लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
७१ वर्षीया रूक्मिणी न्यौपाने पूर्वी नवलपरासीको त्रिवेणी बजारमा छोराले चलाउने गरेको बालाजी होटल परिसरमा भेटिएकी थिइन्। भर्खरै पुजापाठ सकेर बाहिर बसिरहेकी रूक्मिणीसँग गरिएको कुराकानी :
सन्चै हुनुहुन्छ?
अहिलेसम्मलाई ठिकै छ भन्दा हुन्छ।
दिन कसरी बिताउनुहुन्छ?
छोरा बुहारीले यो होटल चलाएको १ वर्ष जति भयो। मैले पनि उनीहरूलाई सानोतिनो काममा सघाउने गर्छु। पाहुनासँग गफ गर्छु त्यस्तै गरी बितेका छन् दिन।
होटलको भवन आफ्नै हो?
दुईतीन वर्ष पहिले आफैले बनाएको हो। छोराले पहिले बैंकमा जागिर गर्थे। घरमा हामी सासुबुहारी मात्र भयौं। छोरालाई पनि बाहिरबाहिर सरूवा गरेर पठाउने गरिरह्यो। बैंकको जागिर छोडे पछि आफैले घर बनाएर होटल चलाउन थालेको हो।
घरमा को को हुनुहुन्छ?
यहाँ त जेठो छोरा बुहारी र म छु। कान्छो छोरा बुहारी विदेश छन्।
होटल कस्तो चलेको छ?
होटल सुरू गरेको १ वर्ष भयो, ठिकै चलेको छ। यो शाकाहारी होटल हो। माछामासु खानेहरू यहाँ आउँदैनन्। माछामासु नखानेहरू कम हुन्छन्।
दिन कटाउन मनोरञ्जनका लागि के गर्न मन लाग्छ तपाईंलाई?
मलाई त आध्यामिक क्षेत्र मन पर्छ। मैले वैष्णव धर्म मान्छु। मठमन्दिरमा जाने भजनकीर्तन गर्ने। धार्मिक स्थलहरूको दर्शन गर्ने त्यसैमा रमाईलो लाग्छ।
सबभन्दा मन पर्ने खाने कुरा के हो नि ?
शाकाहारी मान्छेलाई मिठो लाग्ने गुलियो हो तर खान हुँदैन भन्छन्।
बिरामी हुनुहुन्छ र?
स्वास्थ्य त्यति राम्रो छैन। सुगर, प्रेसर थाइराइड, एलर्जी सबै छ। २२ वर्षजति भयो सुगरको औषधी खान थालेको। प्रेसर र थाइराइड भएको पनि ६/७ वर्ष हुन थाल्यो।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
सुगर अलि बढ्यो भने निद्रा नै लाग्दैन। नशाको समस्या पनि छ त्यसको औषधी खाँदा राम्रो निद्रा लाग्छ, खाइनँ भने लाग्दैन।
निद्रा नलाग्दा मनमा के कुरा खेल्छन्?
मनमा कुरा खेल्न पाउँदैनन्। राती निद्रा लागेन भने उठेर माला जप्छु। रात बितिहाल्छ।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभयो?
खुसी र दु:खी हुने भन्ने रोग लागेजस्तै रहेछ। रोग कहिले निको हुन्छ कहिले बल्झिन्छ। त्यस्तै कहिले खुसी भइन्छ कहिले दु:खी भइन्छ। यतिबेला नै धेरै खुसी भएँ भन्ने सम्झना त छैन। सधैँ खुसी सधैँ दुखी त्यस्तै हो।
सबैभन्दा धेरै दुःख कहिले लागेको नि?
श्रीमान बित्दा धेरै दु:ख लागेको थियो। साथीभाइ मिलेर नेपाल र भारतका धार्मिक यात्रामा गएका थियौं। पहिले जनकपुर गयौं त्यहाँबाट अयोध्या जाँदै थियौं। अयोध्यामा पुगेपछि हामी सबै रेलबाट झर्यौं। श्रीमान सबैभन्दा पछाडि हुनुहुन्थ्यो उहाँ झर्न नपाउँदै रेल चल्यो। रातभरी त्यतिकै भयो। भोलिपल्ट खोजी गर्दै जाँदा उहांँ त्यहि स्टेशनमा दुर्घटनामा पर्नुभएछ। ढोकामा उभिएको बेला खस्नुभयो जस्तो लाग्छ। जीवनमा सबैभन्दा दु:ख लागेको त्यही बेला थियो।
तपाईंको मनमा कुनै पीर छ वा पिरोलिरहेको केही कुरा छ, जुन यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने?
त्यो यात्रामा नगएको भए त्यस्तो दुर्घटना हुने थिएन । उहाँ बित्नुहुने थिएन की भन्ने लागिरहन्छ। तर जन्म र मृत्यु आफ्नो वशमा हुँदैनन्। जन्म लिएपछि कहिले, कहाँ र कसरी मृत्यु हुने भन्ने लेखिएरै आउँछ भन्छन्। उहाँको मृत्यु पनि अयोध्यामै हुनु थियो भयो। घटना घटेकै १७/१८ वर्ष भयो। अलि छिटो बित्नुभयो भन्ने हो नत्र त्यति ठूलो धार्मिक क्षेत्र दर्शन गर्न भनेर जाँदै थियौं, त्यहीँ मृत्यु हुनु भनेको सौभाग्यको कुरा पनि हो भन्ने लाग्छ।
ठिक्क पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने केही छ?
त्यस्तो किन्नुपर्ने केही छैन। आफ्नो लगाउने खाने उमेर गइसक्यो।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
टोलसमाज ठिक छ। पहिले शिवपुरगढीमा लामो समय बस्यौं त्यहाँ पनि राम्रो थियो। अहिले यहाँ पनि राम्रो छ।
टोल समाजको सबैभन्दा मन पर्ने कुरा के हो?
परेको बेला एकअर्कालाई सहयोग गर्ने कुरा नै मन पर्छ।
टोलसमाजको सुधार गर्नुपर्ने कुरा केही छ?
अरू त सबै राम्रो छ। गाउँटोलमा सबै मांशाहारी हुंदैनन्। मलाई भने पशुपंक्षी बध गरेको दृश्यहरू देख्न नपरे हुन्थ्यो भन्ने लाग्छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
त्यो कुरा त राजनिति गर्नेहरूलाई थाहा होला, राम्रो चलेको छ कि छैन भन्ने कुरा। मलाई भने खासै राम्रो गरेका छन् भन्ने लाग्दैन।
तपाईंलाई नेपालको नेतामा सबैभन्दा को मन पर्छ?
मैले नेताहरू त्यति चिन्दिन। टेलिभिजनमा समाचार पनि हेर्दिन। फुर्सद भयो भने भजनकीर्तन हेर्छु नेता चिन्दिन।
चुनावमा भोट हाल्नुभएको छ?
भोट त हालेकी छु। मतदाता नामावली पनि यहीँ छ।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
यसअघि सधै रूखमा भोट हाल्थ्यौं गएको चुनावमा भने गाईलाई भोट हालेको हो। धर्मको रक्षा राप्रपाले गर्छ भनेर उसैलाई दिएको हो।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
पछिको कुरा त अहिले कहाँ भन्न सकिन्छ र। जसले राम्रो मान्छे उठाउँछ उसैलाई भोट दिने हो।
सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले बाटो घाटो समयमा बनाइदिएहुन्थ्यो। गाउँगाउँमा धर्म परिवर्तन भइरहेको छ त्यसलाई कडाइ गर्नुपर्छ।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्