(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
विष्णुप्रसाद लम्सालले बुटवलमा खाजा पसल (होटल) सञ्चालन गरेको तीन वर्ष भयो। उनलाई श्रीमती भगवता लम्सालले सघाउँदै आएकी छन्। बुटवल उपमहानगरपालिका वडा नं. ४ स्थित नेपाल पत्रकार महासंघको कार्यालय अगाडि खाजा पसलमा भेट्दा विष्णुप्रसाद रोटी पकाइरहेका थिए। तिनै विष्णुप्रसादसँग सेतोपाटीको लागि गरिएको भलाकुसारी।
कस्तो चलेको छ व्यापार?
पहिले मुख्यमन्त्री कार्यालय र अरू मन्त्रालय पनि यहीँ नजिकै थिए। मन्त्रालयमा मान्छे धेरै आउने/जाने गर्थे व्यापार राम्रो हुन्थ्यो। ती मन्त्रालय यहाँबाट सरेर गएपछि व्यापार पनि हराएको छ। पहिले दिनमा सात आठ हजारको व्यापार हुन्थ्यो अहिले दुई तीन हजार पुर्याउन पनि मुस्किल छ।
यो सटर आफ्नै हो?
कहाँ आफ्नो हुनू। आफ्नो त पाल्पाको रैनादेवीमै छोडेर आइयो, यहाँ भाडामा बसेका छौं। यो सटरको भाडा महिनाको १२ हजार तिर्छौं। बस्नलाई ७ हजारमा अलग्गै कोठा लिएका छौं। मुस्किलले पुग्छ हामीलाई खान-बस्न।
कति वर्ष भयो यो होटल सुरू गर्नुभएको?
यहाँ पसल सुरू गरेको तीन वर्ष जति भयो। यहाँ आउनभन्दा पहिले पाल्पाको तानसेनमा पनि यस्तै पसल गरेका थियौं।
पाल्पाबाट बुटवल कसरी आउनुभयो?
तानसेनमा होटल गर्न थालेको १२ वर्ष जति भएको थियो। त्यही बीचमा कोभिड आयो। कोभिडको बेला होटल चलाउने कुरा भएन, घर गएर बसियो। डेढ दुई वर्ष घर गएर बसेपछि तानसेन जानुभन्दा बुटवल जाऊँ न भनेर यता आएका हौं।
होटल श्रीमान श्रीमतीले मात्र चलाउनुभएको छ?
अलि धेरै मान्छे आउने काम गर्न भ्याइनभ्याई हुने भए त मान्छे पनि राख्नुहुन्थ्यो, अलि अलि चल्छ दुई जनाले चलाएका छौं। हामी मिलेर काम गर्छौं। काम गर्न एकअर्कालाई पर्खिने केही गर्दैनौं।
खाजामा केके बनाउनुहुन्छ?
चिया, रोटी, परौंठा, मम, चाउमिन, मटर समोसा, चनाअण्डा त्यस्तै हो।
घरमा कोको हुनुहुन्छ?
दुई वटा छोरी र एउटा छोरा छन्। छोरीहरू दुबै जनाको विवाह भयो, छोरा विदेशमा छन्। यहाँ हामी बुढाबुढी मात्र छौं।
तपाईंलाई होटलको कामबाहेक अरू के गर्न मन लाग्छ?
मलाई त आफ्नो काम बाहेक अरू केही गर्न मन लाग्दैन। बिहानदेखि साँझसम्म नै यही होटलमा भइन्छ अन्त कतै जाने फुर्सद पनि हुँदैन। जाने मन पनि हुँदैन।
तपाईंलाई खानेकुरामा के मन पर्छ?
यही होटलमा पाक्ने खाजा खाइन्छ। खानामा पनि दालभात तरकारी यस्तै हो मनपर्ने त। आहा यस्तो खान पाए हुन्थ्यो भन्ने केही पनि छैन। अब त के खाएर पेटलाई राम्रो गर्छ त्यस्तै खानेकुरा खाने बेला भयो।
तपाईंको स्वास्थ्य कस्तो छ?
स्वास्थ्य त अहिलेसम्म राम्रो छ। केही औषधि खानु परेको छैन। बिरामी कहिल्यै हुनु नपरोस् भन्ने कामना छ मेरो।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
निद्राको त कुरै नगरौं। पल्टिए पुग्छ। रातिमा मस्त निदाउँछु। दिउँसोमा पनि सुत्न पाए निदाइन्छ।
तपाईंलार्ई ठिक्क पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने केही छ?
त्यस्तो चाहना केही छैन सबै भरिपूर्ण छ। पहाडमा पनि हामीलाई सुख थियो। जग्गा जमिन घर सबै छ, त्यतिकै छोडेर बजारमा बस्न भनेर आएका हौं।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
म त सधैं खुसी छु। बुढाबुढी सँगै छौं। सँगै होटल चलाएका छौं। म त सदाबहार खुसी।
सबभन्दा धेरै दुखी कहिले हुनुभएको थियो?
बुवाआमा बित्दा दुखी भइयो। बुवा २०५२ सालमा बित्नुभएको हो। आमा पनि २०६१ सालमा बित्नुभयो।
तपाईंको मनमा कुनै पिर छ यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने केही?
केही पिर छैन। केही कुराको लोभलालच हुने हो भने त्यो पूरा नभए पिर पथ्र्यो होला। लोभलालच पनि भएन, पिर पनि भएन।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
हाम्रो टोलसमाज त एकदम राम्रो छ। बाहुन र मगरको मात्र बसोबास छ हाम्रो टोलमा। दुबै समुदाय सबै मिलेर बसेका छौं। विवाह, पूजा, ब्रतबन्ध सबैमा एकआपसमा मिलेर काम गर्छौं।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
अहिले केही खराब छ भने त्यो नै राजनीति हो। यस्तो फोहोरी राजनीतिको पनि के कुरा गर्नु। जनतालाई सधैं दु:खको दु:ख छ। बेरोजगार, महँगी यही राजनीतिले त गरेको हो। छोराछोरी सबैका विदेशमा छन्। सरकारमा हुने, माथि-माथि हुने जोजो छन्, उनीहरूलाई मात्र मोज छ।
तपाईंलाई नेपालका नेतामा को मनपर्छ?
अहिलेका नेता त कोही पनि मन पर्दैनन्। पहिले बरू राजा महेन्द्रले धेरै राम्रो गरेका रहेछन् भन्ने लाग्न थालेको छ। नेताहरूका पछि लागेर राजा फाल्न लागियो, अहिले गल्ती गरिएछ भन्ने लाग्न थालेको छ।
तपाईंले गएको चुनावमा कसलाई भोट दिनुभयो?
भोट दिने भनेर पाल्पा गइयो तर, गठबन्धन गरेको भएर कसैलाई पनि भोट नदिइकन आइयो। गठबन्धन नगरेको भए नेपाली कांग्रेसलाई दिइन्थ्योे। पहिले पनि उसैलाई दिँदै आएको थिएँ।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
अब चुनाव भयो भने पनि गठबन्धन भए कसैलाई नदिने। एक्लै लडे मान्छे हेरेर दिने हो। गठबन्धन भनेको मिलेर देश लुट्ने चाल मात्र हो।
तपाईंलाई सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर नि:शुल्क गर्ने र बजारको महँगी नियन्त्रण गरे पुग्छ। सरकारले त्यति गरिदिए जनताले आफूलाई खान लाउन आफैले कमाउन सक्छन्। कुनै पनि नेपालीले आफूलाई खान पुगेन भनेर माग्नुपर्दैन।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्