हैदराबादका अन्तिम शासक ‘निजाम’ मीर उसमान अली खानको निजी आवासका लागि नयाँदिल्लीमा एउटा भव्य महल निर्माण गरिएको थियो। सन् १९४७ मा अंग्रेज अधीनबाट मुक्त भएपछि भारत सरकारले उक्त महल अधिग्रहण गर्यो र राजकीय अतिथिगृहका रूपमा प्रयोगमा ल्यायो। विशिष्ट विदेशी पाहुनाहरूको स्वागत–सत्कारदेखि औपचारिक वार्ताहरू त्यहीँ हुन थाले। यो भवनलाई ‘हैदराबाद हाउस’ भनिन्छ। नयाँदिल्लीको हैदराबाद हाउसमा नेपालका राजा र प्रधानमन्त्रीहरूले पनि भारतीय संस्थापनसँग कुनै न कुनै ‘डिल’ गरेका छन्। आफ्ना कुरा राखेका छन्, उनीहरूका कुरा सुनेका छन्। केही पाएका छन्, केही छाडेका छन्। केही कुरामा संघर्ष गरेका छन्, केहीमा सम्झौता पनि गरेका छन्। यो त्यही संघर्ष र सम्झौताको कथा हो।