(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बुटवलको पुरानो बसपार्कबाट योगीकुटीसम्म चार लेन सडक बनेको दुई वर्ष भयो। मुस्किलले सवारीसाधन दोहोरो पास हुने सडक फराकिलो बनेपछि 'कालिकापथ सडक' नामकरण गरिएको छ। राजमार्ग चौराहबाट गोलपार्क सम्मको सडक निर्माणको काम आठ वर्ष अलपत्र परेपछि व्यापार–व्यवसाय कालिकापथ सडक आसपासमा केन्द्रित भएको छ। बुटवल उपमहामनगरपालिका–११, प्रेमपथकी जोनी श्रेष्ठ पनि सडक किनारको एउटा घरमा सटर भाडामा लिएर पसल चलाउँछिन्। उनको घर पनि नजिकै छ। तिनै जोनीसँग सेतोपाटीका लागि मेलै केहीबेर भलाकुसारी गरेकी छु।
पसल चलाएको कति वर्ष भयो?
पाँच वर्षजति भयो होला। मैले पसल सुरु गरेपछि नेपालमा कोभिड (कोरोना भाइरस संक्रमण) पनि सुरू भयो।
त्यसअघि के काम गर्नुहुन्थ्यो?
घरको काम गर्ने, छोराहरू पढाउने र उनीहरूको रेखदेख गर्ने काम गरें। श्रीमान् (धर्मेन्द्र श्रेष्ठ) विदेशमा हुनु हुन्थ्यो। कोभिड हुनुभन्दा केही दिनअघि आउनुभएको थियो। त्यसपछि घरनजिकै पसल गरौं भनेर सुरू गरेको हो। यो घर मेरी दिदीको हो।
श्रीमानले विदेशमा कति वर्ष काम गर्नुभयो?
धेरै बस्नुभयो नि! झन्डै २० वर्ष त विदेशमै काम गर्नुभयो। काम गर्ने उमेर उतै बित्यो भन्दा पनि हुन्छ। अहिले त पसल खोलेर 'रिटायर्ड लाइफ' बिताएजस्तै हो।
कोभिड संक्रमणका बेला पसल सुरु गर्नुभएको रहेछ, व्यापारमा कस्तो असर पर्यो?
एक-डेढ वर्ष त धेरै असर गर्यो। त्यसपछि पनि व्यापार त्यति राम्रो छैन।
पसल सुरू गर्दा कति लगानी गर्नुभएको थियो?
धेरै लगानी गरेनौं, पाँच/छ लाखमा सुरू गरेको हो।
एकदिनमा कतिको व्यापार गर्नुहुन्छ?
व्यापार खासै छैन। कहिले दिनभरिमा दुई हजार रूपैयाँको मात्र व्यापार हुन्छ। कहिले पाँच/सात हजारसम्म पनि हुन्छ। यति नै हुन्छ भन्ने टुंगो हुँदैन।
तपाईंको पसलमा धेरै बिक्री हुने के हो?
गर्मीमा चिसो पेय बिक्री हुन्छ। अरू बेला बिस्कुट, चाउचाउ, ब्रेड, पाउरोटी यस्तै हो। व्यापारबाट धेरै कमाउनेभन्दा पनि बसिबियाँलो मात्र भएको छ।
घरमा को-को हुनुहुन्छ?
घरमा अहिले त हामी बुढा-बुढी (श्रीमानश्रीमती) र कान्छो छोरो छौं। ठूलो छोरो १२ कक्षा पढेर अस्ट्रेलिया गएको छ। कान्छो छोरो अहिले एसइई (कक्षा १० को अन्तिम परीक्षा) दिएर बसेको छ।
कान्छो छोरालाई पनि विदेश पठाउनुहुन्छ?
मेरो विचार त एउटा छोरो नेपालमै बसोस् भन्ने छ तर यसको चाहना के छ त्यो पनि बुझ्नुपर्यो। श्रीमान लामो समय विदेशमा बसेको भएर होला, मलाई त विदेशमा भन्दा आफ्नै देशमा काम गरेर बसे हुन्थ्यो भन्ने लाग्छ। मलाई सरकारी जागिर खाने इच्छा थियो तर पूरा हुन सकेन। छोरो सरकारी जागिरमा लागे हुन्थ्यो भने छ। दुवै छोराको पढाइ राम्रो छ।
तपाईंलाई पसल चलाउने कामबाहेक अरू के गर्न मन लाग्छ?
हप्ताको सातै दिन पसल खोल्छौं। फुर्सद निकालेर घुमफिर गर्न मन लाग्छ। मेरो माइतीतर्फको परिवार ठूलो छ। हामी ६ जना दिदीबहिनी छौं। एक जना दाजु हुनुहुन्छ। चाडपर्वमा भेटघाट हुने त भइहाल्यो। सबै जना मिलेर वर्षैपिच्छे घुम्न पनि जान्छौं। ठूलो गाडी रिजर्भ गर्यो, परिवार सबै मिलेर घुम्यो, रमाइलो हुन्छ।
अहिलेसम्म घुम्न कहाँ-कहाँ जानुभयो?
नेपालका धेरै ठाउँ घुमेका छौं। इलाम, चितवन, पोखरा, लुम्बिनी, काठमाडौं; धेरै ठाउँ गइसक्यौं। नेपालमा र्याफ्टिङ पनि गर्यौं।भारतको सिक्किम, दार्जिलिङ, नैनिताल पनि गयौं। गएको दसैंतिहार बिदाको समयमा अयोध्या र लखनउ गयौं।
अबको बिदामा कहाँ जाने योजना छ?
अझै योजना बनेको छैन। दसैंतिहारको बिदा आउन धेरै दिन बाँकी छ। कतै जाने योजना बन्ला।
घुम्न जाने ठाउँ कसरी छनोट गर्नुहुन्छ?
ठाउँ रोज्ने काम त हामीभन्दा पनि बच्चाहरू (छोराछोरी) गर्छन्। देशविदेशबारे उनीहरूलाई धेरै थाहा हुन्छ। कुन ठाउँ कस्तो समयमा जाने, त्यहाँको विशेषता के छ भन्ने सबै बुझेर उनीहरू नै योजना बनाउँछन्। हामीले त खर्चको जोहो मात्रै गर्ने हो। परिवारका सबै जना सबै मिलेर जाँदा खर्च पनि कम लाग्छ।
तपाईंलाई सबभन्दा बढी के खान मनपर्छ?
खानेकुरा यो मिठो, त्यो नमिठो भन्ने केही छैन। भोक लागेको हुनुपर्यो, सबै कुरा मनपर्छ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
स्वास्थ्य पनि अहिलेसम्म ठिकै छ। नियमित औषधि खानुपरेको छैन। अलिक पहिले शरीर चिलाउने समस्या देखिएको थियो। सुरूमै डाक्टरलाई देखाएर औषधि खाएपछि त्यो पनि सन्चो भयो। अरू कुनै समस्या देखिएको छैन।
तपाईंको निद्रा कस्तो छ?
मलाई त राम्रो निद्रा लाग्छ। कोही मान्छे निद्रा लाग्दैन भन्छन्, किन त्यस्तो भएको होला भन्ने लाग्छ। मनमा कुनै तनाव, चिन्ता नलिएर पनि होला मलाई राम्रो निद्रा लागेको। म कहिल्यै पनि कुनै अभावमा बस्नुपरेन।
यति बेला ठिक्क पैसा भयो भने के किन्ने थिएँ भन्ने लाग्छ?
किन्नुपर्ने केही पनि छैन। सबै थोक छ। घर छ, एकसरो गरगहना पनि छन्। सानोतिनो व्यापार छ, बेलामौकामा लुगाफाटो किन्न समस्या छैन।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
सबभन्दा धेरै खुसी त म आफू एसएलसी (कक्षा १० को अन्तिम परीक्षा) पास हुँदा भएकी थिएँ। मैले पाल्पाबाट २०५८ सालमा एसएलसी परीक्षा दिएकी थिएा। सरकारी स्कुलमा पढेर फस्ट डिभिजनमा पास हुँदै स्कुल टप गरेकी थिएँ। सबैभन्दा खुसीको क्षण त्यही थियो।
पढाइ कहाँसम्म पुर्याउनुभयो?
प्लस टु (१२ कक्षा) पढ्दापढ्दै बिहे भयो। त्यसपछि बाबुहरू जन्मिए। माथिसम्म पढ्नै पाइनँ। धेरै पढेर सरकारी जागिर खाने सपना थियो। मेरो पढाइ पनि राम्रो थियो तर सोचेभन्दा ठ्याक्कै उल्टो भयो। बिहेपछि पढाइ पनि छुट्यो, सरकारी जागिर खाने सपना पनि टुट्यो।
धेरै पढ्न नपाएकोमा अहिले पछुतो लाग्छ?
अब त पछुतो लाग्न पनि छोड्यो। आफूले पढ्न नपाए पनि छोराहरूलाई राम्रोसँग पढाउन सकें। उनीहरू पढाइमा राम्रा छन्।
बाबुआमाले पूरा गर्न नसकेका कतिपय सपना छोराछोरीले पूरा गर्छन् भनेर चित्त बुझाउने गर्छु।
तपाईं सबभन्दा धेरै दुःखी कहिले हुनुभएको थियो?
सबभन्दा धेरै दुःखी त मेरा बाबा र भिनाजु बित्दा भएँ। बुबा बित्दा म आठ कक्षामा पढ्थें। समय बित्दै जाँदा पीडा बिर्सिसकेकी थिएँ। कोरोनाको समयमा भिनाजु बित्नुभयो। त्यो बेला साह्रै दुःख लाग्यो। अहिले पनि भिनाजु बितेको कुरा सम्झिँदा आँसु आइहाल्छ।
तपाईंको मनमा गढेर बसेको कुनै पिर वा त्यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने केही छ कि?
भिनाजु त्यति चाँडै नबित्नुभएको भए हुन्थ्यो भन्ने लाग्छ। उहाँलाई भगवानले छिटो लगे। चाडपर्व, बिहे, ब्रतबन्ध जस्ता कार्यक्रममा सबै आफन्तहरू जम्मा हुँदा भिनाजुको अभाव महसुस हुन्छ।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
हाम्रो टोल समाज राम्रो छ। सबै जना मिलेर बसेका छौं। दिदीबहिनी समूह, आमा समूह, टोल समूह छन्। बेलाबेलामा बैठक बस्छौं। बचत गर्छौं।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
राजनीति त मलाई मनै पर्दैन।
किन मन पर्दैन?
राजनीति मन पर्ने जस्तो नै छैन। राजनीतिले देशमा राम्रो गरेको भए मन पथ्र्यो होला। राम्रो काम नगरेपछि मन पर्ने कुरै भएन।
तपाईंलाई नेपालका नेताहरूमा सबभन्दा बढी मन पर्ने को हो?
मन पर्ने नेता पनि कोही छैन। अहिले भएका पुराना नेताहरू कोही पनि मन पर्नेजस्ता छैनन्। नयाँ आएका नेताहरू कस्तो काम गर्छन्, हेर्न पाइएको छैन। अब त कसले कस्तो काम गर्छ त्यसैको आधारमा मन पराउने र मन नपराउने हुनुपर्छ भन्ने लाग्छ।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
भोट त नेपाली कांग्रेसलाई दिएको हो। कांग्रेसबाट खेलराज पाण्डे बुटवलको मेयर उठेका थिए, तिनैलाई भोट दिएको हो।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
अब त भोट दिनै नजाऊँ कि भन्ने लागेको छ। भोट दिएर के गर्ने! कसैले राम्रो काम गर्ने होइन!
मान्छेहरू त बुटवलमा विकासको काम धेरै भएको छ भन्छन् नि?
बुटवलमा विकास त भएको छ तर समय अनुसार भइहाल्ने हो। नयाँ केही पनि भएको छैन।
तपाईंको विचारमा सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले सबैभन्दा पहिले विदेश जाने युवाहरूलाई रोकेर नेपालमै काम गर्ने वातावरण बनाइदिनुपर्छ। पहिले युवाहरू काम गर्न मात्रै जान्थे, विदेशबाट पैसा कमाएर पठाउँथे। अहिले काम गर्नभन्दा पनि पढ्न भनेर विदेश जाने धेरै छन्। विदेशमा पढ्न जाँदा नेपालको सम्पत्ति बेच्नुपर्ने अवस्था छ। यस्तो अवस्था अन्त्य गर्नुपर्छ।