(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
दाङको तुलसीपुरस्थित ‘द पार्क क्याफे’ मा भेटिए ५७ वर्षीय सुधीर गुरूङ। उनी र अर्का एक जना तुलसीपुरको अरनिको मैदानमा चल्दै गरेको फूटबल प्रतियोगितामा पठाउन आफ्ना खेलाडीबारे छलफल गर्दै थिए। पहिला क-कसलाई मैदानमा उतार्ने भनेर सूची बनाउने तयारी हुँदै थियो।
फूटबल प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले आयोजना गरेको हो।
सुधीर खेल क्षेत्रमा समर्पित छन्। जवानीमा फूटबल खेलाडी थिए। तुलसीपुरमा ‘स्पोट्स् स्कुल फूटबल एकेडमी’ चलाउँछन्। मैले सेतोपाटीका लागि उनै सुधीरसँग कुराकानी गरेको छु।
केका लागि नाम लिस्ट बनाउँदै हुनुहुन्छ?
अरनिको मैदानमा भइरहेको वडा कपमा आज पहिला कुन-कुन खेलाडीलाई मैदानमा उतार्ने भनेर लिस्ट तयार पार्दैछौं।
वडा कपमा आफ्नो छुट्टै टिम भिडाउँदै हुनुहुन्छ?
हो, हाम्रो ‘स्पोर्ट स्कुल फूटबल एकेडमी’ बाट आफ्नै टिम भिड्दै छ। यो एकेडमी जिल्लाकै पहिलो हो। २०६९ सालमा दर्ता गरेर अहिलेसम्म हामीले आफ्नो मेहनत र आफ्नै खर्चमा एकेडमी चलाएका छौं, खेलाडी उत्पादन गरेका छौं। संस्थापक अध्यक्ष म नै हुँ।
केही वर्ष तुलसीपुरका इन्जिनियर पवनकुमार योगीले नेतृत्व गर्नुभएको थियो। फेरि उहाँले तपाईं नभई हुँदैन भनेर मलाई नै अध्यक्ष सुम्पिनुभएको छ।
एकेडमीमा हाल कति खेलाडी छन्?
अहिले ३२ जना खेलाडी नियमित अभ्यासमा छन्। यसअघि ६५ जना थिए। हाम्रा खेलाडीले दुईपटक जिल्ला लिगको च्याम्पियन जितेका छन्। एकपटक दोस्रो भए।
अहिले पनि हाम्रा थुप्रै केटा खेलाडी राम्रा छन्। कोही केन्द्रमा ‘बी’ डिभिजन खेल्दैछन्। किरण योगी, हरि बुढामगर र सुरज नेपाली ‘बी’ डिभिजनमा छन्। ‘सी’ डिभिजन खेल्ने पनि छन्।
तपाईंको एकेडमीमा महिला खेलाडी छैनन्?
छन् नि! केटीहरूले झन् राम्रो गरेका छन्। बंगलादेशमा भएको अन्डर फिप्टिन खेलमा च्याम्पियन नै भएका थिए। उनीहरू गत वर्ष (सन् २०२४) बंगलादेशमा भएको अन्डर सेभेन्टिनमा दोस्रो भए।
गत वर्षमै जोर्डनमा भएको अन्डर सेभेन्टिन एएफसी (एसियन फूटबल फेडेरेसन) मा पनि उनीहरू सहभागी भए तर जित्न सकेनन्।
हाम्रा महिला खेलाडीले काठमाडौंमा भएको ‘ए डिभिजन लिग’ मा विभिन्न क्लबबाट खेलेका थिए। अञ्जना पुन मगर, ममता पुन र राधिका वली हाम्रै खेलाडी हुन्।
तपाईं खेलकुद क्षेत्रमा कसरी लाग्नुभयो?
मैले स्कुले जीवनमै खेल सुरू गरेको हुँ। अहिलेसम्म पनि म यसैमा रमाएको छु। म भारतको दिल्लीमा जन्मेर उतै हुर्केको हुँ। खेल पनि उतै सुरू भएको हो।
दिल्ली कसरी पुग्नुभयो?
पुर्ख्यौली घर तुलसीपुरकै अम्बासमा हो। मेरा बुवा रामबहादुर गुरूङ लाहुरे (भारतीय सैनिक) बन्न इन्डिया भारत जानुभएछ। लाहुरे हुनु पनि भयो तर काम मन नपरेर भाग्नुभएछ। त्यसपछि उतै चौकीदारी गरेर बस्नुभएछ।
आमा रमा गुरूङ तुलसीपुरको दमारगाउँकी हुनुहुन्थ्यो। बुबाआमा उतै (दिल्ली) बस्दा हामी दुई दाजुभाइ र दुई दिदीबहिनी जन्मियौं।
मेरा दाजु सरकारी जागिरे हुनुहुन्थ्यो। उहाँलाई ब्रेन ट्युमर भयो अनि बुबाभन्दा पहिले बित्नुभयो। दिदी र बहिनी दुबै जना दिल्लीमा पढाउँथे। अहिले अवकास भइसकेका छन्।
हाम्री जेठी आमा पनि हुनुहुन्थ्यो। उहाँसँग हाम्रो भेट भएन। उहाँ हाम्रोमा कहिल्यै आउनुभएन। उहाँतर्फका एक जना दाइ हुनुहुन्छ। इन्डियन आर्मी (भारतीय सैनिक) हुनुहुन्थ्यो। अवकास पाइसक्नुभयो।
जेठी आमा अन्तै गएपछि बुवाले हाम्री आमालाई भित्र्याउनु भएको रहेछ।
अहिले तपाईंको परिवारमा कोको हुनुहन्छ?
हामी श्रीमान–श्रीमती छौं। हाम्रा दुई छोरा छन्। जेठो छोरो सिद्धान्त हालै अस्ट्रेलियाबाट घर आएको थियो, फेरि उतै गयो। कान्छो छोरो सिद्धार्थ यहीँ ठेक्कापट्टाको काम गर्छ।
कान्छी श्रीमतीबाट छोरो सुधांशु छ, ऊ जर्मनीमा छ। कान्छीसँग डिभोर्स भएको १२ वर्ष भयो।
तपाईंको पहिलो बिहे कसरी भयो?
मेरी श्रीमती राधा योगी हुन्। उनीसँग २०४६ सालमा प्रेमविवाह भएको हो। उनी एसएलसी परीक्षा दिएर सिलाइकटाइ तालिम लिँदै थिइन्।
म इन्डियाबाट आएपछि उनका भाइ द्रोणनाथ र मेराबीचमा घनिष्ट मित्रता भयो। उनकी दिदी राधासँग प्रेम पर्यो। भाइ द्रोण र साली निराले पनि हामीलाई सघाएका थिए।
भाइ र बहिनीले कसरी सघाए त?
देखादेख हुँदै जाँदा मैले राधालाई मन पराएँ तर देखभेट भएको दुई वर्ष हुँदा पनि बोलचाल भएको थिएन।
एक दिन मैले राधालाई एउटा चिठी लेखें अनि नौ वर्ष उमेरका मेरा भान्जालाई पाँच रुपैयाँ दिएर चिठी पुर्याउन लगाएँ।
भान्जाले चिठी त पुर्याए तर राधालाई दिनुपर्नेमा उनकी बहिनी निरालाई दिएछन्। त्यसपछि के चाहियो! मैले राधालाई मन पराएको कुरा उनका भाइबहिनीले थाहा पाइहाले। उनीहरूले मलाई साथ दिए।
तपाईंले त्यो चिठीमा लेखेको कुरा सम्झना छ?
ओहो! किन नहुनु, पूरै सम्झना छ नि! त्यसबेला मलाई नेपाली बोल्न र लेख्न आउँदैनथ्यो। मैले चिठी हिन्दीमा लेखेको थिएँ।
‘मै तुमे बहुत अच्छा मानता हुँ, आप मुझे अच्छे मानते हो कि नाइँ, इसका जबाफ देना।’ यत्ति लेखेको थिएँ।
चिठीको खामभित्र मैले त्यतिखेर चलेको गीतको क्यासेट पनि पठाएको थिएँ, आशा भोस्लेले गाएको ‘एउटा मान्छे मन पर्छ बोल्न सक्दिनँ...’ गीतको क्यासेट।
चिठीको जबाफ के आयो?
जबाफ नै आएन। मलाई उनीसँग डर लाग्थ्यो, सोध्ने कुरै भएन। त्यसपछि पनि एक वर्षसम्म बोलचाल भएन। हेराहेर मात्रै हुन्थ्यो। उनी मन्दिरमा आउँथिन्। त्यहाँ उनका भाइ र म पनि हुन्थ्यौं। उनका भाइ र बहिनीले सघाएपछि मात्र मेरो प्रेम सफल भयो।
दोस्रो बिहे कसरी भयो त?
त्यो एउटा फिजिकल अट्र्याक्सन (भौतिक आकर्षण) मात्रै थियो जस्तो लाग्छ। वीरेन्द्र चोकमा एक जना साथीको पसल थियो। म त्यहाँ आउजाउ गरिरहन्थे। उनी (कान्छी श्रीमती) सँग त्यही देखादेख हुन्थ्यो।
त्यति खेर म बुलेट बाइक चढ्थें। त्यस बेला तुलसीपुरमा त्यस्तो बाइक चढ्ने मान्छे ममात्रै थिएँ। राम्रो खेलाडीका रूपमा मेरो पहिचान थियो। उनी पनि दश कक्षामा पढ्दै थिइन्, मप्रति क्रेजी (आसक्त) भइछन्।
उनले एउटा चिठी पठाएकी थिइन्। ‘म तिमीलाई माया गर्छु’ भनेर लेखेकी थिइन्। त्यो चिठी उनले मेरा आफन्तको घरमा छाडेकी रहिछन्।
चिठी पाएपछि मैले उनका आफन्तमार्फत घरमा फिर्ता पठाएर बहिनीलाई सम्झाउनू भनेको थिएँ।
चिठी लेखेको थाहा पाएपछि उनलाई घरमा कुटेछन्। मलाई पनि केके धम्की आयो। त्यसपछि मलाई पनि रिस उठ्यो, म पनि के कम भन्ने घमण्ड जाग्यो।
एक दिन उनी मन्दिर गएका बेला बाइकमा गएँ। मसँग जाने हो त भनेर सोधें। उनले ‘हुन्छ’ भनिन् अनि मामाघरमा लगेर राखें।
जेठी श्रीमतीले के भन्नुभयो?
मलाई राधाले एक वचन पनि लगाइनन्। कहिलै अपशब्द बोलिनन्। ‘भाग्यमा यस्तै लेखेको रहेछ, सौताको दाग एक दिन कट्ला भन्ने आशा छ’ भनिन्।
उनी (कान्छी श्रीमती) इन्डियाको धनी परिवारकी थिइन्। हाम्रो बीचमा संस्कार पनि मिलेन। बिस्तारै समयले छुटायो।
अँ, खेलमा चाहिँ कसरी अघि बढ्नुभयो?
मलाई सानैदेखि खेलकुदमा रूचि थियो। म दिल्लीमा आठ कक्षामा पढ्दादेखि फूटबलमा क्रेजी भएको थिएँ, नौ कक्षामा पढ्दा स्कुलस्तरीय नेसनल फूटबल गेम खेल्न पाएँ।
म गोल किपर भएँ। मैले कक्षा १२ सम्म दिल्लीमै पढेँ। त्यस बेला धेरै वटा गेम खेलेँ। गोर्खा ब्बाइजको क्याप्टेन पनि भएँ। इन्डियन नेसनल क्लबबाट पनि खेलेँ।
दिल्ली लिग, इन्डियन कलेजियन क्लब र सिम्ला योङ स्टारबाट पनि खेलेँ। एकपटक हाम्रो टिमले राजीव गान्धी ट्रफी पनि जितेको थियो।
फूटबल लिग खेल्दा म इन्डियन खेलाडीले भन्दा राम्रो पैसा पाउँथेँ। एउटा लिग खेल्दा २० हजार भारतीय रुपैयाँ पाउँथेँ। चल्तीको पत्रिका स्टार स्पोट्स्ले मेरो फोटो छाप्थ्यो।
मेरो खेल देखेर इन्डियन पुसिलले सोझै पोस्टिङको लेटर दिएको थियो। मलाई इन्डियन नर्दन रेल वे र अरू कम्पनीले पनि खेल्न बोलाएका थिए तर गइनँ।
त्यतिन्जेलमा नेपालमै खेल्छु, फूटबलमा केही गर्छु भन्ने हुटहुटी जागेको थियो। म क्रिकेट पनि खेल्थें। मलाई आक्रामक बल्लेबाज भनेर चिन्थे।
नेपाल कहिले आउनुभयो?
मेरा फुपाजू धनबहादुर गुरूङ इन्डियाको एक्सआर्मी (पूर्वसैनिक) दिल्लीमै सेक्युरिटी गार्डको काम गर्नुहुन्थ्यो। मेरो खेल देखेर उहाँ पनि दंग पर्नु हुन्थ्यो।
उहाँले तिमी यति राम्रो खेल्छौं, अब नेपालमै खेल्नुपर्छ भन्नुभयो। उहाँले नै २०४४ सालमा पहिलोपटक तुलसीपुर ल्याउनुभयो। बुवाले नेपालको सबै जग्गाजमिन बेच्नुभएको थियो। हाम्रो बसाइँ दिल्लीमै थियो। म नेपाल आएर केही दिन आफन्तहरूका घरमा बसेँ।
पहिलोपटक आउँदा तुलसीपुर कस्तो लागेको थियो?
ओहो! सबैको माया र मानसम्मान पाएको थिएँ। म त हिरो नै रहेछु भन्ने भान भएको थियो। बेग्लै घमण्ड भएको थियो। मलाई नेपाली बोल्न नआउने तर अरूले बोलेको सुन्दा आनन्द लाग्थ्यो।
त्यसपछि म ब्रिटिस आर्मी हुन भनेर नापिन प्यूठान गएँ। नागरिकता बनाउँदा उमेर घटाएको थिएँ। म अहिले ५७ वर्षको भए पनि त्यो नागरिकताअनुसार ५३ वर्षको मात्रै छु।
मेरो ‘फिजिकल’ राम्रो भए पनि नेपाली बोल्न नजान्दा फालिएँ।
नेपालमा स्थायी बसोबास कहिले सुरू भयो?
तुलसीपुरबाटै बिहे गरेको हुँदा आउजाउ भइरहन्थ्यो। म सुरूमा दमारगाउँमा मामाघरमा बसेको थिएँ। २०५२ सालमा स्थायी रूपमा बस्न थालेँ।
अहिले तपाईंको जग्गाजमिन कति छ?
नयाँ बसपार्कमा एउटा घर छ। हामी त्यहीँ बस्छौं। तुलसीपुरको राइखलियानमा पाँच कट्ठा जग्गा किनेको छु। त्यसमा रूखबिरूवा र फूलबारी छ।
जग्गा धितो राखेर किनेको एउटा स्कार्पियो गाडी छ। त्यो भाडामा लगाउँछु। गाडीको कमाइले किस्ता तिर्छ, अलि-अलि कमाइ पनि हुन्छ।
यति सम्पत्ति कसरी जोड्नुभयो?
म नेपालमै बस्छु भनेपछि दिल्लीमा पढाउने मेरा दिदी र बहिनीले उतिखेर पाँच लाख भारु सहयोग गरेका थिए। त्यो पैसाले काठको काम गरेँ। त्यसबाट केही कमाइ भयो।
एउटा महेन्द्रा गाडी पनि किनेको थिएँ। त्यसबाट पनि केही आम्दानी भयो। विभिन्न ठाउँमा खेल खेलाउन जाँदा पनि पैसा आउँथ्यो।
राधाका माइती पनि धनी छन्। उनीहरूले पनि सहयोग गरे। जग्गा किनेको २०७१ सालमा मात्रै हो।
तुलसीपुर आएपछि खेलमा कसरी लाग्नुभयो?
तुलसीपुरमा फूटबल खेल्न थालेँ। क्रिकेट पनि खेलेँ। यी दुबै खेलको व्यावसायिक विकासका लागि पनि काम गरेँ। दुई वर्ष काठमाडौं बसेँ। एक वर्ष थ्री स्टारबाट र एक वर्ष जाउलाखेल क्लबबाट खेलेँ। मेरा एक जना भान्जाले ती क्लबमा जोडिदिनुभएको थियो।
त्यति बेला पैसा पाइँदैनथ्यो। काठमाडौंमा टिक्न गाह्रो भयो। दाङको हुँ भनेपछि खेलाडी भनेर पनि पत्याउँदैनथे।
जापानको हिरोसिमामा खेल्न दुई पटक क्लोज क्याम्पमा पनि बसेको थिएँ तर त्यहाँ हुने विभेद चित्त नबुझेर निस्कें।
यति लामो समय खेल क्षेत्रमा बिताउनुभयो, अझै कहिलेसम्म खेलमै हुन्छु जस्तो लाग्छ?
म अहिले पनि खेलकुदमै सक्रिय छु। बिहान पाँच बजे उठेर दौडँदै फूटसल खेल्न जान्छु, बेलुका जिम जान्छु। भेट्रान फूटबल खेल्छु। दिनभर गेमकै बारेमा सोच्छु। एकेडमी कसरी राम्रो गराउने भन्ने चिन्तन गरिरहन्छु। घरको जिम्मेवारी बुढी (श्रीमती) र छोराहरूलाई सुम्पेको छु।
अहिलेसम्ममा खेलकुदबाट के पाएँ, के गुमाएँ जस्तो लाग्छ?
खेल क्षेत्रको विकासका लागि मैले पनि दुःख गरेको छु। मेरो सपना थियो राष्ट्रिय जर्सी लगाउने तर पूरा भएन। आफूले लगाउन नपाए पनि मेरा चेलाहरूले लगाएको देख्दा सबै दुःख बिर्सन्छु। मेरो सपना पूरा भएजस्तै लाग्छ।
राम्रा खेलाडी उत्पादन गर्न अझै धेरै प्रयास गर्नुपर्छ भन्ने लाग्छ। सबै ठिकै चलेको छ। केही पनि गुमेको जस्तो लागेको छैन।
तपाईंलाई मनपर्ने खाने कुरा के हो?
राँगा र बँगुर मासु होओस्। त्यो मासुसँग भात खान पाइयोस्। मेरो मन रमाइहाल्छ।
रातमा निद्रा कस्तो छ?
ठिक छ, मजाले निदाउँछु। अहिलेसम्म कुनै स्वास्थ्य समस्या छैन। रक्सी, चुरोट खाने त कुरै छोड्नुहोस्; अहिलेसम्म सुपारी पनि मुखमा हालेको छैन।
यति बेला खर्च गर्न सक्ने गरी ठिकठिकै पैसा भए के गर्थें भन्ने लाग्छ?
म ‘स्पोट्स् स्कूल फूटबल एकेडमी’ ठूलो बनाउने थिएँ। खेल्न इच्छुक गरिब बच्चालाई होस्टेलमा राखेर पढाउने र खेलाउने जिम्मेवारी लिने थिएँ। खेलकुदको माध्यमबाट दाङको नाम रोशन गर्ने थिएँ।
तपाईंलाई आफ्नो नराम्रो बानी के हो जस्तो लाग्छ?
आँखा चिम्लेर कसैलाई छिट्टै विश्वास गर्ने र धोका पाएपछि झस्किने, यही हो मेरो नराम्रो बानी।
यति बेला राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
स्थानीय सरकारले खेल गतिविधि गर्न सकेन। हामीले दुईपटक महिला लिगका लागि खेलाडी लैजाँदा वास्ता गरेन। भिख माग्न आएजस्तो गराए। भौतिक संरचना निर्माण मात्रै विकास होइन भन्ने कुरा स्थानीय जनप्रतिनिधिले बुझेन सकेनन्।
खेलकुदको विकासका लागि के हुन आवश्यक छ?
खेलभित्रको राजनीति हटाउन जरूरी छ। वास्तविक खेलाडीले अवसर पाउनुपर्यो। जिल्ला खेलकुद संघ, फूटबल संघ जताततै राजनीति हाबी छ। यस्तो राजनीति अन्त्य गरेर पेसागत मान्छेले नेतृत्व गर्दा मात्रै खेलको विकास हुन्छ।
गएको चुनावमा भोट दिनुभयो?
म आफै राप्रपाबाट वडाध्यक्षको उम्मेदवार थिएँ। मलाई ‘तँ इमानदार छस्, चिल्लो घस्न जाँदैनस्, हिम्मत गर्छस्’ भनेर उम्मेदवार बनाएका थिए। मैले त पछि पो थाहा पाएँ, मलाई हौस्याउनेले पनि मलाई भोट दिएनछन्!
अब फेरि उम्मेदवार हुने कि?
अब नहुने। चुनावप्रतिको आस्था नै मरिसक्यो। झुट बोल्ने कला भएका र धेरै पैसा खर्च गर्न सक्नेका लागि मात्रै रहेछ राजनीति, सोझो बोल्नेका लागि होइन रहेछ।
तपाईंलाई मन पर्ने नेपाली नेता को हो?
मेरो मनमा त राजा छन्। मलाई मन पर्ने नेता भनेकै राजा हुन्। हामी दिल्लीमा बस्दा मेरा बुबा दसैंमा पहिला राजाको फोटोमा टीका लगाइदिएर मात्रै हाम्रो निधारमा लगाइदिनुहुन्थ्यो। बाबुबाजेले सिकाएको संस्कार म कसरी त्याग्न सक्छु र!
तपाईंले आफ्नो जीवन खेलमै समर्पित गर्नुभयो, यसमा तपाईंकी श्रीमती के भन्नुहुन्छ?
मेरी श्रीमती त एउटी सौताले छाडे पनि अर्की सौता फूटबल रहेछ भनेर हाँसीमजाक गर्छिन्। अहिले पनि म फूटबलकै पछि दौडिएको छु। फूटबलका लागि आफ्नो समय र पैसा खर्च गरेको छु।
बितेको जीवन फर्केर हेर्दा केही गल्ती गरें जस्तो पनि लाग्छ?
हालसम्म तीनवटा गल्ती गरेँ भन्ने लाग्छ। मेरै देशमा खेल्छु भनेर नेपाल आउनु मुख्य गल्ती भयो। यहाँ खेलको विकासका लागि कसैको ध्यान छैन, खेलमा राजनीति छ।
कसैलाई चिल्लो घस्न नजान्नु मेरो दोस्रो गल्ती हो। दोस्रो बिहे गर्नु तेस्रो ठूलो गल्ती हो। यसमा त जति माफी मागे पनि पुग्दैन।
यसबाहेक सबै ठिक गरेको छु।