इलाम-२ मा हस्ताक्षर नभएका मतपत्र भेटिएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्।
उनीहरूले शनिबार साँझ मतगणना रोक्न माग गर्दै नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का पराजित हुन सक्ने सम्भावना देखेपछि मतगणना स्थगित गर्ने प्रयास गरेको मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले जानकारी दिए।
उनका अनुसार मतगणना स्थगित भएको छैन।
‘१५० मतको मात्र मतान्तर भएपछि हारिने डरले उहाँहरूले मतगणना प्रभाव पार्न खोजिरहनु भएको छ,' उनले भने, 'तर पनि अहिले मतगणना जारी छ।'
यहाँ नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ अगाडि छन्। १५० मतले उनले अग्रता लिएका छन्।
नेम्वाङले २९ हजार १३५ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी खड्काले २९ हजार ५ मत पाएका छन्।
उक्त क्षेत्रमा अन्दाजी एक हजार मत गन्न बाँकी छ।