एकदिन हर्कमान लामा र उनका दाजु विष्णु बाघ पछ्याउँदै घना जंगलमा अघि बढ्दै थिए।
चितवन निकुञ्जको जर्नेली पोस्टबाट डुमरिया पोस्ट नजिकै पुग्दा हर्कमानले बाघको चाल थाहा पाइहाले।
'बाघ नजिकै छ है दाइ,' सँगसँगै हिँडिरहेका विष्णुलाई जानकारी दिन उनले मसिनो स्वरमा भने।
एकसुरमा हिँडिरहेका विष्णुले हर्कको कुरा सुनेनन्। उनी फटाफट अघि बढे।
नभन्दै बाघ करिब दस मिटर मात्र पर रहेछ। त्यो एक्कासि उनीहरू दुई जनाको बीचमा आइपुग्यो र भयानक आवाजमा गर्जिन थाल्यो।
बाघले सुरूमा विष्णुमाथि हमला गर्यो। उनी भागेर एउटा रूखमाथि चढे। त्यसबीच हर्क पनि रूखमा चढिसकेका थिए।
रिसाएको बाघ कहिले विष्णु चढेको रूखमुनि पुग्थ्यो, कहिले हर्क चढेको रूखमुनि।
ऊ आँखा ठुल्ठूलो पार्दै कहिले विष्णुलाई हेर्थ्यो, कहिले हर्कलाई।
अनि दुवैलाई सिकार गर्न नपाएको झोँकमा बेस्सरी गर्जिन्थ्यो।
हर्कमान ती व्यक्ति हुन्, जसले जिन्दगीको ४५ वर्ष जंगलमा बिताए। बाघ, गैंडा लगायत दुर्लभ वन्यजन्तुको विषयमा अनुसन्धान गर्नेहरू उनी र उनका दाइलाई खोजी खोजी भेट्न आउँछन्। वन्यजन्तुमा रूचि राख्ने विदेशीहरू चितवन आउँदा सहयोग माग्छन्।
आखिर जंगललाई भित्रैदेखि चिनेका र जीवनको लामो समय जंगलमै बिताएका अरू को छन् र!
'जिन्दगीमा पैसा त कमाउन सकिएन, तर इज्जत धेरै कमाइयो। हामीले सहयोग गरेका धेरै मान्छे वन्यजन्तुमा पिएचडी गरेर डाक्टर बनेका छन्। भेट हुँदा सम्मान गर्छन्। निकुञ्जले पनि आवश्यक पर्दा सहयोग माग्छन्,' हर्कमानले गर्वसाथ भने, 'हामीले यसलाई नै जिन्दगीको सबभन्दा ठूलो कमाइका रूपमा लिएका छौं।'
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)