मंगलबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा चुनावी समीक्षा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ।
गठबन्धनलाई निरन्तरता दिने पक्षमा एकीकृत समाजवादी छ।
‘मतपरिणाम सोचेजस्तो छैन तर पनि गठबन्धनका कारण प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्नेछ,’ बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले भने।
उनकाअनुसार केन्द्रीय समितिलगायतमा पनि चुनावी समीक्षा गर्ने तयारी छ।
‘समानुपातिकतर्फ मतगणना नै नसकिएको र प्रत्यक्षतर्फ केही क्षेत्रमा विवाद र चुनाव हुन बाँकीले रहेकोले अहिले नै गहिरोसँग चुनावी समीक्षा गरिएको छैन,’ उनले भने, ‘जिल्ला लगायतबाट रिपोर्टिङ गरेर विस्तृतमा चुनावी समीक्षा पछि हुनेछ।’
उनले अब बन्ने सरकारमा पार्टी सहभागी हुने संकेत पनि गरेका थिए। तर कुन-कुन भूमिकामा जाने भन्ने विषयमा पछि नै छलफल हुने उनले बताए।