राख्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने डा. पोखरेल बताउँछन्।
यसरी शरीरलाई बहुआयामिक लाभ दिने भिटामिन-डी परिपूर्ति गर्न हामीले धेरै मिहिनेत गर्नुपर्दैन। चुपचाप बसेर पनि शरीरलाई चाहिने भिटामिन-डी प्राप्त गर्न सक्छौं। त्यो कसरी भने, यसको प्रमुख स्रोत नै घामको किरण हो।
घाम ताप्दा हाम्रो छालाको बाहिरी तहले घामका किरण सोसेर भित्र लैजान्छ। त्यसबाट कलेजो र मिर्गौलाले भिटामिन-डी बनाउँछ र रगतमा प्रवाह गर्छ।
डा. पोखरेलका अनुसार शरीरलाई चाहिने ९० प्रतिशत भिटामिन-डी घामबाटै पाइन्छ। यसबाहेक दूध, दही, पनिर, साल्मोन माछा, अन्डाको पहेँलो भाग, कलेजो लगायत खानेकुरामा पनि भिटामिन-डी हुन्छ। तर यी खानाले भिटामिन-डीको परिपूर्ति एकदमै कम गर्छ।
त्यसैले हाम्रो शरीरमा भिटामिन-डीको मात्रा अत्यन्तै कम विन्दुमा झरेको छ भने खानाबाट सजिलै पूर्ति हुन सक्दैन। घाम तापेर त्यसको किरणलाई भिटामिन-डीमा परिणत गर्न पनि समय लाग्छ। त्यस्तो अवस्थामा शारीरिक तथा मानसिक समस्या कम गर्न भिटामिन-डी औषधि नै खानुपर्ने डा. पोखरेल बताउँछन्।
यहाँ प्रश्न उठ्छ, शरीरमा भिटामिन-डी कम भएको कसरी थाहा पाउने त?
हामीले यही प्रश्न डा. पोखरेललाई सोधेका थियौं। उनले भने, 'भिटामिन-डी कम हुँदा मांसपेसी र जोर्नीहरू दुख्छन्। बढी थकान महसुस हुन्छ। काम गर्न जाँगर चल्दैन। सधैं अल्छी लागिरहने, मुड एकदमै लो हुने, दिक्क लाग्ने, जे कुरामा पनि झर्को लाग्ने लगायतका लक्षण देखिन्छन्।'
यति मात्र होइन, भिटामिन-डीको कमीले रोग प्रतिरोधात्मक क्षमता घट्ने हुँदा सामान्य बिरामी हुँदा पनि निको हुन समय लाग्छ। उच्च रक्तचापका बिरामीलाई नियमित औषधि खाँदा पनि रक्तचाप नियन्त्रणमा आउँदैन। बच्चाहरूका हकमा भिटामिन-डीको कमीले खुट्टा बांगो हुने समस्या देखिन्छ।
यस्ता लक्षणका अतिरिक्त भिटामिन-डीको मात्रा सन्तुलित छ कि छैन भनेर पत्ता लगाउने मुख्य तरिका रगत परीक्षण नै हो।
रगत परीक्षण गर्दा भिटामिन-डीको मात्रा ३० देखि १०० न्यानोग्राम प्रतिमिलिलिटर छ भने अवस्था ठिक छ भन्ने बुझिन्छ। त्योभन्दा कम, अर्थात् १० देखि ३० न्यानोग्राम प्रतिमिलिलिटर छ भने शरीरलाई भिटामिन-डी पुगेको छैन भन्ने थाहा हुन्छ। अझ १० न्यानोग्राम प्रतिमिलिलिटरभन्दा तल झरेको छ भने एकदमै जोखिमपूर्ण अवस्था मानिन्छ।
भिटामिन-डी धेरै हुनु पनि राम्रो होइन। यदि १०० न्यानोग्राम प्रतिमिलिलिटरभन्दा बढी छ भने त्यो आवश्यकताभन्दा धेरै हो। यसले शरीरलाई हानि गर्छ।
नेपालीहरूमा भिटामिन-डी आवश्यकताभन्दा बढी भएको अपवादमा मात्र भेटिने उनी बताउँछन्।
'मैले दैनिक हेर्ने बिरामीमध्ये २० देखि ३० प्रतिशतमा भिटामिन-डी अत्यन्तै कम पाएको छु,' उनले भने, 'त्यस्ता बिरामीलाई औषधिसँगै घाममा बस्न र भिटामिन-डीयुक्त खानेकुरा खान सल्लाह दिन्छु।'
भिटामिन-डीको मात्रा कम हुनुको कारण के त?
डा. पोखरेल तीन कारण औंल्याउँछन् —
पहिलो, भौगोलिक कारण।
हिमाली र उच्च पहाडी भूभागमा घाम कम लाग्छ। ती क्षेत्रका मानिसमा स्वाभाविक रूपले भिटामिन-डी कम हुन्छ।
दोस्रो कारण हो, जीवनशैली।
हिजोआज अधिकांश मानिस बिहान ९ देखि बेलुकी ५ बजेसम्म कार्यालयभित्र बसेर काम गर्छन्। उनीहरू घामको सम्पर्कमा आउन पाउँदैनन्। यसले शरीरमा भिटामिन-डीको मात्रा कम हुन्छ।
फुर्सदिला मान्छे पनि बाहिर कमै हिँड्छन्। धेरै समय घरभित्रै बस्छन्। पहिले साना केटाकेटी घरबाहिर खेल्न निस्कन्थे। अचेल उनीहरू पनि मोबाइल चलाएर घरभित्रै भुल्छन्। यसले सानै उमेरमा भिटामिन-डीको कमी हुन्छ।
र तेस्रो कारण हो, कस्मेटिक पदार्थको अत्यधिक प्रयोग।
अचेल जो बाहिर निस्कन्छन्, उनीहरू पनि घामले छाला डढ्ला भनेर विभिन्न किसिमका कस्मेटिक पदार्थ दलेर हिँड्छन्। यसो गर्दा छालाले घामको किरण सोस्न पाउँदैन र हाम्रो शरीरले भिटामिन-डी कम उत्पादन गर्छ।
'सनस्क्रिन लगाउँदा एसपिएफ १५ भन्दा कमको लगाउनुपर्छ। त्योभन्दा बढीको लगायो भने जति घाममा बसे पनि हाम्रो छालाले घामको किरण सोस्दैन,' डा. पोखरेलले भने।
यसबाहेक हामीले लगाएको कपडाले पनि घामको किरण शरीरमा प्रवेश गर्नबाट रोक्छ। पोखरेलका अनुसार सूर्यको प्रकाशबाट भिटामिन-डी पाउन शरीरको १० देखि ३० प्रतिशत भाग घाममा देखिनुपर्छ। अनुहार र हातखुट्टाका धेरै भागमा घाम पर्नुपर्छ। तर बाहिर हिँड्दा हाम्रो शरीर ढाकिएको हुन्छ। जाडो याममा त कपडाको पत्र झनै बढी हुन्छ। यसले शरीरलाई चाहिने भिटामिन-डी उत्पादन गर्न घामको किरण पुग्दैन।
भिटामिन-डी कम हुनुमा केही रोग पनि जिम्मेवार छन्।
हाम्रो छालाले घामको किरण सोसेपछि त्यसलाई कलेजो र मिर्गौलाले भिटामिन-डीमा परिणत गर्छ। छालासम्बन्धी रोग, मिर्गौला वा कलेजोसम्बन्धी रोग लागेको छ भने पनि भिटामिन-डी कम हुनसक्छ।
छालाको रङले पनि घामको किरण सोस्ने मात्रा फरक पर्छ। डा. पोखरेलका अनुसार सेतो छाला भएको मान्छे १० देखि ३० मिनेट मात्र घाममा बस्दा पनि पर्याप्त किरण सोसिन्छ भने अलि कालो छाला हुनेहरू आधा घन्टादेखि २ घन्टासम्म बस्नुपर्छ।
उमेर बढ्दै जाँदा छालाको बनावट परिवर्तन हुने भएकाले पनि पर्याप्त किरण सोस्न घाममा बढी समय बिताउनुपर्छ।
त्यस्तै, मोटो मान्छेलाई भिटामिन-डीको कमी धेरै हुन सक्छ। भिटामिन-डी चिल्लो पदार्थमा सजिलै घुल्छ। त्यसैले मोटो मान्छेको शरीरमा हुने चिल्लो पदार्थले नै भिटामिन-डी सोसेर राख्छ।
'बढ्दो उमेर र मोटोपनका कारण शरीरमा भिटामिन-डी पर्याप्त भए पनि उपयोगमा नआएको हुनसक्छ,' डा. पोखरेलले भने।
यस्ता क्लिनिकल अवस्थाबाहेक भिटामिन-डी खपत बढ्नुको अर्को कारण पनि छ। पछिल्लो समय भिटामिन-डी परीक्षण गर्ने प्रविधि नेपालमा सहजै उपलब्ध छ। परीक्षण गर्ने क्रम बढेपछि स्वाभाविक रूपले औषधि खानेहरूको संख्या पनि बढेको पोखरेल बताउँछन्।
उनका अनुसार नेपालमा भिटामिन-डी परीक्षण हुन थालेको १० देखि १५ वर्ष मात्र भयो। त्योभन्दा अगाडि परीक्षण सहज थिएन। अत्यन्तै महँगो पर्थ्यो। रगतको नमूना भारत पठाउनुपर्थ्यो। नेपालमा सहजै परीक्षण हुन थालेपछि धेरै किसिमका रोगमा भिटामिन-डी परीक्षण गर्न थालियो। यसले भिटामिन-डी कम भएका बिरामी पहिचान भएको र औषधि खानेहरू बढेको उनको भनाइ छ।
अर्कातिर, अमेरिका वा युरोपेली मुलुकतिर भिटामिन-डी लगायत अरू सप्लिमेन्ट औषधि खाने चलन धेरै छ। हिजोआज नेपालीहरूका धेरै आफन्त अमेरिका वा युरोप पुगेका छन्। योसँगै सप्लिमेन्ट खाने चलन भित्रिएको छ। परिवारका कोही अमेरिका वा युरोपबाट आउँदा अनेकथरि सप्लिमेन्ट औषधि उपहार ल्याइदिन्छन्।
यसले रगत परीक्षण नै नगरी भिटामिन-डी खानेहरूको संख्या पनि बढेको उनी बताउँछन्। तर यसो गर्नु घातक हुनसक्छ।
डा. पोखरेलका अनुसार शरीरलाई भिटामिन-डी चाहिएको छ भने डाक्टरसँग परामर्श लिनुपर्छ र उनीहरूले भनेको मात्रामा खानुपर्छ। भिटामिन-डी औषधि कुनै दैनिक खाने हुन्छ भने कुनै साताको एकचोटि र कुनै महिनाको एकचोटि खाने हुन्छ। शरीरमा भिटामिन-डी कति कम भएको हो, त्यो हेरेर डाक्टरले औषधिको मात्रा तोक्छन्। मनलाग्दी खाँदा चाहिनेभन्दा बढी हुनसक्छ।
साधारणतया ८ देखि १२ साता औषधि खाने, घाम ताप्ने र भिटामिन-डीयुक्त खानेकुरा नियमित खाए भिटामिन-डी सामान्य अवस्थामा फर्कने पोखरेल बताउँछन्।
'मान्छेको तौल, उचाइ, उनीहरूको बसोबास, जीवनशैली, पहिरन लगायतका आधारमा पनि औषधिको मात्रा फरक पर्छ। महिला र पुरूषलाई फरक-फरक मात्राको औषधि चाहिन्छ,' उनले भने, 'त्यसैले गुगल गरेर आफै डाक्टर बन्ने काम गर्नु हुँदैन।'
कुन समयको घाम कसरी ताप्ने भन्नेले पनि भिटामिन-डी कम वा बेसी हुनसक्छ।
भिटामिन-डी परिपूर्तिका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको घाम ताप्न उत्तम मानिन्छ। हाम्रो शरीरको तीन प्रतिशत भागले त्यति बेलाको घाम देख्न पायो भने भिटामिन-डी परिपूर्ति हुने पोखरेलको भनाइ छ।
'यसरी नियमित घाम ताप्नु पनि पर्दैन। साताको तीन दिन तापे पुग्छ,' उनले भने, 'छालाको रोग भएकाहरूलाई भने त्यति बेलाको घामले एलर्जी हुनसक्छ। त्यस्ता बिरामीलाई हामी बिहानको घाम ताप्न भन्छौं।'
अन्य कुनै रोगका लागि लामो समय औषधि खानुपरेका बिरामीलाई भिटामिन-डी सँगै दिँदा रोग छिटो निको भएको विभिन्न अनुसन्धानले देखाएको छ। त्यसैले भिटामिन-डी परीक्षणलाई सँगसँगै लैजानुपर्छ भन्ने डाक्टरहरूको धारणा रहेको पोखरेल बताउँछन्।
'धेरै नेपालीलाई अझै पनि भिटामिन-डीबारे राम्रो जानकारी छैन। मेरो विचारमा बदलिँदो जीवनशैलीले हामी धेरैमा भिटामिन-डी कम हुन सक्छ। परीक्षण बढाउने हो भने औषधि खानुपर्नेहरू अझै बढ्न सक्छन्,' उनले भने।
***