(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
मिथिला नगरपालिका—८ स्थित कुसुमविसौनाका श्यामजीलाल महतो तरकारी बेच्न जनकपुर आएका थिए। मोटरसाइकलमा एकाबिहानै तरकारी बेच्न आएका उनी बिहान करिब १० बजे घर फर्किंदै थिए। बाटोमै भेटिएका उनै श्यामजीसँग गरिएको कुराकानी:
के छ हालखबर तपाईंको?
ठिकै छ। दुःख पनि छ, सुख पनि छ। जिन्दगी चलेको छ।
के काम गर्नुहुन्छ?
म तरकारी व्यापार गर्छु। रेल्वे स्टेसन छेउमा बजारमा तरकारी बेच्छु।
कहाँबाट तरकारी ल्याउनुहुन्छ?
महोत्तरीको प्रेमनगर, पशुपतिनगर, इटाटारबाट ल्याउँछु।
कहाँ बस्नुहुन्छ?
गाउँमै बस्छु। त्यतैबाट सधैँ तरकारी किनेर ल्याउँछु, बेच्छु।
यहाँसम्म तरकारी कसरी ल्याउनुहुन्छ?
हरेक दिन दिउँसो २/३ बजे मोटरसाइकल लिएर निस्किन्छु। ५/६ बजेतिर बोरामा प्याक गरेर तरकारी किनेर घर फर्किन्छु। बिहान घरबाट साढे चार—पाँच बजे निस्किन्छु। एक घण्टामा जनकपुर आइपुग्छु। बिहान साढे ९ बजेसम्म तरकारी बेच्छु। घाटा नाफा धेरै हेर्दिनँ, समयमै बेचेर घर फर्किन्छु।
त्यति टाढाबाट किन ल्याउनुहुन्छ?
उता अलि सस्तो पर्छ। किसानले पनि गाउँबाट बजार लानु पर्दैन। म खेतमै गएर किन्छु। अनि बजारभन्दा दुई रुपैयाँ सस्तो दिन्छ, ताजा पनि हुन्छ।
गाउँमा सधैँ सोध्दै तरकारी किन्नुहुन्छ कसरी?
गाउँका प्राय:जसो तरकारी किसानलाई चिन्छु। क-कसले खेती गरेका छन् गाउँ घुम्दै थाहा हुन्छ। सबैको फोन नम्बर राखेको छु, फोनबाटै तरकारी छ कि छैन बुझ्छु। कुन तरकारी छ, रेट के छ सबै बुझेर मात्रै किन्न जान्छु। बजारबाट किन्दा महँगो रेट पनि पर्छ फेरि निकासी पनि तिर्नुपर्छ।
कति भयो यो व्यापारमा लागेको?
७ वर्ष भयो। पहिले दुध व्यवसाय गर्थें। करिब ६ वर्ष दुध व्यवसाय गरेर छोडेँ। पार्टनरसिपमा हुँदा दुध व्यवसायमा खासै फाइदा भएन। तनाव धेरै हुन्थ्यो त्यसमा। जतिबेला मधेस आन्दोलन भयो पैसाको समस्या भयो। डेरीले हामीलाई दुधको पैसा दिँदैन्थ्यो। किसानले हामीसँग पैसा माग्थ्यो। समयमा पैसा दिन नसक्दा धेरै गाली बेइज्जती सुन्नुपथ्र्यो।
अनि तरकारी व्यापारमा कसरी होमिनुभयो?
मैले व्यापार गरेको थिएँ। मलाई यहीँ गर्न मन पर्यो। गाउँबाट तरकारी किनेर स्टेसनमा ल्याएर बेच्न थालेँ। सुरूमा त आफूले पनि खेती गरेँ। तरकारी उब्जाएर बेचेँ। पछि आफूले खेती गर्नै छोडिदिएँ।
रेल्वे स्टेसनमै आएर किन बेच्न थाल्नुभयो?
म दुधको व्यापार गर्नुअघि कहिलेकाहीँ आफ्नै खेतको तरकारी पनि यहाँ ल्याएर बेचेको थिएँ। यहाँ राम्रो भाउ पाइन्छ भन्ने थाहा थियो र मैले यहाँ ल्याएर तरकारी बेच्न थालेँ।
तपाईंको कति खेत छ?
डेढ बिघा खेत छ मेरो। तर तरकारी खेती गर्न समय दिनुपर्छ। बाँदर, नीलगाईले बाली रहन दिँदैन। ७ कठ्ठा मात्रै तारबारले घेर्न सकेको छु। त्यति मात्रै खेती गर्छु। बाँदर र नीलगाईको कारणले बाँकी सबै खेत पर्ता छ।
त्यति घेर्न कति पैसा खर्च भयो?
सिमेन्टको पोल छैन बाँसकै खम्बाले घेरेको छु। ४० हजार बढी लगानी घेर्नमै लगाएको छु। तै पनि नीलगाई हाम फालेर कहिलेकाहीँ खेतमा छिर्छ।
बाँदर र नीलगाईको समस्या समधानका लागि सरकारले केही गरेको छैन?
केही गरेको छैन सरकारले। उनीहरूको संख्या दिनदिनै बढ्दो छ। तर कसैले मतलबै गरेको छैन। सरकारी निकायले पहल नगरेसम्म नीलगाई र बाँदर भाग्दैन। हामीले मात्रै के गर्ने? ६ लेन तारले घेर्दा पनि हाम फालेर बाली खाइदिन्छ।
कस्तो चलेको छ तपाईंको व्यवसाय?
ठिकै चलेको छ। औसतमा सबै काटेर हजार रुपैयाँ बचत हुन्छ।
दिनको कति तरकारी बेच्नुहुन्छ?
डेढ क्विन्टल हुन्छ। सबै गाउँबाटै किनेर ल्याउँछु। कहिलेकाहीँ आफ्नो खेतको पनि हुन्छ। श्रीमतीले घरको काम पनि हेर्छ, खेती पनि गर्छन्।
तरकारी बेच्न जाँदा के समस्या हुन्छ?
मोटरसाइकलमा तरकारी बेच्दा ट्राफिक प्रहरीले कहिलेकाहीँ दुःख दिन्छन्। पुलिसले भन्छ यो मान्छे चढ्ने गाडी हो कि लोड गर्ने? कहिलेकाहीँ घुस पनि माग्छन् बाटोमा। म त खासै दिँदिनँ घुस अरूले दिएको देख्छु।
कति पढ्नुभएको छ?
एसएलसी पास गरेर छोडिदिएँ। घरायसी समस्याले पढ्न सकिनँ। विस्तारै खेतीपाती र व्यवसाय गर्न थालेँ। पछि यसैमा भविष्य बनाउने सोचेँ।
सबभन्दा धेरै के काम गर्दा मज्जा आउँछ?
सबभन्दा धेरै मज्जा व्यापार गर्दा लाग्छ। धेरै पढेको पनि छैन कि अरू काम सोचूँ।
मनोरञ्जनका लागि के गर्नुहुन्छ?
मोबाइल चलाउँछु। टिकटक हेर्छु। कहिलेकाहीँ फुर्सदका बेला साथीसँग घुम्न जान्छु। चार/पाँच जना मिलेर कतै घुम्न गइदिन्छौं।
अन्तिम पटक कहिले घुम्न जानुभएको थियो?
दुई महिनाअघि घुम्न गएको थिएँ। हाम्रै पालिकामा पर्ने पोखरीया गएको थिएँ जसलाई मिथिला सागर पनि भनिन्छ।
खानपिनमा सबभन्दा धेरै के मनपर्छ?
मलाई सबन्दा धेरै भात दाल तरकारी मनपर्छ। म शुद्ध शाकाहारी छु। जन्मजात वैष्णव हुँ म।
कति छोराछोरी छन्?
तीन जना छन्। तीनै छोरा छन्।
उनीहरूबाट कति सुख पाउनुभएको छ?
तीनै जनाले कुरा मानेको छ। अहिले त उनीहरू सुख दिने भइसकेकै छैनन्।
घर परिवारमा कतिको मेलमिलाप हुन्छ?
एकदमै मेलमिलाप हुन्छ ।
राति कतिको निद्रा पर्छ?
मज्जाले निद्रा आउँछ । दिनभरको थकान हुन्छ राति मज्जाले निद्रा आउँछ । स्वास्थय एकदम ठिक छ ।
हातमा ठिक्को पैसा भए के किन्नुहुन्थ्यो?
म यहीँ व्यवसायमा लगानी गर्थें। अहिले एउटा मोटरसाइकल किनेको छु। तरकारी किन्छु बेच्छु। पैसा भयो भने एउटा पिकअप किन्छु। त्यो भैसकेपछि धेरै तरकारी बेच्न सक्छु। थोक पनि बेच्न सक्छु।
अहिले दिनको कतिको तरकारी किन्नुहुन्छ?
८/१० हजारको ।
पिकअप गाडीमा बेच्नुभयो भने कति फाइदा होला?
५/७ हजार रुपैयाँ दिनको कमाउन सकिन्छ।
नेपालमा कमाइ नै छैन भन्छ तपाईंले कमाइ देख्नुहुन्छ?
कमाइ त यहाँ पनि छ। बस अलि समय लाग्छ। व्यवसाय गर्न बोली नम्र हुनुपर्छ। संघर्ष अलि बढी गर्नुपर्छ।
सबभन्दा धेरै खुसी भएको दिन कुन हो?
सबभन्दा धेरै खुसी मेरो पहिलो छोरा जन्मिँदा थिएँ। ठूलो भोज गरेको थिएँ।
सबभन्दा मन दुखेको दिन कुन हो?
बुवाको मृत्यु भएको दिन। एक साल पनि भएको छैन। बिरामी हुनुहुन्थेन अचानक मृत्यु भयो।
मनमा के पिरोलिरहन्छ?
व्यापार व्यवसाय कसरी फस्टाउँछ।
गाउँ समाज कस्तो लाग्छ?
धेरै राम्रो लाग्छ। हाम्रो घर छेउमा कुनै पार्टीको फिलिङ छैन । कोइ कुनै दलमा भएपनि केही मतलब हुन्न । केही तेस्तो खराब छैन ।
राजनीति कस्तो लाग्छ?
म राजनीतिमा लागेको छैन। मलाई चासो पनि हुन्न। म आफ्नो काम बाहेक त्यतातिर ध्यानै दिन्नँ।
सरकारले के पाँच वटा काम गरिदिए हुन्थ्यो लाग्छ?
सबभन्दा पहिले बाँदर र नीलगाई समस्या समाधान गर्नुपर्छ। यो समस्या समाधान भइहाल्यो भने तरकारी किनेर बेच्न पर्दैन आफ्नै खेतमा उत्पादन हुन्छ। सरकारले मलखाद र बिउबिजनमा अनुदान पनि दिनुपर्छ। खेतीको बेला खादमल पाइँदैन त्यसको व्यवस्था गरिदिनुपर्छ। गाउँका मुख्य सडक त बन्यो तर भित्री सडक कच्ची छ त्यो पक्की गरिदिनुपर्छ। गाउँमा राम्रो स्वास्थ्य चौकी छैन त्यसको व्यवस्था हुनुपर्छ। अहिले समान्य घाउचोट लाग्दा पनि ढल्केबरै जानुपर्छ। हेल्थपोस्ट गाउँको टाढा छ। गाउँमै प्रसूति सेवा खोल दिनुपर्छ। सरकारी स्कुलमा राम्रो शिक्षक दिनुपर्छ। अहिलेका सबै शिक्षक राम्रा छैनन्। पढाइ हुँदैनन्। बाध्यताबास सबैले बोर्डिङमा पढाउनुपरेको छ। सालको एक लाख बढी फि नै तिर्नुपर्छ।
देशको नेतामा सबभन्दा धेरै को मनपर्छ?
सबभन्दा धेरै बालेन शाह मनपर्छ। उनको भिजन राम्रो छ। काम गर्ने शैली राम्रो छ। प्रधानमन्त्रीभन्दा पनि राम्रो भिजन छ उनको। काठमाडौंमा धेरै विकास गरिरहेको छ।
पछिल्लो संसदीय निर्वाचनमा कसलाई भोट दिनुभएको थियो?
एमालेलाई दिएको थिएँ। अर्को चुनावमा कसलाई दिने सोचेको छैन। अब सोचेर भोट दिन्छु। भोट दिएर जिताएको रघुवीर महासेठ गाउँमा आएकै छैन। अहिलेसम्म जितेपछि देखेको छैन।