(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
सल्यानको दार्मा गाउँपालिका–५, ढाँकाडाम गाउँका ३० वर्षीय रमेश केसी दाङको तुलसीपुरस्थित एउटा क्याफेमा चियागफमा केही युवा माझ पठन संस्कृतिको कुरा गर्दै थिए। उनी लेखक हुन्। उनका तीन वटा पुस्तक पनि प्रकाशित छन्।
उनै रमेशसँग हामीले गरेको कुराकानीः
तपाईंले स्कुलको शिक्षा कहाँबाट पूरा गर्नुभयो?
मैले सल्यानमा आफ्नै गाउँठाउँको सूर्योदय माध्यामिक विद्यालयबाट २०६७ सालमा एसएलसी उत्तीर्ण गरेको हुँ।
त्यसपछि कहाँ पढ्नुभयो?
त्यसपछि पढ्न काठमाडौं गएँ। मैले समाजशास्त्रमा स्नातकोत्तर पूरा गरेको छु।
तपाईंको परिवारमा कोको हुनुहुन्छ?
बुबा (५७ वर्षीय जनकबहादुर), आमा (५० वर्षीया शीतलादेवी) र म छौं। उहाँहरू कृषक हुनुहुन्छ। बहिनी लक्ष्मी ल्याब टेक्निसियन हुन्, उनको बिहे भइसकेको छ। उनी राप्ती प्रादेशिक अस्पतालमा करार सेवामा काम गर्छिन्।
जग्गा जमिन कति छ?
करिब २० रोपनी छ। मकै, धान, कोदो, सुन्तला उत्पादन हुन्छ। आफ्नै उत्पादनले खान पुग्छ। अलिअलि बेच्छौं पनि।
अघि चियागफमा युवावर्ग र पठन संस्कृतिको कुरा गर्दै हुनुहुन्थ्यो, त्यसमा खास कुरा के थियो?
पछिल्लो समय युवापुस्तामा पठन संस्कृति निकै ह्रास भएको देख्छु। परीक्षामा उत्तीर्ण हुन नोट मात्रै पढ्ने बानी परेको छ। घोकेर पास हुने चलन छ।
पढ्ने त ज्ञानको लागि हो नि! आजका युवामा राम्रा किताब खोजेर पढ्ने बानी, संस्कृति र धैर्य छैन। पठन संस्कृति एकदमै कमजोर बन्दै गएको पाउँछु। त्यही विषयमा कुरा हुँदै थियो।
तपाईंले लेख्न थालेको कहिले हो?
लेख्दै च्यात्दै त कति हो, त्यसको ठेगान छैन। पहिलोपटक २०७४ सालमा 'अनुभूतिका झिल्काहरू' नामको कविता संग्रह प्रकाशित भएको हो। त्यसपछि २०७६ मा 'कामुकताको फल' उपन्यास र २०८१ मा 'फर्केर हेर्दा' निबन्ध संग्रह प्रकाशित भएका छन्।
तपाईं किन लेख्नुहुन्छ?
म आफ्नो सन्तुष्टिका लागि लेख्छु। आफ्ना अनुभूतिहरू लेख्दा मलाई आनन्द लाग्छ। मन हल्का हुन्छ। मनका उकुसमुकुसहरू लेखेर पोखेपछि ठूलै काम पूरा भए जस्तो लाग्छ।
युवापुस्तामा पठन र लेखन संस्कृति बढाउन पनि लेख्छु। मान्छेहरू मोबाइल फोनमा रमाइरहेका हुन्छन्। कति युवाहरू मदिरापानमा चुर्लुम्मै डुबेको देख्छु। त्यस्ता युवालाई पठनमा प्रेरित गर्न पनि लेख्छु।
तपाईंका कृतिमा पाठकको प्रतिक्रिया कस्तो पाउनुभएको छ?
मेरा कृतिका पाठकहरूबाट सकारात्मक प्रतिक्रिया हौसला पाएको छु। कसैकसैले कमजोरीहरू औंल्याइदिनुहुन्छ, मलाई खुसी लाग्छ।
म आफ्ना किताब बोकेर उद्योगी व्यवसायीहरूमाझ जान्छु। उहाँहरूका कुरा सुनेर छक्क पर्छु। उहाँहरू त्यतिकै सहयोग गर्न तयार हुनुहुन्छ तर किताब चाहिँदैन, पढ्ने फुर्सद हुँदैन भन्नुहुन्छ। यस्तो कुरा सुन्दा नमज्जा लाग्छ।
तपाईंलाई कहिलेसम्म यसरी लेखिराख्छु भन्ने लाग्छ? लेखक भएर जीवन निर्वाह हुन्छ?
कहिलेसम्म भन्ने कुरै होइन। मलाई त सधैं लेखिराख्छु भन्ने छ। लेखेरै मेरो जीविकोपार्जन हुन्छ भन्ने पनि छैन। समाजका लागि लेख्नुपर्छ भन्ने लाग्छ। व्यक्तिले समयमै राम्रो पुस्तक पढ्न पायो भने उसको जीवनको सोच र खोज नै बदलिन सक्छ।
अहिलेसम्म तपाईंले पढेकामध्ये सबैभन्दा मन परेको पुस्तक कुन हो?
सबैभन्दा बढी मन परेको म्याक्सिम गोर्कीको 'आमा' उपन्यास हो।
अहिले कुन किताब पढ्दै हुनुहुन्छ?
रामलाल जोशीको कथा संग्रह 'ऐना' पढ्दै छु।
लेख्नका लागि तपाईंलाई कस्तो वातावरण चाहिन्छ?
एकदमै शान्त वातावरणमा लेख्न मन पराउँछु। सकभर सुनसान रातको शान्तिमा लेख्छु। मेरो अध्ययन वा चिन्तनको धेरै काम राति नै हुन्छ।
तपाईंको बुझाइमा साहित्य के हो?
साहित्य एउटा शान्त रसपान हो। समाज झल्काउने एउटा ऐना हो।
नेपालका लेखकहरूमध्ये तपाईं कसको जीवनशैलीबाट बढी प्रभावित हुनुहुन्छ?
म नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको सरल स्वभाव र साधारण जीवनशैलीबाट म साह्रै प्रभावित व्यक्ति हुँ। उहाँको 'डम्फु' पढ्दा मैले आफैलाई धेरैपटक चिमोटेँ, सोचमग्न भएँ।
आजकाल तपाईं के लेख्दै हुनुहुन्छ?
सुरूआत भइसकेको छैन तर म जहाँ जान्छु, जहाँ घुम्छु त्यस ठाउँको एउटा पात्र खोजिरहेको छु। मनमनै तयारीमा जुटेको छु।
सबैभन्दा बढी तपाईं केमा रमाउनुहुन्छ?
राम्रो किताब पढ्न पाउँदा रमाउँछु। सामाजिक प्रतिभाहरूको बारेमा चिन्तन–मनन गर्न पनि रमाउँछु। सफल व्यक्तिका जीवनी, इतिहास र दर्शन पढ्न पाउँदा रमाइलो लाग्छ।
तपाईंको निद्रा कस्तो छ?
दिन जहाँ, जस्तो हालतमा गुजारे पनि राति शान्त वातावरण चाहिन्छ। राति एक बजेसम्म त पढाइ लेखाइमै हुन्छु। त्यसपछि सुत्छु, राम्ररी निदाउँछु।
कहिलेकाहीँ निद्रा लाग्दैन। अर्को एउटा किताब लेख्न पाए हुन्थ्यो भन्ने हुटहुटीले निद्रा बिथोल्छ।
अहिले तपाईंसँग धेरै होइन, ठिक्क पैसा हुँदो हो त के गर्नुहुन्थ्यो?
सल्यानमा आफ्नै घरको कोठामा सानोतिनो पुस्तकालय जस्तै छ। मसँग पैसा भए आफू पढेको विद्यालयमा एउटा पुस्तकालय खोल्ने थिएँ। मन परेका धेरै पुस्तकहरू किन्ने थिएँ। त्यहाँका विद्यार्थीहरूलाई नयाँनयाँ किताब पढाउने थिएँ।
ठूलो भौतिक सुविधा र सुखसयलको जीवन सोचेको छैन।
तपाईंको मनमा गढेर बसेको चिन्ताको कुरा पनि केही छ कि?
पछिल्लो केही वर्षयता मानिसहरू सुखसुविधाको खोजीमा धेरै भौंतारिएका छन्। तीव्र बसाइँसराइले पहाडहरू रित्तिँदै गरेको देख्दा मन पोल्छ। जमिन बाँझा हुँदैछन्।
पहाडमा मानिसबिनाका रित्ता घर जीर्ण बन्दै छन्। नेपालका लागि यो निकै डरलाग्दो स्थिति हो। मेरो चिन्ताको कुरा यही हो।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
समाजमा राम्रा नराम्रा दुबै पक्ष हुन्छन्। कसैसँग झैझगडा नगर्ने, आफ्नो कर्ममा रमाउने, सरल जीवनशैली भएका मान्छे देख्दा खुसी लाग्छ।
समाज गरिबी, अशिक्षा र बेरोजगारीका कारणले डरलाग्दो द्वन्द्वमा फस्दै गएको आभास हुन्छ। गरिब र दलितमाथि हुने विभेद झनै डरलाग्दो छ। यसो हुनु राम्रो होइन।
तपाईंलाई समाजको मन पर्ने पक्ष के हो?
हाम्रो संस्कार, संस्कृति, परम्परा मन पर्छ। जन्मदेखि मृत्युसम्मका हाम्रा संस्कार र संस्कृति अनुपम छन्।
तपाईंलाई कस्तो व्यक्ति मन पर्दैन?
भौतिक चिजवस्तुको घमण्ड गर्ने र हुँदै नभएको कुरामा जिद्दी गर्ने व्यक्ति पटक्कै मन पर्दैन।
हाम्रो देशमा तपाईंलाई सबैभन्दा मन पर्ने नेता को हो?
मलाई यतिखेर सबैभन्दा मन पर्ने नेता नेपाली कांग्रसका चन्द्र भण्डारी हुनुहुन्छ।
निर्वाचनमा कसलाई भोट दिनुभयो?
म प्रजातन्त्रको पक्षधर हुँ। मैले 'रूख' मा भोट दिएँ।
आउने निर्वाचनमा कसलाई दिनुहुन्छ?
अब त उम्मेदवार पनि हेर्छु होला।
यति बेला राज्यले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
राज्यले राम्रो नीति बनाउनुपर्छ। काठमाडौंमा मात्रै विकास गर्ने प्रवृत्ति सही मान्न सकिँदैन। आवश्यकता हरेर सबैतिर विकास हुनुपर्छ।
देश छोडिरहेका युवाहरूमा आशा जगाउन र देशमै काम गर्ने वातावरण राज्यले काम गर्नुपर्छ। सुशासन कायम गर्नुपर्छ। कहाँ कस्तो कारखाना, उद्योग राम्रो चल्न सक्छ, त्यसको अध्ययन गरेर उद्योग चलाउने वातावरण बनाउनुपर्छ। स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुपर्छ।
तपाईंलाई दसैंको शुभकामना, संवादका लागि धेरै धन्यवाद!
सेतोपाटीले आमपाठकका बीच कमाएको विश्वास थप मजबुत बनाउन दूरदराजका बस्तीहरूमा पुगेर त्यहाँका मानिसका कथाव्यथा लेखोस्। तपाईंलाई पनि शुभकामना, मसँग कुरा गर्नुभएकोमा धन्यवाद।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्