(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
सर्लाहीको रानीगञ्जकी ३३ वर्षीया कल्पना तामाङ बुटवलमा बसोबास गरेको १४ वर्ष भयो। उनी सडक किनारामा हरियो मकै पोलेर बेच्छिन्। यसबाट घरखर्चमा निकै ठूलो भरथेग हुन्छ।
हालै पुसको चिसोमा बुटवलको रामनगरस्थित ‘गौतमबुद्ध सामुदायिक मुटु अस्पताल’ अगाडि मकै पोल्दै गरेकी कल्पनासँग हामीले सेतोपाटीका लागि केहीबेर भलाकुसारी गरेका छौं।
पोलेको मकै कत्तिको बिक्री हुन्छ?
गर्मीयाममा धेरै हुँदैन। जाडोयाममा राम्रो बिक्री हुन्छ। जाडोमा पोलेको तातो मकै खान मिठो हुन्छ। आगो ताप्दै पोल्न सजिलो पनि हुन्छ।
एक दिनमा कति मकै बेच्नुहुन्छ?
जाडो दिनमा सय वटा (सय घोगा) भन्दा धेरै बेच्छु। गर्मीमा अलिक कम बिक्री हुन्छ। गर्मीमा त पोल्न पनि गाह्रो हुन्छ।
मकै कहाँबाट ल्याउनुहुन्छ?
धेरै त नारायणघाटबाट आउँछ। कहिलेकाहीँ हेटौंडाबाट पनि आउँछ। पाल्पा, नवलपरासी र सर्लाहीबाट पनि ल्याउँछौं। सिजनमा त यहीँ वरपरका खेतबाट पनि ल्याउँछौं।
तपाईंले यसरी मकै पोलेर बेचेको कति वर्ष भयो?
भइसक्यो ११ वर्ष। यो अस्पताल चल्न सुरू भएसँगै मैले पनि मकै पोल्न सुरू गरेकी हुँ। अहिलेसम्म यही ठाउँमा छु।
अहिले पो बाटो फराकिलो बनाउने भनेर किनारा भत्काउँदै छ। त्यसपछि के हुन्छ, कता जानुपर्ने हो, थाहा छैन।
बिहान कति बजे आउनुहुन्छ?
बिहान यस्तै १०–११ बजेतिर आउँछु। आफूले ल्याएजति मकै सकिएपछि जान्छु; छिटो सकिए छिट्टै, ढिलो सकिए ढिलै। कहिलेकाहीँ त सात बजेसम्म पनि बस्नुपर्छ।
आज एक सय मकै ल्याएकी थिएँ, ६ बजे नै सकियो। अब घर जाने हो।
यो काममा कत्तिको नाफा छ?
दुःख गरेपछि अलिअलि नाफा त हुनैपर्यो। सानो–ठूलो हेरेर ३० देखि ५० रुपैयाँसम्ममा बिक्री हुन्छ। दिनभरिको कमाइले घरखर्च चलेको छ।
घरमा कोको हुनुहुन्छ?
ससुरा, श्रीमान, म र हाम्रा दुई जना छोराछोरी; दुबै छोराछोरी पढ्दै छन्।
श्रीमान के काम गर्नुहुन्छ?
उहाँले ‘सेनिटरी’ चलाउनुभएको छ। पहिला अटोरिक्सा चलाउनुहुन्थ्यो। हामी दुबै जनाले कमाएर थोरैथोरै गर्दै जम्मा गरेको पैसाले अहिले यहीँ रामनगरमा सेनिटरी चलाउँदै हुनुहुन्छ।
मकै पोलेर बेच्न काम त छँदै छ, यसबाहेक तपाईंलाई के गर्न मन लाग्छ?
आफ्नो काम नै मकै पोल्ने हो। अरू काम गर्ने फुर्सद हुँदैन। पानी परेका बेला र बजारमा मकै नपाएका बेला रामनगरमै एउटा क्यान्टिनमा काम गर्छु।
घुमफिर गर्न, फिलिम हेर्न मन पर्दैन। म त आफ्नै काममा रमाउँछु।
तपाईंलाई खानामा धेरैजसो के मन पर्छ?
खाने कुरामा त सागसब्जी धेरै मन पर्छ। माछामासु त्यति मन पर्दैन। अहिले सागसब्जीको सिजन छ। थरीथरीका सागसब्जी किनेर खान्छु।
यति बेला तपाईंसँग ठिक्क पैसा भए के किन्नु हुन्थ्यो होला?
श्रीमान–श्रीमती मिलेर कमाएको पैसा बचत गर्दै सर्लाहीमा १० धुर घडेरी किनेका छौं। अब कमाइ भयो भने त्यही घडेरीमा एउटा घर बनाउने मन छ। छोराछोरी पनि ठूला हुँदै गए, अब आफ्नै घर चाहिन्छ।
घर भयो भने खान लाउनका लागि कमाउन सजिलो हुन्छ। जति धेरै सम्पत्ति भए पनि खानलाउन सबै नकमाइ हुँदैन। एउटा घर बनाउन पाए भयो, ठूलो रहर केही पनि छैन।
तपाईंको स्वास्थ्य कस्तो छ?
भगवानको कृपाले अहिलेसम्म ठिक छ। कहिलेकाहीँ टाउको दुख्नु सामान्य भइहाल्यो। नियमित रूपमा कुनै औषधि खानुपरेको छैन। सधैं यस्तै रहन पाए हुन्थ्यो भन्ने छ।
निद्रा कत्तिको लाग्छ?
दिनभरि घाम, आगो र पानीमा बिताउनुपर्छ। साँझबिहान पनि घरको काम गर्नुपर्छ। शरीरमा थकान हुन्छ; राति मस्त निद्रा लाग्छ। राति निद्रा लागेन भने त भोलिपल्ट काम गर्नै सकिन्न नि!
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभएको भयो?
म त जहिले पनि खुसी छु। घरपरिवारमा मेलमिलाप हुनु नै खुसीको कुरा होइन र! दुबै जना मिलेर कमाउँछौं, खर्च पनि सल्लाहमै गर्छौं। मैले श्रीमानको कमाइ देख्न पाएकी छु; श्रीमानले मेरो कमाइ देख्न पाउनुभएको छ। हामी त सधैं खुसी छौं।
सबभन्दा धेरै दुःखी कहिले हुनुभयो?
तीनचार वर्षअघि श्रीमान निकै बिरामी हुनुभएको थियो, त्यति बेला धेरै दुःख लाग्यो। सुगरको र डिप्रेसनको औषधि खानुहुन्छ। आजकाल सन्चो हुँदै गएको छ।
तपाईंको मनमा गढेर बसेको कुनै पिर छ कि?
त्यस्तो केही पनि छैन। म पिर लिन्नँ। मान्छे आफ्नो भाग्य लिएर जन्मिन्छ रे! जति पिर गरे पनि हुने कुरा भइहाल्छ, पिर गरेर टर्ने होइन।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
टोलसमाज ठिक छ। हामी मिलेर बसेका छौं। अहिलेसम्म मेरो चित्त दुख्ने गरी कसैले केही गलत गरेको छैन। मैले पनि टोलसमाजलाई अप्ठ्यारो पार्ने काम गरेको छैन।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
खोइ! राजनीति त म केही पनि बुझ्दिनँ। दिनभरि मकै नपोले आफ्नो व्यवहार चल्दैन। राजनीति कस्तो छ, के छ, केही पनि थाहा छैन।
चुनावमा भोट दिनुभएको छ कि छैन?
अहिलेसम्म दिएको छैन।
भोट दिनु त नागरिकको अधिकार हो नि, किन नदिनुभएको त?
अधिकार त हो तर भोट हाल्ने बेलामा मात्र थाहा पाउँछौं। पहिले भोटलिस्ट (भोटर लिस्ट/मतदाता नामावली) मा नाम लेखाउनु पर्दो रहेछ। अहिलेसम्म नाम लेखाएकै छैन।
हामी बुटवलमा बस्छौं, घर सर्लाहीमा छ। कहाँ नाम लेखाउने हो, कसलाई भन्नुपर्ने हो, केही पनि थाहा छैन। अबको चुनावमा थाहा भयो भने नाम लेखाएर भोट हाल्ने हो।
कसलाई भोट हाल्नुहुन्छ होला?
खोइ! अहिले नै के थाहा हुन्छ र! चुनाव हुने कहिले, नाम लेखाउने कहिले! सबै कुरा मिल्यो भने जुन पार्टी राम्रो काम गर्छु भन्छ उसैलाई दिनुपर्ला। त्यति बेलै थाहा होला नि!
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले गरिबलाई काम दिए हुने हो। धन सम्पत्ति भएकाहरू त आफ्नै उद्योग–व्यवसाय गरेर बस्छन्। धन सम्पत्ति नहुनेहरू काम खोज्दै हिँड्नुपर्छ। काम पनि पाइँदैन।
काम पाए पनि खान पुग्ने तलब हुँदैन। काम गर्ने उमेरका सबैलाई सरकारले काम दिने हो भने मान्छे विदेश जानुपर्ने थिएन। देश पनि राम्रो हुने थियो।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्