२०७९ को आम निर्वाचनमा कर्णाली प्रदेशमा दलहरूबीचको गठबन्धन पूर्ण रूपमा सफल भएको निश्कर्ष निकालिएको छ।
प्रदेश स्तरीय संयन्त्रले कर्णालीमा गठबन्धन पूर्ण रूपमा सफल भएको निश्कर्ष निकालेको हो।
निर्वाचानको समीक्षा गर्दै संयन्त्रले आंशिक रूपमा केही उम्मेदवारले चुनाव हारे पनि समग्रमा गठबन्धन सफल भएको नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले बताइन्।
उनकै अध्यक्षतामा बसेको बैठकले स्थानीय निर्वाचनमा गठबन्धन असफल भए पनि प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा सफल भएको उनले बताइन्।
न्यूनतम दुई तिहाइ बहुमत आएको अध्यक्ष केसीको दाबी छ।
‘प्रदेशमा २४ मध्ये १८ र समानुपातिकसहितको नतिजा हेर्दा बहुमत आएको छ, जुम्लामा गठबन्धनभित्रको आन्तरिक समस्याका कारण सफलता नमिलेको मात्र हो,’ उनले भनिन्, ‘समग्रमा भन्दा हामी प्रदेशमा सफल भएका छौं।’
अब गठबन्धनमार्फत् नै कर्णालीको समृद्धिका लागि अघि बढ्न विज्ञहरूसहितको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय पनि गरिएको छ।
कर्णालीमा सरकार बनाउने कुरामा भने केन्द्रसँग सल्लाह गरेपछि मात्र यकिन हुने नेकपा (एकीकृत समाजवादी) का प्रदेश सहइञ्चार्ज चन्द्रबहादुर शाहीले बताए।
‘दाबी गर्ने कुरा स्वाभाविक हुन्छ, तर गठबन्धन भएकाले केन्द्रीय संयन्त्रमा भर पर्नुको विकल्प छैन,’ उनले भने।
४० प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा समाजवादीको प्रत्यक्षतर्फ कुनै सिट आएको छैन।
भागबण्डाका क्रममा दुई सिट पाएको समाजवादीले ती गुमाएको छ। उसले समानुपातिकबाट भने एक सिट प्रदेश सभामा पाउने देखिएको छ।
गठबन्धन गरिएको प्रदेश सभामध्ये जुम्लामा नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही पराजित भए।
समाजवादीका उम्मेदवार पदमबहादुर रोकाया प्रदेशतर्फ र प्रतिनिधि सभातर्फ माओवादीका गोमा गौतम कुँवर पराजित भएका छन्।
यस्तै मुगु (क) मा समाजवादीका गोपाल बम र डोल्पा (क) कांग्रेस उम्मेदवार पराजित भए।
दैलेख २ (२) मा माओवादीका उम्मेदवार योगेन्द्र शाही पराजित भएका थिए।