लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
दाङको शान्तिनगर गाउँपालिका–२, पेदास्थित एउटा स्कुलको नजिकै रूखमुनि शीतलमा बसेका भेटिए ६७ वर्षीय हरिबहादुर वली। उनको घर त्यहाँबाट करिब एक किलोमिटर पर छोटे गाउँमा हो। उनलाई मैले पत्रिकाका लागि अन्तर्वार्ता गर्न चाहेको बताएँ। उनी खुसीसाथ कुरा गर्न तयार भए।
उनले आफ्नो जीवनका अनेक उतारचढाव, घरव्यवार र अनुभवको कुरा दिल खोलेर सुनाए।
तपाईं के काम गर्नुहुन्छ?
आजकल त खासै केही गर्दिनँ भने पनि हुन्छ। गाउँघर डुल्यो, साथीभाइसँग गफ गर्दै रमायो, यस्तै हो।
घरमा कोको हुनुहुन्छ?
बुढी (श्रीमती) र म मात्रै छौं। बुढी ७० वर्षकी भई। मभन्दा जेठी छे। हाम्रा दुई छोरा छुट्टीभिन्न भइसके। जेठो छोरो गाउँघरमै छ, खेतीपाती गर्छ। कान्छोको परिवार कोहलपुरमा छ। कान्छाले उतै घर बनाएको छ। कान्छो पहिले दक्षिण अफ्रिका गएको थियो। अहिले इराकमा छ। हाम्री छोरी पनि कुबेतमा छे, दस वर्ष भयो।
तपाईंको पहाडघर कहाँ हो?
रूकुमको पेउघा जिउला हो। म २०३७ सालमा २३ वर्षको उमेर छँदा श्रीमती, एक छोरो र एक छोरी च्यापेर दाङ झरेको हुँ। साथमा जम्मा १३ हजार रूपैयाँ थियो। उतिखेर पैदल हिँड्नुपर्थ्यो। बाटोमा बास बस्दै चार दिनमा दाङ आइपुगेका थियौं।
हामी पाँच दाजुभाइ थियौं। जग्गा जमिन थोरै थियो, उब्जनी पनि नहुने। त्यही भएर दाङ झर्ने निधो गरेको थिएँ।
दाङ आएर के गर्नुभयो?
यहीँ शान्तिनगरको दुई नम्बर वडाको पेदामा १३ हजारले १३ कट्ठा जग्गा किनेँ। त्यसैमा एउटा घर बनाएँ। गाईभैंसी पालेँ, खेती गरेँ। उतिखेर गाईभैंसी पाल्ने चलन थियो। जसको घरमा धेरै गाइभैंसी हुन्थे, उही धनी कहलिन्थ्यो।
हामी पेदा गाउँमा २० वर्ष बसेर २०५२ सालमा वडाभित्रै केही पश्चिम छोटे गाउँमा बसाइ सर्यौं।
पेदा छोडेर किन छोटे जानुभयो?
पेदाको जग्गा कट्ठाको दस हजार (रूपैयाँ) का दरले बिक्यो। छोटेमा आठ हजारका दरले जग्गा मिल्यो। केही सस्तोमा पाएपछि १६ कट्ठा जग्गा किनेँ। थोरै बढी जग्गाको लोभले सरेका थियौं।
तपाईंले कति पढ्नुभयो?
रूकुमको भमकेमा एउटा स्कुलमा थियो, जम्मा पाँच कक्षासम्म पढेँ।
थप किन पढ्नुभएन?
आमाको मृत्यु भयो। बुबाले कान्छीआमा ल्याउनुभयो। धेरै पढ्ने इच्छा थियो तर कान्छीआमा आएपछि खलबलियो।
आर्थिक अवस्था पनि कमजोर थियो। चाहेर पनि पढ्ने वातावरण भएन। सानैदेखि मेलापात जानुपर्ने, घरगृहस्थीमा लाग्नुपर्ने बाध्यता थियो।
रूकुममा हुँदाको रमाइलो सम्झना के छ?
रातभर केटाकेटीका बीचमा दोहरीगीत गाउने चलन थियो। त्यसरी गाउनुलाई ‘छोरेट्टी बस्ने’ भन्थे। खासमा छोरेट्टी भनेको केटी हो। गाउँघरमा जहाँ राम्रा छोरेट्टी हुन्थे, त्यहीँ गएर गाइन्थ्यो।
उतिखेर कक्कड खाने चलन थियो। केटीले पनि मन परेको केटालाई कक्कड दिन्थे। रातभर गीत गाएर बिहान फर्किने बेलामा पनि एक डेढ माना कक्कड दिन्थे केटीले। केटीले कक्कड दिनुको ठूलो महत्त्व थियो। त्यसले मनपराई, अब मायापिरती पक्का भयो भन्ने अर्थ हुन्थ्यो।
केटाकेटीका बीचमा भुला, छड्के र रूमाल दिने चलन थियो। यस्ता चिज दिएपछि केटीले स्वीकार गरेको पक्का हुन्थ्यो।
छोरेट्टी बस्न राति केटीका घरमा पुग्दा उनीहरूका अभिभावकले केही भन्दैन थिए?
त्यतिखेर अहिले जस्तो बदमासी हुँदैन थियो। एउटा कोठाभित्र भए पनि अलग्ग बसेर गीतबाट सवालजबाफ चल्थ्यो। बरू बाबुआमाले नै छोरीचेली बोलाइदिन्थे, सुतेका भए उठाइदिन्थे।
उतिखेरको कुनै गीत सम्झना छ?
छ नि! हामी दुई-चार जना मिलेर केटीको घरमा पुग्थ्यौं। केटी घरभित्रै हुन्थे। सुतेको बहाना गर्थे तर पहिल्यै ठेगान भएको हुन्थ्यो। हामी छोरेट्टा (केटा) उनीहरूको घर पुगेपछि पहिला गीत सुरू गर्थ्यौं–
भित्र बाहिर पोतेको ओटी (बैठक) ओबाएको
तिमीबिना म एक्लै कसरी बसूँ बिना स्वहाएको...
यति सुनेपछि उनीहरूका बाबुआमा भनिहाल्थे – ए, लखेनी (छोरीहरू) उठ; ज्वाइँ, भान्जा, भाइ आउनुभएको छ; गीत गाइदेओ।
निकै रमाइलो हुन्थ्यो। रातभर अनिदै बसेर गीत गाउँथ्यौं। बिहान फेरि मेला (काममा) गइन्थ्यो। त्यस्तै गर्दा गर्दै मेरो बिहे भएको हो।
दाङ आएपछि त्यस्तो नाचगान भयो कि भएन?
दाङका गाउँघरमा रूकुमको जस्तो रमाइलो थिएन। सार्वजनिक रूपमा मात्रै नाचगान हुन्थ्यो। आजकाल पनि चाडपर्वमा नाचगान र रमाइलो हुन्छ। हामी आफ्नो मौलिक कला सिकाउँदै छौं।
अहिले दसैंतिहारका लागि मयुरनाचको तालिम हुँदैछ। अहिले नौ जना केटा र नौ जना केटीलाई नाच सिकाउँदै छौं।
जवानीमा अरू केके काम गर्नुभयो?
ओहो! मैले नगरेको काम केही पनि छैन। दाङ आएपछि म तीन वर्ष इन्डिया (भारत) बसेँ। बम्बई हाइकोर्टमा सेक्युरिटी गार्डको हेड थिएँ। म टाठोबाठो थिएँ, ३१ जनाको हेड भएको थिएँ। उतिबेलै मेरो तलब सोह्र सय भारू थियो।
तीन वर्षपछि तमिलनाडु अदालतमा सरूवा गरेको थियो। त्योबीचमा म घर आएपछि फेरि जान मन लागेन। पछि मैले गल्ला (अन्नको व्यापार) पनि गरेँ। केही वर्ष तुलसीपुरमा होटेल पनि गरेँ।
अरू केके गर्नुभयो?
साँच्चै भनूँ भने म एक नम्बरको चोर हुँ, लाटो पनि हुँ र बौलाहा पनि हुँ। किन भन्नु होला!
म बगरपुर पुरन्धाराबाट रातारात काठ चोरी गरेर तुलसीपुर बजार पुर्याउँथे। दस हजार (रूपैयाँ) मा बाघको छाला किनेर चण्डीगढमा ९० हजारमा बेचेँ। चोरी गर्दा म जानजान हिलोमा ढलेर शरीरभरि हिलैहिलो भएँ। वरपरका झुत्ता कपडा काँधमा भिरेँ। हिमाञ्चलमा प्रहरीले चेक गर्दा त म बोल्न नजान्ने लाटो भइदिएँ।
त्यही भए त मैले आफूलाई एक नम्बरको चोर, लाटो र बहुला भनेको हुँ। सत्य के रहेछ भने गलत काम गरेर कमाएको पैसा कहिल्यै काम नलाग्दो रहेछ। जसरी कमायो त्यसरी नै उड्दो रहेछ। आफ्नै मेहनतले कमाएको सत्यको धन मात्रै बचत हुँदो रहेछ।
यति कुरा बुझेपछि पछि मैले गलत काम गर्दिनँ भनेर छोडेँ।
अहिले तपाईंको नाममा जग्गा कति छ?
मेरो नाममा जम्मा पाँच कट्ठा मात्रै छ। त्यो पनि मरौटी (मरेपछि लाग्ने खर्च) भनेर राखेको हो। जेठा छोराको नाममा २२ कट्ठा छ र कान्छाका नाममा १४ कट्ठा जति छ।
बाँकी जिन्दगीमा यस्तो गर्न पाए हुन्थ्यो भन्ने के छ?
त्यस्तो केही छैन। सित्तिमित्ति मरिने छैन र मरे बाँचिने छैन (हा...हा...)।
अँ, तपाईंलाई एउटा कुरा भन्न भुलेछु। मैले कपडा र खसीबोकाको व्यापार पनि गरेँ। डेरी (दूध र दुग्ध पदार्थको व्यापार) पनि चलाएँ। मैले गरेको मेहनत र दुःखअनुसार भइदिएको भए त आज दुई-चार वटा बस हुन्थे होला, बजारमा दुई-चारवटा घर पनि हुन्थे होला।
डेरी पसल कति वर्ष चलाउनुभयो?
तीन वर्ष जति चलाएँ। माओवादी युद्धको समयमा थियो, माओवादीले भमकेको पुल भत्काएपछि आउजाउ गर्न गाह्रो भयो। जेठा छोराले कान्छी श्रीमती ल्याएपछि ऊ पक्राउ पर्यो। घरव्यवहार मैले हेर्नुपरेपछि डेरी चलाइरहन सकिनँ।
अनि नि मेरो परिवारमा त अचम्मै छ, कान्छा छोराले पनि दुइटी बिहे गरेको छ। ज्वाइँका पनि दुइटी श्रीमती छन्। छोरीको छोराले त चारवटी बिहे गरिसक्यो। उसको त अचम्मै छ; एउटी आउँछे एक-दुई महिना बस्छे र आफ्नो बाटो लाग्छे। फेरि अर्की आउँछे।
आजकाल त धेरै जोडीको सम्बन्ध टुक्रेको देख्छु। जमाना पनि अचम्मकै आयो!
तपाईंसँग यति बेला ठिक्क पैसा भए के किन्नुहुन्थ्यो होला?
केही पनि चाहना छैन। छोराछोरी सबैले आआफ्नो गरी खाएकै छन्। यो दसैंमा छोरीले विदेशबाट एक लाख र छोराले दस हजार (रूपैयाँ) पठाइदिएका छन्।
अब गाउँघरमा रमाउँदै बस्न, आपसमा साथ सहयोग गर्दै शान्तिपूर्वक जीवन बिताउन पाए पुग्छ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
एक वर्षदेखि म दमको बिरामी भएको छु। महिनामा चार-पाँच हजार (रूपैयाँ) को दबाई खान्छु। कोहलपुरबाट कान्छी बुहारीले पठाइदिन्छे।
रातमा निद्रा कस्तो छ?
रातमा धेरै निद्रा लाग्दैन। दुई-तीन घन्टा मात्रै सुत्छु। चिन्ता त कुनै कुराको पनि गर्दिनँ।
एउटा खराब बानी छ, मैले रक्सी खान थालेको २० वर्ष भयो। त्यही भएर मेरो स्वास्थ्य बिग्रिएको हो कि जस्तो लाग्छ। रक्सी त हामी बुढाबुढी (श्रीमान–श्रीमती) नै खान्छौं।
बुढाबुढीले नै रक्सी खाएपछि झगडा हुन्न?
हात हालाहाल हुँदैन। कहिलेकाहीँ बातले हानाहान भइहाल्छ। त्यसको वास्ता हुँदैन।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
समाज ठिक छ। अहिले पनि गाउँघरमा समाज एकढिक्का छ। छरछिमेकमा आपतविपद र दुःखसुख जे भए पनि समाज एकजुट भइहाल्छ। गाउँघरमा कसैलाई कुनै अप्ठ्यारो पर्यो भने सबैले सहयोग गर्छन्।
तपाईंलाई मन र्ने नेता को हो?
जसले जेसुकै भनून्, म त सुदूरपश्चिमको दूरदराजमा जन्मेको शेरबहादुर देउवालाई नै मान्छु। हामी आफ्नै घरव्यवहार मिलाउन सक्दैनौं, उहाँ त भर्खरै देशको राजनीतिक समीकरण परिवर्तन गरिदिन सक्नुहुन्छ।
हरेकका केही न केही कमीकमजोरी हुन्छन् तर कहिलै पराजित नभएको र हालसम्म बदनाम नभएको नेता हो देउवा। खुमबहादुर खड्का जस्तो नेता दाङले कहिले जन्माउला जस्तो लाग्छ, उनी चाँडै बिते। खुमबहादुर त जे भन्थे त्यही गर्थे, वीर थिए।
तपाईंले गएको चुनावमा कुन पार्टीलाई भोट दिनुभयो?
बहुदल आएपछि अहिलेसम्म ‘रूख’ मा मात्रै भोट हालेको छु।
अब हुने चुनावमा भोट कसलाई दिनुहुन्छ होला?
अब त उम्मेदवार पनि हेर्नुपर्छ भन्ने लागेको छ। पश्चिम दाङमा विकास छैन। एउटा गतिलो अस्पताल छैन, गतिलो स्कुल छैन। यस्तो मिलेको राम्रो उपत्यका भएर पनि विकास भएन। यहाँका नेता गतिला भएनन्।
सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
पश्चिम दाङको विकासका लागि तुलसीपुर र पुरन्धाराका बीचमा ३०-४० हजार मान्छेले रोजगारी पाउने एउटा ठूलो उद्योग स्थापना गरिदिए हुन्थ्यो। हाम्रो उमेरका मान्छेले धेरै छोराछोरी जन्माए। जग्गाजमिन कम भयो, खान पुग्दैन। रोजगारी छैन।
युवाहरू साहु (ऋण) काढेर, ज्यानको बाजी थापेर विदेश गएका छन्। यहाँ एउटा ठूलो उद्योग भए गरिबका छोराछोरीले यहीँ रोजगारी पाउँथे। विदेश जानुपर्ने थिएन।
यो कुराकाकानीका लागि तपाईंलाई धेरै धन्यवाद!
तपाईंलाई पनि धन्यवाद! तपाईंले मसँग अचम्मैका कुरा सोध्नुभयो। साँच्चै, सबै कुरा लेख्नुहुन्छ नि!
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्