सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो संसदीय चुनावबाटै राष्ट्रिय दल बन्ने पक्कापक्की भएको छ।
प्रत्यक्षतर्फ सप्तरी २ बाट पार्टी प्रमुख सिके राउत निर्वाचित भइसकेका छन् भने समानुपातिकतर्फ उक्त दलले अहिलेसम्म गणना भएको सदर मतको ३.२७ प्रतिशत मत पाएको छ।
मंगलबार बिहानसम्म ९६ लाख ७० हजार ८८३ मत गणना हुँदा जनमत पार्टीले ३ लाख १६ हजार ६५३ अर्थात् ३.२७ प्रतिशत मत पाएको छ।
समानुपातिकतर्फ राष्ट्रिय दल बन्न सदर मतको तीन प्रतिशत कटाउनु पर्छ।
निर्वाचन आयोगका अनुसार मंसिर ४ गते भएको संसदीय चुनावमा १ करोड ७९ लाख मतदाता थिए। ६१ प्रतिशत मतदान भएकाले १ करोड ९ लाख मत खसेको देखिन्छ।
केही लाख मत बदर हुँदा समानुपातिकतर्फ ३ लाख १५ हजार मत पाउने दल राष्ट्रिय पार्टी बन्न सक्ने देखिन्छ।
जनमतले अहिले नै ३ लाख १६ हजार मत पाइसकेको छ भने उसको प्रभाव क्षेत्र रहेको सप्तरीका क्षेत्र नम्बर ३ र ४ को मतगणना अहिलेको तथ्यांकमा समावेश भएको छैन। सप्तरी १ र २ मा जनमत पार्टीले २१/२१ हजार गरी ४२ हजार मत पाएको छ। बाँकी २ क्षेत्रमा पनि उसको उल्लेख्य मत आउने देखिन्छ।
समानुपातिकतर्फ महोत्तरी २ को अन्तिम परिणाम आउन बाँकी छ। महोत्तरीका बाँकी ३ क्षेत्रमा उल्लेख्य मत ल्याएको जनमतले क्षेत्र नम्बर २ मा पनि केही हजार मत पाउने देखिन्छ।
पहिलो पटक संसदीय चुनाव लडेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई भने तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्न मुस्किलजस्तो देखिएको छ। मतगणना अन्तिम चरणमा पुग्दा पनि उक्त दलले आफूलाई थ्रेसहोल्डको नजिक पुर्याउन सकेको छैन।
मंगलबार बिहानसम्म ९६ लाख ७० हजार ८८३ मत गणना हुँदा एकीकृत समाजवादीले २ लाख ६८ हजार ४७१ अर्थात् २.७७ प्रतिशत मत पाएको छ।
अब मत गणना हुन बाँकी क्षेत्रमा एकीकृत समाजवादीले कति मत पाउँछ भन्ने एकीन छैन। मतगणना बाँकी भएका क्षेत्रमा उसको ठूलो प्रभाव नभएकाले त्यहाँबाट एकीकृत समाजवादीलाई उल्लेख्य भोट आउने सम्भावना झिनो छ।
एकीकृत समाजवादीले प्रत्यक्षतर्फ भने १० सिटमा जित हात पारेको छ।