(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
रूपन्देहीको देवदह-९ घोडाहाका ७३ वर्षीय नरभुपाल चापागाईं बुटवल जान बाटोमा गाडी पर्खिएर बसेका थिए। स्याङ्जाको गल्याङदेखि १५ वर्ष पहिले देवदह आएका चापागाईं परिवारसहित घोडाहामै बस्छन्। चापागाईंसँग सेतोपाटीको लागि गरिएको भलाकुसारी।
नमस्ते बुवा, कता जान लाग्नुभएको हो नि?
बुटवलसम्म जाउँ भनेर बस पर्खिएको। भाइ अष्ट्रेलियाबाट बुटवल घर आउँदै छ। भाइको नाति पनि दुर्घटनामा परेर खुट्टा भाँच्चिएको छ रे उनलाई पनि भेट्न हुन्छ भनेर जान लागेको।
घरपरिवारमा को को हुनुहुन्छ?
घरमा श्रीमती यमकला चापागाईं र दुई छोरा छन्। ठूलो छोराले बुटवलमा आफ्नै कन्सल्टेन्सी चलाएको छ। कान्छो छोराले यही देवदह खैरेनीमा पूजा सामग्रीको पसल चलाएको थियो। कोरोनाको बेलामा चल्न सकेन त्यसपछि बन्द गरेर बसेको छ। छोरी एउटी छिन् उनको पनि विवाह भइसकेको छ।
दिन कसरी बिताउनुहुन्छ, के काम गर्नुहुन्छ?
अब यो उमेरमा के काम गर्ने हो र डुलेर बित्छ दिन त। साँझ बिहान घरपरिवारमै बसेर बित्छ। दिउँसोमा कहिलेकाहीँ कसैले पूजापाठको लागि बोलाउँछन् त्यतै जान्छु। मैले पूजापाठको काम पनि गर्छु।
पहिले के काम गर्नुहुन्थ्यो?
मैले काम गर्ने उमेरमा केही काम गरिनँ, म बिग्रिएँ। भारतको बनारसमा शास्त्री पढेर आएपछि २०३६ सालदेखि ४२ सालसम्म स्याङ्जा पिढिखोलाको हाइस्कुलमा पढाएँ। धार्मिक आस्था राख्ने मान्छे स्कुलमा अरू शिक्षकहरूसँग संगत मिलेन। एउटै स्कुलमा पढाउने शिक्षकहरुसँग खानपिन रहनसहन नमिलेपछि पढाउनै छोडिदिएँ। स्कुल छोडेर २०५५ सालमा गल्याङमै खाद्यान्न व्यापार सुरू गरेँ। खाद्यान्नको व्यापारमा पनि घाटा खाइयो। मेरो पसलबाट सामान लैजाने सबै निम्न आयश्रोतका मान्छे थिए। उधारो लैजाने तर पैसा नतिर्ने भएपछि २०५९ सालमा त्यो पनि छोडिदिएँ।
खाद्यान्न छोडेर फर्निचर उद्योग चलाएको थिएँ त्यो पनि छोडेर २०६७ सालमा तराई झरेको हुँ। यहाँ आएपछि यस्तै यताउता गरेर दिन बितेका छन्।
तपाईंलाई सबभन्दा के काम गर्न मन लाग्छ?
मलाई त पूजापाठमा हिँड्दा सबभन्दा धेरै रमाइलो लाग्छ। बाहुनको छोरा परियो, आफूले पढेको पनि त्यही विषय भयो। जुवातास खेल्ने, रसरंगमा हिँड्ने बानी पहिलेदेखि नै लागेन।
तपाईंलाई सबभन्दा बढी के खान मन लाग्छ?
आहा! यस्तो खान पाए हुन्थ्यो भन्ने केही छैन। भोक लागेको बेला पेटभरी दालभात खान पाए त्यही सबभन्दा ठूलो कुरा हुन थाल्यो अहिले त। म माछामासु खान्नँ शाकाहारी खानेकुरा मनपर्छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिलेसम्म स्वास्थ्य ठिकै राम्रै छ। कहिलेकाहीँ रूघाखोकी लागेर एक दुइटा ट्याब्लेट खाने सामान्य कुरा भयो। अरू नियमित औषधि खानु परेको छैन।
निद्रा कत्तिको लाग्छ?
उमेर बढ्दै गएर हो कि निद्रा कम हुँदै जान थालेको छ। पहिले आठ नौ घण्टा निद्रा लाग्थ्यो भने अहिले ५/६ घण्टापछि आँखा खुल्छन्।
तपाईंलाई ठिक्क पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने केही छ?
पैसा भए यही चिज किन्ने थिएँ भन्ने पनि केही छैन। मान्छेलाई पैसा धनसम्पत्तिले कहिल्यै नपुग्ने रहेछ तर मलाई यस्तो गर्न पाइनँ भन्ने केही छैन।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभयो?
छोराछोरीका पनि छोराछोरी हुँदा सबभन्दा धेरै खुसी लाग्ने रहेछ। साँवाकोभन्दा व्याजको माया भन्ने त उखान नै छ। मेरा पनि तीन जना छोराछोरीका ६ जना नातिनातिनी छन्। उनीहरूको माया सबभन्दा धेरै छ। उनीहरू जन्मिँदा धेरै खुसी लागेको थियो।
तपाईं सबभन्दा धेरै दुखी कहिले हुनुभएको थियो?
नौ महिनाको अन्तर गरेर २०५० सालमा आमा र ५१ सालमा बुवा बित्नुभएको हो। त्यतिबेला सबभन्दा धेरै दुखी भइयो। बुवाआमाले एकैपटक छोडेर जाँदा धेरै गाह्रो हुने रहेछ।
तपाईंको मनमा गढेर बसेको कुनै पिर वा यस्तो भइदिएको भए हुन्थ्यो भन्ने केही छ?
मनमा पिर र गुनासो त केही पनि छैन तर, कहिलेकाहीँ पाएको शिक्षकको जागिर नछोडेको भए अहिले पेन्सन खाएर बस्न पाइन्थ्यो भन्ने अलिअलि पछुतो भने लाग्छ।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
टोल समाज राम्रै छ। गल्याङमा बस्दा पनि राम्रै थियो यहाँ पनि राम्रै छ। म आफू पनि टोलसमाज सुधार गर्नुपर्छ भनेर लागिरहन्छु।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
नेपालको अहिलेको राजनीति त धेरै फोहोरी भयो। म पहिलेदेखि नै नेपाली कांग्रेसमा लागेको व्यक्ति हुँ। देशको लागि नेपाली कांग्रेसले पनि केही राम्रो गर्न सकेन। कम्युनिष्टहरूको त आशा गर्ने कुरा पनि भएन। हुँदाहुँदा अहिले त नेपाली कांग्रेसले एमालेलाई टेको लगाइदिएर सरकारको नेतृत्वमा पुर्याएको छ।
सरकार बनाउनका लागि चुनावमा मुख्य प्रतिस्पर्धी हुने एमाले र कांग्रेसको गठबन्धन पनि कहीँ हुन्छ र? शेरबहादुर देउवा र केपी ओलीले दुई वटै पार्टी मास्ने खेलो गरेका छन्।
तपाईंलाई नेपालका नेताहरूमध्ये सबभन्दा को मनपर्छ?
पहिले बिपी कोइराला, गणेशमान सिंह मन पर्थे। उनीहरू मन परेर नै कांग्रेसमा लागेको हो। उनीहरूका चेला भने मनपर्ने कोही पनि छैनन्।
चुनावमा भोट त हाल्नुभयो नि?
भोट त दिएँ। नेपाली कांग्रेसलाई नै दिएको हो।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
मैले २०२९ सालमा नेविसंघको सदस्यता लिएर त्यहीँबाट नेपाली कांग्रेस भएको हुँ। कांग्रेसमा लागेको ५२ वर्षमा अहिले त्यसका उम्मेदवारलाई भोट नदिएर अरुलाई दिने कुरा भएन तर, पार्टी सुध्रिए हुन्थ्यो भन्ने मात्र हो। नेताहरूको व्यवहार देख्दा चित्त नबुझे पनि पार्टीको भने माया लाग्छ।
सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले त जनतालाई जसरी हुन्छ राहात दिनुपर्यो। हामीले धेरै केही मागेका पनि छैनौं नि। शिक्षा र स्वास्थ्य नि:शुल्क गरिदिनुपर्यो। नेपालमै रोजगारीको व्यवस्था भए कसैका छोरानाति विदेश जानुपर्ने थिएन।
बाटोघाटो, खानेपानीको राम्रो व्यवस्था हुनुपर्यो। यही बुटवल नारायणगढ सडकलाई हेर्नु कति वर्ष भयो हामीले धुलो खान थालेको कहिले बन्ने हो थाहा छैन। जनतालाई यसरी सास्ती हुने काम सरकारले गर्नुभएन।