दोलखामा आज राति ९ बजेदेखि मतगणना हुने भएको छ।
बिहीबार १० वटा मतदान केन्द्रमा पुन: निर्वाचन सकिएसँगै बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो।
राति प्रत्यक्षतर्फको मत गणना गर्ने र भोलिदेखि भने समानुपातिकको पनि मतगणना गर्ने निर्णय भएको हो।
गत मंसिर ४ गते भएको मतगणनामा बुथ कब्जामा लिएपछि यहाँका १० वटा केन्द्रमा पुन: मतदान गरिएको हो।
पुन: निर्वाचनमा भने ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।
जिल्लाको वैतेश्वर गाउँपालिका-६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग रहेको थियो।
तामाकोशी गाउँपालिका वडा नं ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान भएको थियो।
प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए। कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार छन्।