सत्तारूढ गठबन्धनको भागबन्डामा जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा) को भागमा परेपछि नेपाली कांग्रेसका नगर सभापति मनोज साहले ‘विद्रोह’ गरेका छन्।
गठबन्धनविरूद्ध आक्रोश पोख्दै सोमबार मेयरमा उनले स्वतन्त्र उम्मेदवारी दिएका छन्। पार्टीको साधारण सदस्यबाट समेत राजीनामा घोषणा गरेका उनले लिखित रूपमा भने राजीनामा बुझाएका छैनन्।
‘कुनै अड्डा, अदालतमा मैले मुद्दा दिएको छु र लिखितै राजीनामा दिनुपर्ने। स्वेच्छाले पार्टी छोडेको हुँ,’ उनले भने।
केन्द्रीय नेताहरूले निरन्तर फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरे पनि उनले मानेका छैनन्।
साह अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसबाट मेयर उठेका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टीका उम्मेदवार लालकिशोर साहसँग १० हजार बढी मतान्तरले उनी पराजित भएका थिए। मधेश आन्दोलनको रापताप र एकल प्रतिस्पर्धीका कारण लालकिशोरले २१ हजार ९०३ मत ल्याएर विजयी भए भने मनोजले ११ हजार १६४ मत पाए।
पराजित भएका मनोजले अर्को चुनावको तयारीमा जुटेका थिए। कांग्रेसबाट टिकट पनि पाउने र जित्नेमा पनि उनी विश्वस्त थिए। त्यसैले कुनै पनि हालतमा गठबन्धन वा पार्टीबाट आफूले टिकट पाउनुपर्ने भन्दै आएका थिए।
उनको स्वतन्त्र उम्मेदवारीले फेरि पनि उपमहानगरको बागडोर सम्हाल्ने सपना पूरा हुनेमा शंका देखिन्छ। यसपालि फेरि पनि सत्ता गठबन्धनबाट जसपाका लालकिशोर मेयरका उम्मेदवार छन्।
अघिल्लो निर्वाचनमा लालकिशोर र मनोजबीच मात्रै मुख्य प्रतिस्पर्धा थियो। मधेस आन्दोलनको सेन्टिमेन्ट र जनलहर सुरूदेखि लालकिशोरकै पक्षमा देखिन्थ्यो।
यसपालि परिस्थिति फरक छ। निर्वतमान मेयर लालकिेशारले साढे चार वर्षे कार्यकालमा खासै महत्वपूर्ण केही कामै गर्न नसकेकाले निकै आलोचना भइरहेको छ। अर्कोतर्फ जनकपुरधाम उपमहानगरको मेयरमा २६ जनाले मेयरमा उम्मेदवारी दिएका छन्।
तीमध्ये लालकिशोर, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मनोज चौधरी, स्वतन्त्र उम्मेदवार बलराम साह, जानकीराम साह, मनोज र एमालेका शिवशंकर साह हिराबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
अघिल्लो निर्वाचनमा मुख्यतः लालकिशोर र मनोजबीच विभाजित भएको मत यसपालि भने ६ जना उम्मेदवारमा विभाजित हुनेछ।
मनोज आफ्नो विगतको मतसँगै लालकिशोरको कामबाट असन्तुष्टले पनि आफूलाई नै मत दिने दाबी गर्छन्।
‘लालकिशोरले केही राम्रो काम गर्न सकेनन्। भ्रष्टाचार र नातागोताका मान्छेलाई ठेक्कापट्टा र जागिर दिने काम मात्र गरे। उनीबाट यहाँका जनता आजित भइसकेका छन्। कर्मचारी त्रासमा छन्,’ मनोजले भने, ‘विधिको शासन स्थापना, सेनिटरी ल्यान्डफिल साइट, ग्रिन सिटी निर्माण, धार्मिक पर्यटकीय नगरी, बाहिरी चक्रपथ व्यवस्थित गर्न र व्यापारिक प्रतिष्ठान बढाउन यहाँका जनता, बुद्धिजीवीले मलाई नै भोट दिनेछन्।’
प्रतिस्पर्धी मनोज चौधरीले लालकिशोरकै बजेट चलाएर भ्रष्टाचार गरेको, एमालेको संगठन नै नरहेको र बलराम महतोले ठेकेदारी गरेर देशै हडपेको आरोप लगाउँदै उनले ती उम्मेदवारलाई यहाँका जनताले मत नदिने दाबी गरे।
अहिले नै चुनावी परिणामको दृश्य स्पष्ट भइसकेको छैन तर बागी भएर मनोजले जित्ने सम्भवना न्यून रहेको जनकपुरका नेताहरू बताउँछन्।
मनोजको बागी उम्मेदवारीबारे कांग्रेसी नेताले खुलेर बोल्न चाहेका छैनन्। एक नेताका अनुसार पूर्व उपसभापति विमलेन्द्र निधिले उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै आएका छन्।
‘विमल दाइले उम्मेदवारी फिर्ता लिन सकेसम्म फकाउने प्रयास गर्दै हुनुहुन्छ। उम्मेदवारी फिर्ता नलिए पनि जित्ने सम्भावना देख्दिनँ,’ ती नेताले भने, ‘कांग्रेसबाट मेयरको उम्मेदवार नहुँदा कार्यकर्ताको मत त बढी उहाँतिरै जानसक्छ तर के होला अहिले नै ठयाक्कै भन्न सकिन्न। पार्टीले माथिबाट कडा निर्देशन दियो भने आकलन गरेजति कांग्रेसको मत मनोजजीले तान्न सक्नुहुन्न।’
अर्का एक नेताले १५ गतेपछि मात्रै मनोजको उम्मेदवारीबारे चित्र स्पष्ट हुन्छ।
‘वडामा पनि धेरै साथीहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन्। हेरौं उनीहरूमध्ये कतिले फिर्ता लिन्छ वा लिँदैनन्। त्यसपछि नै मनोजजीको अवस्था पनि क्लियर हुन्छ,’ ती नेताले भने, ‘वडामा उठेका कांग्रेसका स्वतन्त्र उम्मेदवारले फिर्ता लिएनन् भने त्यसै अनुसारले कांग्रेसका अधिकांश भोट मनोजलाई नै जाने सम्भावना छ। पार्टी र जनता दुबैमा उनी पपुलर छन्।’
मनोजले आफू रूख छापबाट नलडे पनि कांग्रेसकै उम्मेदवार रहेको भन्दै प्रचार गर्दै हिँडेका छन्।
कांग्रेसका अर्का एक नेताले पनि मनोजले सम्मानजनक मत ल्याए पनि बागी भएका कारण जित्ने अवस्था नरहेको बताए।
‘पार्टीबाट टिकट पाएको भने जित निश्चित थियो तर जतिगरे पनि माथिबाट टाइट गरेपछि गठबन्धनलाई पनि कांग्रेसको मत जान्छ नै। पार्टीका उम्मेदवार नरहेकाले कार्यकर्ताहरू पनि स्वतन्त्र नै ठान्छन् होला। जातीय लहरले पनि ठूलै अर्थ राख्छ। त्यो जतातिर बग्ने हो उसैले जित्छ। मनोजजीले पनि राम्रो मत ल्याउनुहुन्छ तर जितकै सम्भावना देख्दिनँ,’ उनले थपे।