उदयपुर क्षेत्र नम्बर १ मा आइतबारदेखि रोकिएको मतगणना अझै सुरू हुन सकेको छैन।
आइतबार बिहान साँढे १० बजेदेखि मतगणना रोकिएको थियो। प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि यहाँ विवाद भएको थियो। नेकपा एमालेले पुन: निर्वाचनको माग गरेको छ भने नेपाली कांग्रेसले मतगणना पुन: सुचारू हुनुपर्ने बताएको छ।
मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले निर्वाचन आयोगको निर्देशन आएपछि मतगणना सुरू गरिने जानकारी दिए।
उनकाअनुसार आज बिहान १० बजेदेखि पुन: मतगणना सुरू गर्ने तयारी छ। निर्वाचन आयोगले मतगणनाका लागि निर्देशन दिन सक्ने उनले बताए। यहाँ ६३ हजार ८० मत गणना गरिसकिएको छ। कांग्रेसका उम्मेदवार नारायण खड्का १ हजार ८ सय २५ मतान्तरले अघि छन्। नेकपा एमालेकी उम्मेदवार मन्जुकुमारी चौधरी पछि परेकी छन्।
यो क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो। खड्काले अहिलेसम्म २७ हजार चार सय ८४ र चौधरीले २५ हजार ६ सय ५९ मत ल्याएका छन्।