लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बुटवलको संगमपथमा रहेको एउटा फेन्सी पसलमा आगो लागेको तीन महिना पूरा भयो। पसल थियो बुटवलकै बासिन्दा शंकर ज्ञवालीको। गत असार २१ गते राति विद्युत सर्ट भएर आगलागी हुँदा पसल जलेर खरानी भयो। केही दिनअघि बिहानै म पुग्दा उनी आगोले खरानी बनेको पसलबाहिर बसेका थिए। उनी बीमा भुक्तानीको प्रतीक्षामा छन्।
उनीसँग गरिएको कुराकानी :
के छ तपाईंको हालखबर?
हालखबर के छ भन्नु! पसलमा आगो लागेर यस्तो हालत छ। तीन महिना भइसक्यो अझै चलाउन सकेको छैन। बीमा कम्पनीले प्रक्रिया पूरा हुँदै छ भनेको हुनाले खरानी फाल्न पनि पाएको छैन।
आगलागीबाट कति क्षति भयो?
थोक पसल हो, गोदाममा धेरै कपडा थियो। सबै जलेर खरानी भयो। आगो राति लागेको हुनाले एउटा पनि जोगाउन सकिएन। सवा एक करोड (रूपैयाँ) भन्दा बढिको क्षति भयो होला, ८५ लाखको बीमा गरेको थिएँ।
बीमाबाट पैसा आएपछि पसल नै गर्नुहुन्छ कि अरू केही?
पसल नै गर्ने हो नि! समस्या भयो भनेर भाग्नु भएन। बीमाले चाँडै पैसा दिए चाडवाडमा व्यापार हुन्थ्यो भन्ने हो।
व्यापार कस्तो चलेको थियो?
अहिलेको माहोलमा सबैभन्दा बिग्रिएको भनेकै व्यापार हो। पहिलेको तुलनामा आधा पनि व्यापार थिएन तैपनि ठिकै थियो। आगलागी भएपछि तीन महिनादेखि व्यापार गर्न पाएको को छैन।
दिनमा कतिको कारोबार हुन्थ्यो?
थोक पसल भएकोले अरू जिल्लाका व्यापारीहरूले पनि सामान लैजानुहुन्थ्यो। कहिले त दिनमै आठ–दस लाख (रूपैयाँ) को पनि कारोबार हुन्थ्यो। अब त त्यतिको कारोबार गर्न धेरै कुर्नुपर्छ।
यहाँबाट कहाँसम्मका व्यापारीले लैजान्छन् सामान?
गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, दाङसम्म जान्छ।
तपाईंको पसलबाट सामान लैजाने व्यापारी कति छन्?
नियमित रूपमा लैजाने ७५ जना जति व्यापारी हुनुहुन्छ। अलिअलि फुटकर पनि बिक्री हुन्थ्यो।
पसल कहिले सुरू गर्नुभएको थियो?
यो पसल सुरू गरेको २०७१ सालमा हो, १० वर्ष पुग्यो। त्यसअघि १० वर्षजति अरू नै व्यापार गरें।
के व्यापार गर्नुभयो?
मैले २०६१ सालमा व्यापार सुरू गरेको हुँ। सुरूमा बेलहिया भन्सार नजिकै कपडा पसल गरेको थिएँ। राम्रो व्यापार हुन्थ्यो। दिनमा ४०–५० हजार रूपैयाँको व्यापार हुन्थ्यो। सिजनमा त एक लाखसम्मको व्यापार हुन्थ्यो।
साढे तीन वर्षमा बेलहियामा कमाएको पैसाले बुटवलमा एउटा घडेरी किनेको थिएँ। बेलहियाको माहोल त्यति राम्रो नलागेपछि २०६४ सालमा बुटवल फर्किएर अमरपथमा मोबाइल (फोन) पसल सुरू गरें। मोबाइल प्रयोग व्यापक भइरहेको समय थियो। त्यसबाट पनि राम्रो आम्दानी भयो। त्यसकै आम्दानीले घर बनाएँ। त्यसपछि २०७१ सालमा यहाँ फेन्सी पसल सुरू गरेको हो।
बेलहियामा व्यापार सुरू गर्नुअघि कहाँ हुनुहुन्थ्यो?
म गुल्मी दिगाममा जन्मिएको हुँ तर भारतमा हुर्किएँ। म तीन वर्षको हुँदा बुबाआमाले भारतको आसाम मेघालय लैजानुभयो, २४ वर्ष उतै बसें। बुबाआमाले ४० वटा जर्सी गाई पाल्नुभएको थियो। मैले पनि त्यहीँ काम गर्दै उतै पढें।
२०६० सालमा नेपाल आएर व्यापार सुरू गरेको हुँ। अहिले हामी यहाँ (बुटवलमा) बस्छौं। बुबाआमा गुल्मी दिगाममा हुनुहुन्छ।
परिवारमा कोको हुनुहुन्छ?
पहाडमा बुबाआमा हुनुहुन्छ। यहाँ हामी श्रीमान्–श्रीमती र दुई छोराछोरी छौं।
छोराछोरी के गर्दै छन्?
उनीहरू पढ्दै छन्। छोरो ब्याचलर (स्नातक तह) पढ्दै छ। छोरीले भर्खर १२ पास गरिन्। उनीहरू पढाइमा छन्। आफ्नो भविष्य राम्रो बनाउलान् भन्ने आशा छ।
तपाईं व्यापारबाहेक अरू के गर्न मन पराउनु हुन्छ?
अरू काम गर्ने फुर्सद नै हुँदैन। हप्तामा एक दिन सोमबार पसल बन्द हुन्छ। त्यस दिन उधारो उठाउनमै व्यस्त हुन्छु। अरू कामका लागि समय नै हुँदैन।
कहिलेकाहीँ त मनोरञ्जन पनि गर्नुहुन्छ होला नि?
अहिलेको मन्दीले मनोरञ्जन गर्ने माहोल नै छैन। गएको वर्षसम्म साथीहरू मिलेर घुमफिर गरिन्थ्यो। हामी पाँचजना साथीहरूको समूह छ। वर्षमा एकपटक परिवारसहित घुम्न जान्थ्यौं। पोखरा, घलेगाउँ, घान्द्रूक, मनकामना, स्वर्गद्वारी गइसकेका छौं। यो वर्ष जान पाइएन।
तपाईंलाई खानामा सबैभन्दा बढी मन पर्ने के हो?
सानैदेखि गाईको फार्ममा हुर्किएर होला, मलाई सबैभन्दा मनपर्ने दुधदही नै हो। दुधदही भएन भने भात, रोटी केही पनि खान सक्दिनँ। खानामा दुधदही नभई हुँदैन।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
औषधि नै खानुपर्ने गरी स्वास्थ्यमा अहिलेसम्म कुनै समस्या देखिएको छैन।
निद्रा कत्तिको लाग्छ?
दिनभरिको थकान हुन्छ, निद्रा त राम्रै लाग्छ।
तपाईंलाई ठिक्क पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने के छ?
थियो नि किन्ने सपना त! तर अब त सपना देख्न पनि छोडें।
त्यस्तो के सपना थियो?
आफैले किनेको चारपांग्रे गाडी चढ्ने ठूलो सपना थियो। अब त्यो सपना पूरा होला भन्ने आशा हरायो। छोराछोरीले कमाएर किनेछन् भने चढाउलान्।
तपाईं कहिले सबैभन्दा धेरै खुसी हुनुभएको थियो?
सधैंभरि सम्झिने गरी खुसी भएको त थाहा छैन। काम गरेपछि सामान्य प्रगति आफै भइहाल्छ भनेर बुझ्छु। छोराछोरी सानैदेखि पढाइमा राम्रा थिए। अहिलेसम्म राम्रै अंक ल्याएर पास हुँदै छन्। मान्छेले आफू बाँच्नलाई कर्म गर्छ। व्यापार गर्नु, घरघडेरी जोड्नु सबै सामान्य हो।
सबैभन्दा धेरै दुःखी कहिले हुनुभयो?
आफूले संघर्ष गरेर सुरू गरेको पसल खरानी हुँदा सबैभन्दा धेरै दुःखी भएको छु। गएको असार २१ गते अचानक पसलमा आगलागी भयो। राति नै पसलमा आइपुग्दा सबै खरानी भइसकेको थियो।
एक करोड (रूपैयाँ) भन्दा बढीको सामान खरानी हुँदा मेरो मन पनि खरानी जस्तै भयो।
तपाईंको मनमा बसिरहेको कुनै पिर पनि छ कि?
पहिले त कुनै पिर थिएन। अहिले यही आगलागीले पिर भएको छ। यस्तो घटना नभएको भए चाडपर्वमा राम्रो व्यापार हुन्थ्यो भन्ने लाग्छ। सटरभित्र खरानीको थुप्रो छ तर पनि बिहान उठेर यही आउँछु। आगलागी भएपछि पनि हरेक दिन आएको छु। घर बस्न मन नै मान्दैन।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
टोलसमाज त धेरै राम्रो छ। म आफै पनि ‘लक्ष्मीनगर विकास केन्द्र’ को सञ्चालक समितिमा छु। टोलसमाजमा सबै मिलेर बसेका छौं।
तपाईंको टोलसमाजको सबैभन्दा राम्रो पक्ष के हो पर्छ?
दुःखमा परेकालाई सहयोग गर्ने एकता नै सबैभन्दा बढी मन पर्छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ? ठिक ढंगले चलेको छ?
राजनीतिको त कुरै नगर्नुहोस्! नेपालको इतिहासमा अहिलेको जस्तो भद्रगोल राजनीति कहिल्यै पनि थिएन। हुन त म पनि नेपाली कांग्रेसको बुटवल नगर सदस्य हुँ तर राजनीति यस्तो भद्रगोल होला भन्ने कल्पना पनि थिएन।
नेपालका राजनीतिक पार्टीहरू यसरी निकम्मा होलान्, देशलाई यस्तो अवस्थामा पुर्याउलान् भन्ने लागेकै थिएन। म राजनीतिक दलमा छु भनेर परिचय दिन पनि लाज लाग्ने अवस्था आयो।
तपाईं आफै पनि नगरसमितिमा हुनुहुँदो रहेछ। राजनीतिको मुख्य जग त वडा र नगर कमिटी नै हुन्, किन सुधार नभएको होला?
नगरका सदस्यहरूको कुरा कहाँ सुन्छन् र! वडा, नगर, क्षेत्र, जिल्ला, प्रदेश, केन्द्र जुन कमिटी भने पनि सदस्यहरूका कुरा सुन्दैनन्। वडा र नगरकमिटीका कुरा माथिल्ला कमिटीले सुन्दैनन्।
तपाईंलाई नेपालको मन पर्ने नेता को हो?
म नेपाली कांग्रेस भएकै बीपी कोइरालाको मेलमिलापको नीति र सिद्धान्त सुनेर, बुझेर हो। बीपीपछि कृष्णप्रसाद भट्टराई मन पर्नुहुन्थ्यो। त्यसपछि त मन पर्ने नेता को नै छ र!
युवा नेता भन्नेहरू पनि उस्तै निस्किए। गगन थापा र विश्वप्रकाश शर्माको केही आशा थियो, उनीहरू पनि केके काण्डमा मुछिए भन्दै मिडियामा आउँछ।
आफ्नो जिल्लाका नेता भनेर होइन, गुल्मीका चन्द्र भण्डारीले केही गर्छन् कि भन्ने आशा छ तर उनी पदमा पुग्न नै पाउँदैनन्। पदमा पुग्नलाई एउटा गुट समात्नुपर्ने रहेछ। उनले गुट समात्न जानेनन्, पछि परिरहे।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
नेपाली कांग्रेसको नगर कमिटी सदस्य भएपछि पार्टीभन्दा बाहिर जान सकिएन। नुन खाएपछि नुनको सोझो गर्नुपर्ने रहेछ! कुनै पनि पार्टीमा नबसेर स्वतन्त्र नागरिक हुने हो भने भोट जसलाई दिए पनि हुन्छ।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
पार्टीमा रहुन्जेल पार्टीले जसलाई उठाउँछ उसैलाई भोट दिने बाध्यता हुन्छ। पार्टीमा बसेर विद्रोह गर्न सकिन्नँ। पार्टी छोडेर पनि जान सकिएको छैन।
अहिले त तपाईंको पार्टी पनि सरकारमा छ, सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सबै जनताले काम गरेर खान पाउने वातावरण मिलाइदिए पुग्छ।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्