(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
भीमलाल पुन सात वर्षअघि वैदेशिक रोजगारीबाट फर्किँदा तत्काल के गर्ने भन्ने निधो थिएन।
परिवारलाई मीठो-मसिनो खुवाउन र एकसरो लुगाकपडाका लागि २०६९ सालमा मलेसिया हानिएका उनले निर्माण क्षेत्रमा रातबिरात काम गर्नुपर्यो। कठिन शारीरिक श्रमका बाबजुद महिनाको २० हजार रूपैयाँ पनि हात पर्न सकेन।
भीमलाल रोल्पाको रून्टीगढी गाउँपालिका-७, लेकधाबाङका हुन्। तिनताक दक्षिणी रोल्पाका गाउँगाउँमा बाटा पुगिसकेका थिए। तत्कालीन नेकपा (माओवादी) ले सुरू गरेको सशस्त्र संघर्ष साम्य भएर विकासका नयाँ बान्की देखा पर्न थालेका थिए।
होलेरी आफमा सशस्त्र द्वन्द्वको परिचायक थियो। होलेरीकै डाँडामा रहेको प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन माओवादीले सशस्त्र युद्धको शंखघोष गरेको थियो। अहिले त्यहाँ स्मारक बनाइएको छ।
यो क्षेत्रसँग धार्मिक परिचय पनि गाँसिएको छ। २६ किलोमिटर पर प्यूठानको स्वर्गद्वारी, २.५ किलोमिटर दक्षिण-पश्चिममा शिवपार्वती गुफा, १६ किलोमिटर उत्तर-पश्चिममा स्वर्गद्वारी महाप्रभुको जन्मस्थान रून्टी, होलेरीको शिरमा स्वर्गद्वारी महाप्रभुकै तपोभूमि गढीलेक लगायतले होलेरी क्रमशः चिनाउँदै त थिए। तर होलेरीको आर्थिक अवस्थामा यसले कुनै योगदान दिन सकेको थिएन।
भीमलाल वैदेशिक रोजगारीबाट फर्किँदा उनका छरछिमेकी आफ्नै खेतबारीमा नंग्रा खियाएर त्यसकै उत्पादनमा जसोतसो जीवन चलाउन थालेका थिए।
उनीसँग पनि तत्काल आयआर्जनको बाटो थिएन। न त उनको हातमा कुनै सीप थियो।
'बाबुबाजेले गरेको पेसा त्यही थियो, आफूले पनि जानेको त्यही थियो। कुनै बन्दव्यापार गरौं भने पनि वैदेशिक रोजगारीबाट रित्तो हात फर्किएको थिएँ। फर्किएर म माटैमा पुगेँ,' उनले सुनाए।
भीमलालको दुई-तीन हल गोरू लाग्ने पाखो बारी थियो। लेकधाबाङको पुछारमा रहेको बारीमा बर्खे बाली राम्रै हुन्थ्यो। दक्षिण फर्किए पनि ठाउँ सेपिलो थियो। हिउँदमा पनि माटोमा चिसोपना रहने हुँदा हिउँदे बाली पनि हुन्थ्यो।
'त्यही बारीमा सिजनअनुसारका तरकारी लगाएँ। सुरूमा १ हजार ५०० गोलभेँडा र ५०० बोट काउलीबाट तरकारी खेती सुरू गरेको थिएँ,' उनले व्यावसायिक तरकारी खेती सुरू गर्दाको क्षण सम्झिए।
त्यति बेला बजार राम्रो बनिसकेको थिएन। गाउँतिरकै व्यापारीहरू कृषकहरूबाट सस्तो दाममा तरकारी उठाउँथे। घोराही, लमही र त्यसभन्दा परसमेत पुर्याएर आफ्नो मूल्यमा बेच्थे। मनग्गे नाफा राख्थे। तैपनि त्यही साल उनले सबै लगानी कटाएर डेढ लाख जति मुनाफा आर्जन गरे।
'मलेसियामा छँदा महिनाको १५-२० हजार बचाउन पनि मुस्किल थियो। गाउँमा तरकारी फलाएर डेढ लाखजति नाफा निकाल्न सकिने देखेपछि यसैमा सम्भावना देखेँ,' उनले भने।
उनको आँटमा होलेरीको कृषि हाटले इँटा थप्यो।
बजार नहुँदा रून्टीगढीका किसानले आफ्ना उत्पादन स्थानीय बिचौलियाहरूलाई सुम्पन बाध्य थिए। सिन्डिकेटको शैलीमा तरकारी तथा कृषि उपज उठाइरहेका ती बिचौलियाले बाह्य व्यापारीहरूलाई गाउँ पस्न दिएका थिएनन्। उनीहरूले तोकेको मूल्यमै कृषकहरूले आफ्ना खेतबारी तथा रछ्यानमा उत्पादित कृषि उपज सुम्पन बाध्य थिए।
२०७९ सालमा होलेरीको पाखामा कृषि हाट बजार खुलेपछि बिचौलिया पाखा लागेका मात्र छैनन्, भीमलालको आम्दानी पाँच गुणा बढेको छ।
'पहिले गाउँका व्यापारीहरूले धेरै मूल्य दिँदैनथे। आफ्नो भाउ लगाउँथे। होलेरीमा हाट खुलेपछि टाढाटाढाबाट व्यापारी आउन थालेका छन्। हामीले हाम्रो भाउमा उनीहरूलाई तरकारी, फलफूल तथा कृषि उपज बेच्न पाएका छौं,' उनले भने।
अहिले भीमलालले २५ रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन्। सबै लगानी कटाएर वार्षिक २५ लाख रूपैयाँसम्म नाफा आर्जन हुने उनी बताउँछन्।
होलेरीमा २०७९ असारमा स्थापना भएको यो कृषि हाटबजारले दक्षिणी रोल्पाको कृषि व्यापारमा आमूल परिवर्तन ल्याएको छ। चल्तीका बेला दैनिक ४० लाख रूपैयाँसम्मको कारोबार हुने यो बजारले भीमलाल लगायत १२ सयभन्दा बढी किसानलाई बिचौलियाको चंगुलबाट मुक्त गराउँदै उनीहरूको आम्दानी पाँच गुणासम्म बढाएको छ।
स्थानीय सरकार, विकास साझेदार संस्था र किसानको सहकार्यमा नेपालको मध्यपहाडमा दिगो कृषि व्यापार स्थापना भएको यो सफलताको कथा हो।
प्राक्टिकल एक्सन लगायत विभिन्न संघ-संस्थाले जलवायु अनुकूलन हुने गरी तरकारी खेती गर्न भीमलाललाई सिकाएका छन्। माटामा प्रांगारिक तत्त्व बढाउन जैविक मल उपयोगी हुने बताएका छन्। परम्परागत तरिकाले नै तरकारी बाली लगाए पनि उनी माटामा रासायनिक मलखाद कम प्रयोग गर्छन्। तरकारीमा विषादीको प्रयोग पनि न्यून मात्रामा गर्छन्।
लेकधाबाङको फेदिमै छ उनको घर पनि। नजिकै सामुदायिक जंगलसमेत भएकाले त्यहाँका पातपतिंगर गोबरमलसँग मिलाउँछन्। तरकारीका खेर जाने भागहरू त्यसैमा मिसाएर कम्पोष्ट मल तयार पार्छन्। तरकारी बालीमा त्यसैको प्रयोग गर्दा आयस्ता बढेको उनको अनुभव छ।
भीमलालजस्तै रून्टीगढी-७, बलबाङका गिरिराज थापा पनि होलेरीले माओवादी किल्लाबाट तरकारी बजारको पहिचान बनाएको घटनाका साक्षी हुन्।
आफ्नो २८ वर्षे कृषिकर्ममा उनले यहाँ भएको परिवर्तनसँगै हातेमालो गरेका छन्। पचासको दशकमै होलेरीमा कृषि प्राविधिक केन्द्र थियो। त्यसले कृषकहरूका लागि बीउबिजन उपलब्ध गराउनुका साथै तालिमहरू पनि दिन्थ्यो। त्यसैको तालिमबाट थापाको व्यावसायिक तरकारी खेतीतर्फ झुकाव बढ्यो। तर बजार नहुँदा उनले कृषि उपज बेचबिखन गर्न पाएका थिएनन्। उनको खेती निर्वाहमुखीमै टाक्सिएको थियो।
होलेरीमा हाट खुलेदेखि उनी अहिले रून्टीगढीकै उन्नत किसान भएका छन्, भन्छन्, 'अहिले त म तरकारी खेतीबाट वार्षिक ७-८ लाख रूपैयाँसम्म बचाउँछु।'
यसरी खुल्यो होलेरीमा हाट
पुरानो होलेरी बजारको ठिक माथि 'जनयुद्ध' स्मारक छ, जसले तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको दसवर्षे सशस्त्र संघर्षको सम्झनालाई ताजा तुल्याउँछ।
त्यसैको ठिकमुनि होलेरीको नयाँ परिचय स्थापित हुँदैछ।
होलेरी बजार पश्चिमतर्फको यो भाग केही समय अघिसम्म खर्कजस्तो मात्रै थियो। वसन्त याममा चरन क्षेत्र र हेमन्त र शिशिर याममा खर काट्ने थलोको परिचय पाएको यो चउर अहिले कृषि हाट बजारका रूपमा गुलजार छ। कृषकहरूको आयआर्जनको दर्बिलो खम्बा बनेको छ।
दक्षिणतर्फ फर्किएको पहारिलो होलेरीको यो भूखण्ड हाट बजारले परिचित होला भनेर सपनामा पनि नचिताएको बताउँछन्, रून्टीगढी-६ का बासिन्दा होमबहादुर थापा।
३४ वर्षदेखि दक्षिणी रोल्पालाई केन्द्र बनाएर तरकारी व्यवसायमा संघर्ष गरिआएका थापासँग होलेरीसँगको सुखदुःखका अनेक साइनो छन्।
दाङबाट दुई घन्टाको सवारी दुरीमा छ होलेरी। तर ५० र ६० को दशकमा गाडीको सुविधा कहाँ? सडक मार्ग नजोडिँदा सखी, झेनाम, डुब्रिङ, दुविडाँडा, मसिना, जौलीपोखरी, जेदबाङ लगायत गाउँठाउँमा फलेका कृषि उपजहरू बेचबिखनमा समस्या थियो।
'आजभन्दा ३४ वर्षअघि एक त यहाँ उत्पादन सिजनमा मात्रै हुन्थ्यो। अर्को, उत्पादन भए अनाज, तरकारीहरू बेचबिखनमा ठूलै समस्या झेल्नुपर्थ्यो,' थापाले ती दिनका अनुभव सुनाउँदै भने, 'कृषकका बारीमा फलेका तरकारी हामी थोकमा लिन्थ्यौं र घोराहीसम्म बोकेरै पुर्याउँथ्यौं।'
सडक मार्ग नबन्दा एक दिनको बाटो हिँडेर घोराहीसम्म तरकारी तथा कृषि उपज पुर्याएको उनी सम्झन्छन्। त्यति बेला उदयाचल (बिहान ५ बजे) तरकारी बोकेर घोराही झरेका मान्छे अस्ताचल (साँझ ६ बजे) मात्र घोराही पुग्थे।
'ढाकर बोकाएर घोराही झर्दा आधाउधी सामान बिग्रिसकेको हुन्थ्यो। बजार पुर्याउनै नपाई बोकाएर लगेका कृषि उपज सड्ने, गल्ने हुँदा मालको मोल नै नपाउने अवस्था पो थियो,' थापाको मानसपटलमा ती दिन अझै ताजै छन्।
अहिले यो दुर्दिनको अन्त्य भएको छ। आँगनमै खुलेको हाटले कृषि उपज खोज्न कृषकको रछ्यान-रछ्यान चहानुपर्ने बाध्यता पनि छैन।
'अहिले त कृषकहरू हाटमा आफूले उत्पादन गरेका तरकारी तथा कृषि उपज बेचबिखन गर्न आउनुहुन्छ। हामीले पनि कृषकबाट छानीछानी सामग्री किन्न पाएका छौं। उहाँहरूले पनि प्रतिस्पर्धात्मक बजार भाउअनुसार मूल्य पाउनुभएको छ। नगदमै कारोबार हुने हुँदा दोहोरो लाभमा पो छौं हामी,' थापाले भने।
होलेरीमा हाटको अवधारणा २०५६ सालबाटै सुरू भए पनि त्यसले निरन्तरता पाउन सकेन।
दक्षिणाभिमुख, सूर्योदयदेखि सूर्यास्तसम्म घाम लागिरहने र केही सेपिलो ठाउँमा आद्रता रहिरहने हुँदा होलेरी क्षेत्रमा मनग्गे तरकारी उत्पादन हुन्थ्यो। सिमी र आलुका लागि त यो ठाउँ प्रख्यातै थियो।
त्यो थाहा पाएका व्यवसायी करेसाबारीमै तरकारी लिन पुगेपछि त्यति बेला हाट बजारले गति लिन नसकेको थापा बताउँछन्।
'बाटोघाटो बनेपछि यहाँ राम्रो तरकारी उब्जनी हुन्छ भनेर बिचौलिया व्यवसायीहरूले थाहा पाइहाले। त्यसपछि उनीहरू तरकारी लिन कृषकको आँगनमै पुग्न थाले। यसरी यहाँको तरकारी दुई-चार जना बिचौलिया व्यवसायीको नियन्त्रणमा जस्तो भयो। हाट बजारले गति लिएन,' उनले भने।
२०७९ असार ३० गते होलेरी पाखामा कृषि हाट बजारको स्थापना भएपछि गाउँको मुहार नै परिवर्तन भएको उनको भनाइ छ।
कृषि उपजलाई व्यावसायिकताको रूप दिन रून्टीगढी गाउँपालिका, प्राक्टिकल एक्सनको सहयोगमा सञ्चालित समुन्नति परियोजनाले हातेमालो गरे।
गाउँपालिका र प्राक्टिकल एक्सनको समुन्नति परियोजनाले १०-१० लाख रूपैयाँ लगानी गरेका छन्। रूडास गोल दोस्रो परियोजनाले आठ लाख र रूडास परक्यापले तीन लाख लगानी गरेको हाट बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश महराले जानकारी दिए।
उनका अनुसार होलेरी हाटबजारबाट १ हजार २ सय कृषक प्रत्यक्ष लाभान्वित छन्। तरकारी उत्पादन हुने याममा त यो संख्या बढेर १ हजार ५ सयसम्म पुग्छ। शीतयाममा होलेरीमा साताको एक दिन मात्रै हाट लाग्छ। हिउँदमा तरकारी उत्पादन नै कम हुने भएकाले साताको एक दिन मात्रै हाट लाग्ने गरेको महरा बताउँछन्।
मंसिर पहिलो साता होलेरी हाट पुग्दा बिहानैदेखि कृषक तथा व्यापारीहरूको चहलपहल थियो। किसानहरू डोका-डोकामा आफ्ना उत्पादन बोकेर बिहान ७ नबज्दै हाट पुगिसकेका थिए। हाट चल्ने दिन भएकाले स्थानीय कृषकहरूको अनुहार चम्किलो थियो। कतिपय किसान आफ्ना उत्पादन राखिएका क्रेट बोकेर हाट बजार उक्लिइरहेका थिए। टाढाटाढाका किसानले गाडीमै राखेर उत्पादन हाटसम्म ल्याउँदा रहेछन्।
त्यहाँ १७ वटा स्टल थिए। सबैमा डिजिटल ढक-तराजु राखिएको थियो। प्रत्येक स्टलमा दुई-दुई जनाका दरले जोख्ने मानिस छन्। बहीखाता बोकेका तिनले कृषकका उत्पादन नापतौल गरेर हिसाब राखिदिन्छन्। पछि व्यापारीहरूलाई थोकमा सामग्री बेचेपछि कृषकहरूलाई भुक्तानी दिन्छन्।
यसरी कृषकका उत्पादन नापतौल गरेर व्यापारीहरूलाई दिएबापत् उनीहरूले प्रतिकिलो एक रूपैयाँका दरले ज्याला पाउँछन्। त्यो ज्याला व्यापारीहरूले नै भुक्तानी गर्ने बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश महराले बताए।
हाट बजारको दक्षिणतर्फ व्यवस्थापन समितिको कार्यालय छ। त्यही भित्तामा डिजिटल मूल्यपाटी राखिएको छ। कृषकहरूले त्यही हेरेर हाटबजार चलेको दिन कृषि उपजको मूल्य थाहा पाउँछन्। सहर बजारमै बिक्री हुने मूल्यसूची डिजिटल बोर्डमा देख्दा उनीहरू पुलकित देखिन्छन्।
सल्यानको कपुरकोट गाउँपालिकादेखि दाङको घोराहीसम्म हाट बजार लाग्ने गर्छ। तिनै हाटबजारको मूल्यसूची हेरेर होलेरी हाटका कृषि उपजको दरभाउ तय गरिने महराले बताए।
'कपुरकोटमा हिजो कति चलेको थियो, घोराहीमा कति थियो। त्यसमा दुई-चार रूपैयाँ तलमाथि गरेर यहाँ मूल्यसूची तय गर्छौं,' उनले भने।
हाट बजारमा तरकारी बेच्न ल्याएबापत् कृषकहरूले कुनै पनि मूल्य भुक्तान गर्नुपर्दैन। कृषि उपज लिन पुगेका व्यापारीहरूले चाहिँ हाटबजारभित्र साना-ठूला गाडी छिराएबापत् चार सयदेखि आठ सय रूपैयाँसम्म प्रवेश शुल्क तिर्नुपर्छ।
यहाँ हाट बजार स्थापना गर्न स्थानीयले ठूलै संघर्ष गर्नुपर्यो। ५० को दशकमै त्यहाँ हाट सञ्चालित थियो। तर स्थानीय व्यापारीले टिक्नै दिएनन्। कृषकहरूको रछ्यान-रछ्यान पुगेर तरकारी संकलन गरिदिने हुनाले हाट रित्तै हुन थाल्यो। स्थानीय बिचौलियाहरूले बाहिरका व्यापारीलाई आउनै दिएका थिएनन्।
'बाहिरका व्यापारीहरू आउन नसकेपछि हाट बजार सञ्चालन हुनै सकेन। एक दुई वर्ष चलेर बन्द हुन पुग्यो,' महराले सुनाए।
त्यसो त २०७२ सालमा पनि होलेरीमा हाट चलाउन नखोजिएको होइन। त्यति बेला पनि बिचौलिया बाधक भएका थिए। उनीहरूले कृषकको घरघरै पुगेर उत्पादित वस्तु तथा कृषि उपज खरिद गरेर किसानहरूको पोल्टामा फाइदा पारिदिएको बताउँदै हाट सञ्चालन नगर्न दबाब दिए।
२०७९ सालमा पनि उनीहरूको रवैया त्यस्तै थियो।
प्राक्टिकल एक्सनको सहयोगमा सञ्चालित समुन्नति परियोजनाले हाट बजारको दिगोपनाका लागि सुरूमा स्थानीय तह (रून्टीगढी गाउँपालिका), पालिकाभित्र कृषि क्षेत्रमा काम गर्ने संघ-संस्था, पालिकाका उद्योग वाणिज्य संघ प्रतिनिधि र किसानहरूसमेत राखेर छलफल गरी पालिकास्तरीय समिति गठन गरेको थियो।
अगुवा किसानहरूकै नेतृत्व रहने गरी हाटबजार व्यवस्थापन समिति गठन गरेपछि बजार निरन्तर चल्न सघाउ पुग्यो। यसलाई गति दिन रून्टीगढी गाउँपालिकाले कार्यविधिसमेत बनाएको छ।
'त्यति गर्दा पनि बिचौलियाहरू बारी बारी पस्न छाडेनन्। कृषकहरूको आँगनमै पुगेर तरकारी उठाउन नछाडेपछि हामीले स्थानीय प्रशासनको सहयोगसमेत लियौं,' बजार व्यवस्थापन समितिका अध्यक्ष महराले भने।
त्यसरी हाट बजार छलेर कृषकका बारी पस्ने बिचौलियाहरूलाई बजार व्यवस्थापन समितिले ३० हजार रूपैयाँसम्म जरिवाना तिराएको छ।
'एक जना बिचौलियाले कृषकबाट आफै तरकारी किनेर लगिरहेको अवस्थामा हामीले प्रहरीलाई जानकारी दियौं र गाडी नै समातेर ३० हजार रूपैयाँ जरिवाना तिराएका पनि छौं,' महराले भने, 'त्यसपछि बजार सञ्चालनमा हुनसक्ने अवरोध मत्थर भएको छ।'
उनका अनुसार अढाइ वर्ष अवधिमा कारोबार फस्टाउँदै गएको छ। हाट बजार सञ्चालन भएको पहिलो वर्ष अर्थात् २०७९-८० मा १३ करोड रूपैयाँको कारोबार भएको थियो। दोस्रो वर्ष ७ करोड बढेर २० करोड रूपैयाँको कारोबार भएको महराको भनाइ छ।
तरकारी मनग्गे उत्पादन हुने समय विशेषतः बर्खामासमा साताको दुई दिन हाट बजार सञ्चालन हुन्छ। हिउँदयाम सुख्खा हुने भएकाले अधिकांश पहाडी भूभाग रहेको रोल्पामा त्यति तरकारी उत्पादन हुँदैन। अधिकांश ग्रामीण इलाकामा सिँचाइको प्रबन्ध नभएकाले पनि हिउँद याममा मौसमी तथा बेमौसमी तरकारी बाली लगाउन समस्या भएको किसानहरू बताउँछन्। त्यसैले सुख्खा याममा साताको एक दिन अर्थात् बुधबार मात्रै हाटबजार सञ्चालन हुन्छ।
एक दिनमा न्यूनतम २० लाखदेखि अधिकतम ६० लाख रूपैयाँ र औसतमा ४० लाखसम्मको कारोबार हुने महरा बताउँछन्।
महरा आफै व्यावसायिक कृषक हुन्। उनले पाँच बिगाहा क्षेत्रफलमा तरकारी खेती गरेका छन्। उनको घर रून्टीगढी-९ को तल्लो सखीमा पर्छ। त्यहाँ सिँचाइ कुलोको सुविधा छैन। गाउँ नजिकै पानीको ठूलो र भरपर्दो स्रोत नभएकाले हिउँदे बाली लाग्दैन।
महराले भने थोपा सिँचाइ प्रणालीबाट करेसाबारी हराभरा तुल्याएका छन्। त्यसका लागि उनले घरनजिकै ३६ घनमिटरको सिमेन्टको जलासयसमेत निर्माण गरेका छन्, जहाँ ३६ हजार लिटर पानी अट्छ। यसमा सञ्चित पानी थोपा सिँचाइका लागि पर्याप्त हुने उनले बताए। अहिले उनले काउली, बन्दगोबी, केराउ आदिको खेतीपाती गरेका छन्।
महरा पशुपालन व्यवसायमा पनि उत्तिकै अब्बल छन्। उनले घरनजिकै खोर व्यवस्थापन गरेर सयवटा जति बाख्रा पालेका छन्। स्थानीय कुखुराका अतिरिक्त हाँस र कालिज पालन गरेर मनग्गे आर्जन गरिरहेका छन्।
'अहिले मैले कृषि र पशुपालनबाट सरदर वार्षिक २० लाख रूपैयाँजति आम्दानी गर्दै आएको छु,' महराले भने।
रून्टीगढी-९, सखीकै देउकला डाँगीले पनि व्यावसायिक तरकारी खेतीमा सम्भावना देख्न थालेकी छन्। केही वर्षअघिसम्म निर्वाहमुखी खेती प्रणालीमा अल्झिएकी उनले गाउँबाट पाँच किलोमिटर पर होलेरीमा हाट बजार खुलेपछि त्यसको लाभ उठाएकी छन्।
'प्रतिस्पर्धात्मक बजार मूल्यमै सामान बेच्न पाइने, ग्राहक खोज्न कतै भौंतारिनुनपर्ने, व्यापारीले स्टलबाटै सामान उठाइदिने भएकाले अति सहज भएको छ। दस वर्षपहिले नै हाट बजार खुलेको भए यतिबेलासम्म मनग्गे आम्दानी गरिसकेका हुने रहेछौं,' उनले भनिन्।
हाट बजारमा कम विषादी र रासायनिक मलखाद प्रयोग गरी उत्पादन गरेको ताजा तरकारी पाइने भएपछि बुटवल, घोराहीबाट मात्र नभई चितवनको नारायणगढ र महेन्द्रनगरबाट समेत व्यापारीहरू गाडी लिएर तरकारी किन्न पुग्न थालेका छन्। यसले होलेरी हाट बजारको मात्र नभएर, समग्र रोल्पाकै बजार विस्तार भएको छ।
'हामीलाई काठमाडौंमा पनि रोल्पाको ताजा तरकारी खुवाउन रहर छ। तर बाटोको अवस्था सुध्रन नसकेकाले त्यो रहर पूरा हुन सकेको छैन,' बजार व्यवस्थापन समितिका अध्यक्ष महराले भने, 'हामी निकट भविष्यमै त्यो इच्छा पनि पूरा गर्छौं।'
होलेरीको हाटले समग्र जिल्लाकै कृषि क्षेत्रमा ठूलो योगदान पुर्याएको रोल्पा कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रेमबहादुर वलीले बताए।
उनले पछिल्लो तीन वर्षको तुलनामा २२.०५ प्रतिशत आलु र तरकारी बालीको क्षेत्रफल विस्तार भएको बताए। तरकारी र आलु बालीको उत्पादन पनि त्यसैगरी बढेको छ। उनका अनुसार पछिल्लो तीन वर्षमा २९.६३ प्रतिशत तरकारी र आलु बालीको उत्पादन बढेको छ।
'यहाँको तरकारी तथा आलु बालीमा न्यून विषादी प्रयोग गरिएको छ। रासायनिक मलखाद पनि कम प्रयोग गरेकाले माटोको उर्वराशक्ति क्षय भएको छैन। त्यसैले पनि यहाँको उत्पादन टाढा टाढाका बजारमा पनि रोजाइमा पर्न थालेको छ,' वलीले भने।
केही समयअघिको मानव विकास सूचकांक पल्टाउँदा ७७ जिल्लामध्ये रोल्पा ६८औं स्थानमा छ। विकासमा पछाडि परेको क्षेत्रको परिचय पाएको रोल्पाले बिस्तारै आफ्नो अनुहार बदल्दैछ।
पहारिलो होलेरीबाट हेर्दा चारैतिर स्थानीयका बारी तोरी फुलेर पहेँलै देखिन्छन्। रछ्यान हराभरा छन्। करेसाबारीमा मौसमअनुसारका तरकारी लहलहाएका छन्। त्यही आयस्ता बेचेर उनीहरूको गुजारा चल्न थालेको छ। गाउँमा आर्थिक क्रियाकलाप बढेको छ।
'अचेल हाम्रो गाउँबाट वैदेशिक रोजगारीमा जाने मनग्गे घटेका छन्। पालिकामा तीन ठाउँमा संकलन केन्द्र, एक ठाउँमा साप्ताहिक हाट बजार खुलेपछि र सहरकै भाउमा गाउँमा तरकारी बेच्न पाइने भएपछि धन कमाउन किन विदेश जानुपर्यो?' भीमलाल पुनले भने।
सबै तस्बिर: अक्षर काका/सेतोपाटी
***