लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
रूपन्देहीको तिलोत्तमा नगरपालिका, जानकीनगरकी जयन्ती आचार्य बुटवलको कालिकानगरमा रङको पसल चलाउँछिन्, घरमा लगाउने रङ। केही दिनअघि मैले भेट्दा उनी पसलमा कारोबारको हिसाब हेर्दै थिइन्।
उनै जयन्तीसँग गरेको कुराकानी :
अहिले पेन्ट्स (रङ) को व्यापार कस्तो छ?
अहिले त व्यापार नै छैन भने पनि हुन्छ। नयाँ घर बनेका छैनन्। पुराना घरमा एकपटक कलर (रङ) लगाएपछि चारपाँच वर्षलाई भइहाल्छ।
नयाँ घर निर्माण हुने क्रम नबढ्दासम्म हाम्रो व्यापार पनि यस्तै हो, धेरै हुँदैन। पसल भएपछि घरमा बस्न पनि मन लाग्दैन। आउने, सटर खोल्ने र बस्ने काम मात्रै भएको छ। बिहान १० बजेदेखि साँझ ६ बजेसम्म पसलमै बस्छु।
यस्तो पसल गरेको कति वर्ष भयो?
यो पसल सुरू गरेको त २० वर्षभन्दा बढी भइसक्यो। हाम्रो पुर्ख्यौली घर गुल्मीको दिगाम हो। दिगामबाट बुटवल आएपछि यही पसल सुरू गरेका हौं।
दिनमा कति व्यापार हुन्छ?
यति नै भन्ने हुँदैन। कहिले दिनमै एकडेढ लाख (रूपैयाँ) को पनि हुन्छ, कहिले दिनभरि शून्य।
व्यापारबाहेक तपाईंलाई के गर्न मन लाग्छ?
कहिलेकाहीं घुमफिर गर्न मन लाग्छ तर पसल शनिबार मात्र बन्द हुन्छ। मौका पारेर कहिलेकाहीं घुम्न जान्छौं।
व्यापारकै सिलसिलामा गत वर्ष जापान गएका थियौं। कहिले भारत जान्छौं। नेपालमा पोखरा, मनकामना, चितवन, काठमाडौं, इलाम र अरू थुप्रै ठाउँ घुमिसकेका छौं।
तपाईंलाई खानामा बढी मन पर्ने के हो?
म शाकाहारी हुँ। दालभात, तरकारी, परौठा, पुरीतरकारी यस्तै मन पर्छ। होटलमा गएर खासै खाइँदैन।
घरमा कोको हुनुहुन्छ?
हामी श्रीमान्–श्रीमती र दुईजना छोरा, जम्मा चार जना छौं।
छोराहरूले कत्तिको सुख दिएका छन्?
अहिलेको जमानामा छोराछोरीले कहाँ सुख दिन्छन् र! बरू बाबुआमाले नै छोराछोरीलाई कसरी सुख दिन सकिन्छ भनेर सोच्नुपर्ने रहेछ।
अहिले त उनीहरू पढ्दै छन्। ठूलो छोरो आइटी पढ्दै छ। कान्छो छोरो ब्याचलर (स्नातक) पढ्दै छ। आफ्नो समयमा सुख नै देलान् भनेर आशा गर्ने हो।
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिलेसम्म नियमित औषधि खाने कुनै बिमार छैन। त्यस्तो बिमार नहोस् पनि।
तपाईंको निद्रा कस्तो छ?
निद्रा त राम्रै लाग्छ। दिनभरि पसलमा बस्नुपर्छ, थकाइ लाग्छ। राति भुसुक्क निदाइहाल्छु।
ठिक्क पैसा पर्ने क के किन्न मन् छ?
दसैंतिहारमा अलिअलि लत्ताकपडा किन्नुपर्ला भन्ने छ। यस्तो किन्न पाए हुन्थ्यो भन्ने केही पनि छैन। आवश्यक भएको चिज जहिले पनि किनिन्छ। दुईचार हजार रूपैयाँ भएन भनेर मन मारेर बस्नु परेको छैन।
तपाईं कहिले सबैभन्दा धेरै खुसी हुनुभयो?
धेरै खुसी त कहिले भइयो होला र! छोराहरूले राम्रो पढेर पास हुँदा खुसी भएँ।
सबैभन्दा धेरै दुःखी कहिले हुनुभयो?
सबैभन्दा धेरै दुःखी त बुबाआमा बित्दा भएँ। डेढ वर्षको अन्तरमा बुबाआमा नै बित्नुभयो। आमा ६३ वर्षको उमेरमा क्यान्सरबाट बित्नुभयो। आमा बितेको डेढ वर्षपछि बुबा पनि बित्नुभयो, ७३ वर्षको उमेरमा। उहाँहरू नभएको पनि २० वर्ष भयो।
यस्तो नभएको भए हुन्थ्यो भन्ने कुनै पिर पनि छ कि तपाईंको मनमा?
आमालाई क्यान्सर जस्तो घातक रोग नलागेको भए अहिलेसम्म पनि जीवित रहनुहुने थियो भन्ने लाग्छ। चाडपर्वहरूमा आफन्तहरू सबै जमघट हुँदा आमाको अभाव खड्किरहन्छ।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
हाम्रो टोलसमाज राम्रो छ। पहिले यहीं, कालिकानगरमा बस्थ्यौं; जानकीनगरमा घर बनाएर बसेको एक वर्ष भयो। दुबैतर्फको टोलसमाज राम्रो छ। छिट्टै घुलमिल हुन सकिएको छ।
टोल समाजको मन पर्ने कुरा के हो?
कसैको घरमा केही कार्यक्रम, विवाह ब्रतबन्ध, पूजापाठ हुँदा सबै एकजुट हुन्छौं। त्यो राम्रो छ।
टोल समाजको सुधार गर्नुपर्ने केही छ कि?
सबै राम्रो छ। सुधार नै गर्नुपर्छ भन्ने त केही पनि देख्दिनँ।
तपाईंलाई आफ्नो देशको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ?
सबैभन्दा नराम्रो लाग्ने नै राजनीति हो। राजनीति राम्रो भइदिएको भए नेपालका यति धेरै युवाहरू काम खोज्दै विदेश थिएनन्। दुःख गरेर, खर्च गरेर पढ्यो; नेपालमा काम पाइँदैन अनि छोराछोरी विदेश पठायो!
सबै माहोल बिग्रेको राजनीति खराब भएर त हो नि! कारोबार गर्ने मान्छेलाई पनि गाह्रो छ। जता गए पनि करमात्रै तिर्नुपर्छ, सरकारबाट सुविधा पाउने केही छैन।
तपाईंलाई नेपालका नेतामा को मन पर्छ?
मन पर्ने नेता नै कोही पनि छैन। अहिलेसम्मका कुनै पनि नेता मन परेको छैन। पुराना नेताहरूमा बीपी कोइराला ठिक थिए। त्यसपछिका सबै उस्तै हुन्, काम नलाग्ने।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
भोट त एमालेलाई दिएको हो।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
अब त कसलाई दिने भनेर सोच्नुपर्ने हुन्छ। चुनाव आएपछि विचार गरौंला।
यति बेला सरकारले के गरिदिएहुन्थ्यो भन्ने लाग्छ?
सरकारले त जनतालाई सुविधा हुने खालको काम गर्नुपर्छ। बाटोघाटो जताततै नाजुक छ। बुटवलको एउटा बाटो अलिक राम्रो छ। बुटवलबाट काठमाडौं जान ज्यान हत्केलामा राख्नुपर्छ।
जनतालाई सास्ती भएको छ। सरकारले जनताको सास्ती हटाउनुपर्छ। देशमा रोजगारी बढाउनुपर्छ।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्