लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाई गाउँकी ४५ वर्षीया बसुन्धरा राना बदाम लगाउन खेतमा जाने तयारीमा थिइन्। उनको गाउँमा बदाम खेतीको राम्रो सम्भावना छ। यहाँका किसान अहिले खेती गरेर हिउँदमा बिक्री गर्छन्। कृषि कर्म गरेर परिवारको चलाइरहेकी बसुन्धरासँग गरेको कुराकानी :
के काम गर्नुहुन्छ?
घरको र खेतीपातीको काम गर्छु। १०/१७ कठ्ठा जमिन छ। त्यसैमा छ खेती। श्रीमानले ट्याक्टर चलाउने काम गर्छन्।
कति जनाको परिवार छ?
चार जना छौं। एक छोरा र एक छोरी, दुई हामी बुढाबुढी।
छोरा र छोरीले के काम गर्छन्?
२० वर्षको छोरा पढाइ छोडेर पैसा कमाउन भारत गयो। पढ्न मन गरेन। त्यहाँ गएर उसलाई चोट लागेको खबरले मन साह्रै रोएको छ। के कारणले चोट लगायो पनि भनेको छैन। छोरी ११ वर्षकी छ, पाँच कक्षामा पढ्छ।
छोराछोरीबाट कतिको सुख पाउनुभएको छ?
बच्चाहरू सानै छन्। के सुखको आस गर्नु। छोरा पढेको भए धेरै राम्रो मान्थेँ तर पढेन। छोरी पढिरहेकी छ, उसले कतिसम्म पढ्ने हो थाहा छैन। छोराले पढाइ छोडेर भारत जानुपर्यो। छोरीले भने धेरै पढोस्, जागिर गरोस् भन्ने चाहना छ।
तपाईंलाई आफ्नो बाल्यकालको के कुरा सम्झना छ?
धेरै ठूलो परिवार थियो। पढाउन सकेनन्। पाँच कक्षा मात्र पढेँ। पछि पढ्न पाइनँ। पढेको भए राम्रो हुन्थ्यो। जागिर गर्थेँ। यसरी घरको काम मात्रै गर्नुपर्दैन थियो भन्ने कुरा सोचिरहन्छु आजकाल।
जिन्दगीमा सबैभन्दा बढी खुसी के कारणले कहिले हुनुभएको छ?
खुसीको बारेमा त थाहा छैन। २० वर्षअघि छोरा जन्माउँदा राम्रो लागेको थियो।
सबैभन्दा बढी के खानेकुरा मन पर्छ?
सागसब्जी खान राम्रो लाग्छ। मासु त खाँदिनँ। पतौलाको साग धेरै मनपर्छ। दुई दिन अघि खाएकी थिएँ।
मन परेको चिज खान कतिको पाइन्छ?
आफै पकाएर खान्छु सागपात त हो खेतबारीमै हुन्छ।
मनोरञ्जनका लागि के गर्न मन पर्छ?
मलाई साथीभाइसँग कुराकानी/ गफगाफ गर्न मन पर्छ। साथीभाइसँग गफगाफ गर्दा धेरै आनन्द हुन्छ नि। काम गरिसकेपछि हामी साथीभाइ बस्छौं।
ठिकठिकै पैसाको के किन्न मन छ?
तिलहरी किन्न मन छ तर पैसा छैन।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
मेरो शरीरमा रगतको कमी छ। त्यही कारणले धेरै बिरामी हुन्छु। प्रत्येक साल धनगढी गएर शरीरमा रगत चढाउँछु। पैसा पनि धेरै लाग्छ।
कति पैसा खर्च हुन्छ?
एकचोटि जाँदा दुई हजारभन्दा बढी हुन्छ।
निद्रा लाग्छ?
निद्रा ठिकै लाग्छ तर अस्ति गाउँमा एक दुखद घटना भयो। त्यही कारणले निद्रा पातलो भएको छ अहिले। उसरी अरूबेला त निद्रा लागिरहन्छ। पहिला पनि लाग्थ्यो। अहिले नि लाग्छ।
तपाईंको परिवारमा मेलमिलाप कतिको छ?
परिवारमा त सबैसँग मेलमिलाप राम्रै छ। मनमुटाव त्यस्तो केही छैन हामी सबै मिलेर बस्छौं, काम गर्छाैं।
तपाईंको मनमा गडिरहेको कुरा केही छ कि?
मेरो आफ्नो राम्रो घर छैन। राम्रो घर बनाउन पाएको भए हुन्थ्यो। मेरो कच्ची घर छ। सानो पक्की घर बनाउन पाएको भए हुन्थ्यो लाग्छ।
तपाईंलाई गाउँ, समाज कस्तो लाग्छ?
राम्रो लाग्छ। हामी त मिलेर बस्छौं। जे काम गर्दा पनि गाउँलेसँग मिलेर गर्छाैं। कसैलाई केही समस्या आपतविपत पर्दा एकले अर्काेलाई सहयोग गर्छौं। हाम्रो गाउँ राम्रो लाग्छ। सुन्दर, रमाइलो छ। तर, कहिलेकाहीँ जंगली हात्ती गाउँमा आउँछन्। त्यही कारणले अलि डर पनि लाग्छ।
देशको नेता को मन पर्छन्?
म नेताहरूलाई चिन्दैन। नचिनेपछि कसलाई मन पराउने?
गएको चुनावमा कसलाई भोट दिनुभएको छ?
एमालेका तारा लामा तामाङलाई।
हाम्रो त भोट हाल्दा गाउँमा सल्लाह हुन्छ। सबैले उनैलाई दिने सल्लाह गरे। मैले उनैलाई दिएँ।
आगामी दिनमा कसलाई भोट दिने?
अहिलेसम्म एमालेलाई दियौँ, काम राम्रो गरे अर्काे चुनावमा पनि भोट दिन्छौँ। नत्र त अरू कोही राम्रा उम्मेदवार हेरेर दिन्छौं।
सरकारले के काम गरेको भए हुन्थ्यो भन्ने लाग्छ?
हाम्रो गाउँमा धेरै समस्या छन्। नदीमा बाढी आउँछ, जंगली हात्तीको डर छ। बाटो राम्रो छैन, बत्ती छैन, रोजगार छैन। अस्पतालको पनि समस्या छ। त्यही कारण यी समस्या हटाउन सरकारले काम गर्नुपर्छ। हाम्रो दुःख हटाउने काम गर्नुपर्छ सरकारले।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्