लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
हुलाकी सडकअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट–परासी खण्ड निर्माण सुरू भएको वर्षौंसम्म पनि अलपत्र छ। सोही सडकखण्डको बर्दघाट नगरपालिका–१५, होसनामा एउटा चोया र चित्राका सामानको बिक्रीकेन्द्र छ। हालै त्यही बिक्री केन्द्रमा भेटिइन दम्चीमाया तामाङ। यो पसल उनकै रहेछ।
दम्चीमायासँगको कुराकानी :
अहिले चोया र चित्राका सामानको बिक्री कस्तो छ?
बिक्री त राम्रै हुन्छ। गाउँघरमा खेतीकिसानी गर्नेलाई डोकोडालो नभई हुन्न। बजारमा पनि डालो, सुपो सबैलाई चाहिन्छ।
के-के पाइन्छ तपाईंको पसलमा?
चोयाको सबै सामान पाइन्छ। भकारी, सुपो, डोको, डालो, टोकरी, ढकिया, कुखुरा राख्ने कोक्रो, बस्ने मुढा, गर्मीमा हम्किने पंखा सबै पाइन्छ।
व्यापार गरेको कति वर्ष भयो?
यहाँ (बर्दघाट) आएको ३५ वर्ष जति भयो होला। त्यसभन्दा पहिले धादिङमा पनि डोकोडालो नै बेच्थ्यौं।
सामान कहाँबाट ल्याउनुहुन्छ?
टोकरी, भकारी गाउँमै बुन्छन्। अरू सामान धादिङ, चितवन, दुम्किबास, स्याङ्जा र पाल्पाबाट पनि आउँछ।
तपाईंले बेचेको सामान कहाँकहाँ पुग्छ?
बुटवल, भैरहवा, सुर्खेत, दाङसम्म लैजान्छन्। केही सामान गाउँमै पनि बिक्री हुन्छ।
महिनामा कति रूपैयाँसम्मको बिक्री गर्नुहुन्छ?
हिसाबकिताब नै राख्ने गरेकै छैन। बिक्री गर्यो, त्यही पैसाले सामान ल्यायो, कति पैसाको आउँछ र कतिको बिक्री हुन्छ भन्ने दिनदिनको हिसाब हुँदैन।
तीनचार सयमा किनेर चारपाँच सयमा बिक्री गर्ने हो। सामानअनुसार एउटामा एक डेढ सय रूपैयाँसम्म नाफा लिन्छु। हप्तामा दुईतीन गाडीसम्म सामान आउँछ।
एक गाडीमा कति रूपैयाँको सामान आउँछ?
सानो गाडी छ भने डेढ लाख (रूपैयाँ) जतिको आउँछ। ठूलो गाडी भए बढी हुन्छ।
तपाईंको उमेर कति भयो?
कति वर्षकी भएँ त्यो त थाहा भएन। अहिलेसम्म चारपटक भत्ता बुझें।
घरमा कोको हुनुहुन्छ?
श्रीमान् (रामबहादुर तामाङ) र तीनजना छोरा छन्। एउटी छोरीको बिहे भइसक्यो।
छोराछोरीले कत्तिको सुख दिएका छन्?
सुख दिएकै छन्। माइलो छोरो चितवनको टाँडीमा छ, जेठो घरमै छ। कान्छो गाडी चलाउँछ।
तपाईंको व्यापार त व्यापार छँदै छ, यसबाहेक के काम गर्न मन लाग्छ?
म त व्यापारमै रमाउँछु। सामान लिन कहिले चितवन, कहिले दुम्किबास, कहिले बुटवल, कहिले भैरहवा जान्छु। मलाई यसमै रमाइलो छ।
तपाईंलाई सबैभन्दा बढी मन पर्ने खाना के हो?
खानेकुरा सबै मन पर्छ। खानाभन्दा भोक पो मिठो हुन्छ त! भोक लागेका बेला सबै खानेकुरा मिठो हुन्छ, सबै मन पर्छ। यो खान्छु, यो खाँदिनँ भन्ने केही पनि छैन।
तपाईंको स्वास्थ्य कस्तो छ?
स्वास्थ्य त्यति राम्रो छैन। सुगर (मधुमेह) र प्रेसर (उच्च रक्तचाप) छ। दुईतीन वर्ष भयो औषधि खान थालेको।
अस्पतालमा कहिले जँचाउनु भएको थियो?
जँचाइरहन्छु। दुई महिना पहिले पनि गोपीगञ्जमा गएर जचाएँ।
निद्रा कत्तिको लाग्छ?
निद्रा त मज्जाले लाग्छ। राति मात्र होइन, दिउँसो पनि निद्रा लाग्छ। यही खटिया (खटिया देखाउँदै) मा बस्यो, ग्राहक आए सामान देखायो, बिक्री गर्यो, नभए सुत्यो। कहिलेकाहीं त भुसुक्क हुन्छु, ग्राहकले पो उठाउँछन्।
अहिले तपाईंसँग ठिक्क पैसा भए के किन्नुहुन्थ्यो होला?
यति बेला मलाई चाहिने केही पनि छैन, सबै पुगेको छ। पैसा भए चाहिएको सामान किनेर ल्याइहाल्छु। ऋण खोजेर कान्छा छोरालाई १२ चक्के ट्रक किनिदिएकी थिएँ। बिग्रिएर ऋण लागेको छ। पैसा भए त्यही ऋण तिर्न हुन्थ्यो।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
अहिले नै खुसी छु। पहिले धेरै दु:ख पाइयो, छोराछोरी हुर्काउन धेरै दुख भयो। अहिले त सबै कमाउँछन्, मेरो आफ्नै व्यापार छ। सबै सुख छ, खुसी छु।
सबैभन्दा धेरै दुःखी कहिले हुनुभएको थियो?
दुःखी पनि अहिले नै छु। घरभरिका नातिनातिनी सबै देशबाहिर छन्। उनीहरूलाई सम्झिँदा दुःखी हुन्छु। चाडपर्वमा उनीहरूको धेरै सम्झना आउँछ। काम गर्नु पर्यो, घरमा बसेर पनि भएन।
तपाईं टोलसमाज कस्तो छ?
धेरै राम्रो छ। मान्छेहरू असल छन्। ठाउँ पनि राम्रो छ। खोलो आउँदैन, पहिरो पनि जाँदैन।
टोलसमाजको सबैभन्दा राम्रो पक्ष के हो?
सबै मिलेर बसेका छौं। सबैभन्दा राम्रो यही हो।
टोलसमाजको मन नपर्ने पक्ष पनि केही छ कि?
त्यस्तो मन नपर्ने केही छैन। सबै आआफ्ना काममा लागेका छन्। कसैलाई समस्या परे सकेको सहयोग गर्छन्, एकजुट हुन्छन्।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
मलाई राजनीति त केही पनि थाहा छैन। ठिकै चलेको होला।
तपाईंलाई नेपालका नेतामध्ये को मन पर्छ?
म त कोही पनि नेता चिन्दिनँ। को मन पर्छ भन्नु र! हाम्रो बाटो पनि कसैले राम्रो बनाइदिएका छैनन्। गाउँमा कोही नेता आउँदैनन्।
चुनावमा भोट माग्न पनि आएनन्?
चुनावमा भोट माग्न त धेरै जना आउँछन् नि तर कोको आउँछन्, थाहै हुँदैन। चुनावपछि कोही पनि फर्किएर आउँदैनन्। जितेका पनि आउँदैनन्, हारेका पनि आउँदैनन्।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
हामीले त पहिलेदेखि नै कांग्रेसलाई भोट दिएको हो।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
अब त कसलाई दिने हो खोइ! पछि थाहा होला।
सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारको काम त बाटोघाटो राम्रो बनाइदिने हो। गाडी हिँड्ने बाटो राम्रो बनाइदिए हुन्थ्यो।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्