प्रदेश नम्बर १ को शक्ति सन्तुलन पहिलेभन्दा धेरै नै फेरिने निश्चित भएको छ।
नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजन, केही समयपछि एमाले पनि सग्लो नरहेको अवस्था र पाँच दलीय गठबन्धनका कारण शक्ति सन्तुलन फेरिने निश्चित भएको हो।
प्रदेश सभाको पहिलो पाँच वर्षे कार्यकालको अधिकांश समय प्रदेश १ संसद्मा तत्कालीन नेकपा हाबी थियो। ९३ सदस्यीय प्रदेश सभामा ६७ जना त नेकपाका मात्रै थिए।
नेकपा एमाले र माओवादी मिलेर बनेको ‘नेकपा’ को भीमकाय आकारका अघि कांग्रेस ज्यादै कमजोर अवस्थामा थियो। त्यसैले जुनसुकै विधेयक पारित गर्ने बेलामा पनि कांग्रेस सांसदहरू ‘हुन्न’ भन्दैनथे। त्यसो भन्दा पनि उनीहरूको फरक मतले ठाउँ नै थिएन।
रोष्टममा गएर बोल्ने बेलामा कांग्रेसका अधिकांश सांसदहरू ‘नेकपाले दुई तिहाइको दम्भ देखाएको’ आरोप लगाउँथे।
यस पटकको चुनावले त्यो अवस्था अन्त्य गर्ने भएको छ। किनभने हिजो एक्लै बहुमत स्थानमा विजेता बनेको एमाले प्रदेशसभामा अहिले ठूलो दल बन्नेतर्फ अग्रसर त छ तर हिजोकै अवस्थाको शक्ति उसँग नहुने निश्चित भएको छ।
शनिबार साँझसम्म प्रदेशका ५६ क्षेत्रमध्ये ४५ वटा क्षेत्रको नतिजा आइसकेको छ। नतिजा आइसकेका प्रदेश सभाका ५६ मध्ये १९ क्षेत्रमा एमाले उम्मेदवारहरू निर्वाचित भएका छन्। २०७४ वाम गठबन्धन हुँदा एमालेले प्रदेश सभाको प्रत्यक्षतर्फका ३६ सिटमा जित हासिल गरेको थियो। समानुपातिकसहित उसको सांसद संख्या ५१ थियो।
यसपटक एमालेले समानुपातिकमा कति सिट सुरक्षित गर्छ टुंगो लागेको छैन। तर, पहिलेको शक्तिशाली अवस्थाबाट एमाले धेरै तल भने झर्ने निश्चित भएको छ।
२०७४ मा कांग्रेसले प्रदेश सभामा प्रत्यक्षतर्फ ८ सिट जितेको थियो। समानुपातिकसहित उसका २१ जना सांसद चुनिएका थिए। वाम दलहरू विभाजित बनेको र गठबन्धनसमेत गरेको फाइदा लिँदै कांग्रेसले प्रत्यक्षतर्फको सिट संख्या बढाएको छ। हालसम्म कांग्रेसले १३ क्षेत्रमा जित दर्ता गरिसकेको छ।
वाम गठबन्धन हुँदा प्रदेशका ११ सिट प्रत्यक्ष जितेको माओवादीले समानुपातिकसहित १६ जना सांसद २०७४ मा निर्वाचित गरेको थियो।
यसपटक सत्ता गठबन्धनले पनि उसलाई ठूलो फाइदा नदिएको नतिजाले देखाएको छ। हालसम्म प्रदेशमा माओवादी केन्द्रले ९ वटामा सफलता हात पारेको छ।
उनीहरूबाहेक २ वटा क्षेत्रमा नेकपा एकीकृत समाजवादीले जितेको छ। यसअघि एमालेबाट विभाजन हुने बेलामा एकीकृत समाजवादीसँग प्रदेशसभामा १० सांसद थिए।
२०७४ मा एक जना प्रत्यक्षसहित ३ जना सांसद जितेको जनता समाजवादी पार्टीले यसपटक प्रदेशको प्रत्यक्षतर्फ एउटा पनि सिट जित्न सकेको छैन।
अघिल्लो पटक समानुपातिकबाट १ जना सांसद पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यसपटक भने झापाबाट २ जनालाई प्रत्यक्षमै जिताएको छ।
५६ मध्ये ४५ क्षेत्रको नतिजा आइसक्दा अब ११ वटा क्षेत्रको नतिजा आउन बाँकी छ। हालसम्म नतिजा आएका क्षेत्रमा कहाँ कसले जिते ?
हेर्नुहोस् विवरण:
नेकपा एमाले:
१. झापा २(१) एकराज कार्की
२. मोरङ ४(१) जयप्रकाश चौधरी
३.सोलुखुम्बु १(२) वुद्धिकुमार राजभण्डारी
४. झापा२(२) तिलचन पाठक
५. झापा ५(१) हिक्मतकुमार कार्की
६. झापा ५(२) होमबहादुर थापा
७. इलाम २(२) रामबहादुर मगर
८. ताप्लेजुङ १ (१) तिलकुमार मेन्याङ्बो
९. खोटाङ १ (१) पाँचकर्ण राई
१०. झापा ३(२) छविलाल चुडाल
११. धनकुटा १ (१) निरन राई
१२. धनकुटा १ (२) इन्द्रमणि पराजुली
१३. तेह्रथुम १ (१) किशोरचन्द्र दुलाल
१४. मोरङ १(१) उमाकान्त गौतम
१५. सुनसरी १(१) रमेश बस्नेत
१६. सुनसरी २(१) रेवतीरमण भण्डारी
१७. मोरङ २(२) लिलाबल्लभ अधिकारी
१८. संखुवासभा १(२) विदुरकुमार लिंथेप
१९) मोरङ १ (२) खड्गबहादुर बस्नेत
नेपाली कांग्रेस:
१. झापा १(१) गोपाल तामाङ
२. झापा ३ (१) भूमिप्रसाद राजवंशी
३. मोरङ ५ (१) गयानन्द मण्डल गनगाईं
४. मोरङ ५(२) अमृत अर्याल
५. मोरङ ४(२) भिम पराजुली
६. मोरङ ६(२) केदार कार्की
७. मोरङ ३(१) मानबहादुर लिम्बु
८. ओखलढुंगा १ (१) प्रदीपकुमार सुनुवार
९. उदयपुर १(२) हिमाल कार्की
१०. उदयपुर २(२) रामकुमार खत्री
११. ताप्लेजुङ १(२) खगेनसिंह हाङ्गाम
१२. खोटाङ १(२) भुपेन्द्र राई
१३. भोजपुर १(२) विनोद वान्तवा
नेकपा माओवादी केन्द्र:
१. उदयपुर १(१) राजन किराँती
२. उदयपुर २(१) नारायणबहादुर मगर
३. ओखलढुंगा १(२) बाबुराम गौतम
४. पाँचथर १(२ इन्द्रबहादुर आङ्बो
५. सोलुखुम्बु १ (१) गोम्बु शेर्पा
६. मोरङ ६(१) जीवन आचार्य
७. मोरङ २(१) गणेश उप्रेती
८. संखुवासभा १(१) राजेन्द्रकुमार कार्की
९. तेह्रथुम १(२) दुर्गाप्रसाद चापागाईं
नेकपा एकीकृत समाजवादी:
१. भोजपुर १ (१– राजेन्द्रकुमार राई
२. पाँचथर १(१) कमल जबेगु
राप्रपा:
१. झापा १(२) सविना बजगाईं
२. झापा ४(२) भक्तिप्रसाद सिटौला