'मलाई मन पराउँदिनौ भने म तिमीलाई घर फर्काइदिन्छु।'
नदी किनारै किनार लम्किरहेका लक्ष्मीका पाइला एक्कासि अडिए।
आफ्नो अघिअघि हिँडिरहेका मीनबहादुरका कुरा सुनेर एकटक उनैलाई हेरिरहिन्। अनि त्रिशूलीतिर फर्किइन्।
बगिरहेको पानीलाई साक्षी राख्दै बाचा गरिन् — म मेरो जिन्दगी यही मान्छेसँग बिताउँछु!
मीन र लक्ष्मीले बिहेको कुनै रिवाज गरेका थिएनन्। तर मीनले आफ्ना परिवार र आफन्तीका अगाडि लक्ष्मीलाई श्रीमतीकै रूपमा चिनाए। बधाइ र आशीर्वाद उनको थाप्लामा पर्नेवाला थिएन। आमाबुबा नभएकाले आफन्तले पनि उनलाई हेलाहोचो नै गर्थे।
'उनी अर्कै जातको भएकाले आफन्तजनले स्वीकार गरेनन्। कतिपटक घरको खरको छानोमा आगो नै लगाइदिए,' मीनले सम्झिए।
यसै पनि मीनलाई आफ्नो गाउँप्रति लगाव थिएन। आफन्तीले खेदो खन्न थालेपछि झनै साँघुरो र बिरानो लाग्न थाल्यो।
लक्ष्मीलाई त झन् उकुसमुकुस नै भइसकेको थियो।
एक दिन मुखै फोरेर भनिन् — जाम् भो काठमाडौं!
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री निःशुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)