(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
धनगढी नगरमा धेरै ब्युटीपार्लर चलेका छन्। यो पेसा महिलाहरूका लागि आत्मनिर्भर बन्ने माध्यम भएको छ। यस्तै, व्यवसायीमध्येकी एक हुन् ३५ वर्षीया इन्दु राना। उनीसँग हामीले उनको पेसा, संघर्ष र दुःखसुखको कुरा गरेका छौं।
ब्युटी पार्लरको काम कहाँ सिक्नुभयो?
सुरूमा सिटिइभिटी (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्) को जेहेनदार र जनजाति कोटा (आरक्षण) बाट तालिम लिएँ। जम्मा १५ सय रूपैयाँ तिरेर सिकेकी हुँ। तालिममा म उत्कृष्ट भएँ। तालिम सकिएलगत्तै पसल सुरू गरेकी हुँ, २०७३ सालमा।
ब्युटी पार्लर चलाउनुअघि के काम गर्नुहुन्थ्यो?
म बीमा कम्पनीमा बीमा गराउने काम गर्थें। कामका लागि धेरै घुम्नुपर्थ्यो, पाँच वर्ष गरेर छाडें। त्यसबाट अलिकति पैसा भयो। त्यसपछि म ब्याचलर (स्नातक तह) पढ्न कैलाली बहुमुखी क्याम्पसमा आएँ। चार वर्षमा पढाइ पूरा गरेँ।
म डिग्री (स्नातकोत्तर तह) पढ्न चाहन्थेँ तर पैसा थिएन। म पत्रकारिताको विद्यार्थी थिएँ। यहाँ (धनगढी) बाट आमसञ्चार र पत्रकारिता विषयमा डिग्री हुँदैन थियो। काठमाडौं गएर पढ्ने आर्थिक अवस्था थिएन। अभिभावकको सपोर्ट (सहयोग) पनि थिएन।
म अलमलमा परेँ। मसँग बीमा कम्पनीमा काम गरेको थोरै पैसा बचेको थियो। त्यही पैसाबाट धनगढीको क्याम्पस चोकनजिकै पसल सुरू गरेँ। अहिले पसलबाट करियर (पेसागत क्षमता) बनाउँदै छु।
पसल सुरू गर्न कति पैसा लगानी गर्नुभयो?
जम्मा एक लाख ३५ हजार (रूपैयाँ) लागेको थियो।
अहिलेसम्ममा लगानी कति पुगेको छ?
चार लाख (रूपैयाँ) जति पुग्यो होला।
सहयोगी पनि छन्?
एक जना छन्। धेरै काम म आफै गर्छु।
तपाईंको ब्युटी पार्लरबाट आम्दानी कस्तो छ?
सबै खर्च कटाएर पनि राम्रै आम्दानी हुन्छ। यो दसैंको समयमा व्यापार राम्रो चलेको छ। ब्युटी पार्लरको पनि सिजन हुन्छ। सिजनमा राम्रो आम्दानी हुन्छ।
पसल चलाएर तपाईंको जिन्दगीमा के परिवर्तन भयो?
सबैभन्दा पहिला त म आत्मनिर्भर भएँ। आफै मालिक भएँ। अरूसँग पैसा माग्नु परेको छैन। श्रीमानसँग पनि माग्नु परेको छैन। कहिलेकाहीँ अरूलाई सहयोग गर्न पनि सकेकी छु। आफ्नो परिवारमा र माइतमा पनि सहयोग गरेकी छु।
अहिले म गर्भवती छु, खानपानको खर्च बढेको छ। आफ्नो सबै खर्च यसैबाट पुगेको छ। यहीको कमाइले धनगढीमा आधा कठ्ठा जग्गा पनि किनेकी छु।
तपाईंको बाल्यकाल कसरी बित्यो?
बाल्यकालको त कुरै छोडौं, मलाई जस्तो दुःख कसलाई भयो होला र! सम्झिँदा पनि पीडा हुन्छ।
म कञ्चनपुरमा जन्मिएकी हुँ। बाबा धेरै रक्सी खान्थे। बाबाले रक्सी खाएर आमा र हामी ६ जना छोराछोरीलाई ९ हजार रूपैयाँमा अर्कालाई बेचिदिए। हामीलाई अर्का बाबाले लगे।
उनकी पहिलाकी श्रीमती बितेकी रहिछिन्। त्यस्ता बाबाले हामीलाई लगे। हामीलाई किनेर लैजाने बाबाका पनि पाँच जना बच्चा थिए। दुईतिरका गरेर घरमा ११ जना बच्चा भयौं।
मेरी आमाले फेरि बच्चा जन्माउनुभयो। जम्मा १४ बच्चा भयौं। त्यति ठूलो परिवारमा हामीलाई एक छाक खान पनि धौधौ थियो।
जन्म दिने बाबाको मुख हेर्न पाएनौं। किनेर लैजाने बाबाले ठिकठिकै गरे।
साँझ खाए बिहान के खाऊँ भन्ने हुन्थ्यो। एक छाक टार्न पनि गाह्रो थियो। खान नपाएका बेला पढ्न कहाँ पाउनु! निकै ठूली हुँदासम्म पनि म स्कुल जान पाइनँ।
अनि कसरी पढ्नुभयो त?
मेरो पढाइको कुरा सुन्ने मान्छे त छक्क पर्छन् होला। म १७ वर्षको उमेरका शिशु कक्षा (पूर्व प्राथमिक) मा भर्ना भएँ। भर्ना भएको तीन महिनामा परीक्षा भयो। मलाई तीन कक्षामा पढाए।
मेरो कान्छो भाइ चार कक्षामा पढ्थ्यो। भाइ चारमा, दिदी तीनमा भनेर साथीहरू जिस्क्याउँथे। मैले त जसरी पनि पढ्नु थियो, आफूलाई बलियो बनाएँ।
गाउँमा ‘दिगो विकास’ भन्ने एउटा कार्यक्रम आएको थियो। गाउँको भलमन्सा (थारू टोलको मुखिया) ले कुरा गरिदिनुभयो। त्यसपछि मलाई त्यो कार्यक्रमले सहयोग गर्यो।
म हरेक वर्ष प्रथम हुँदै १० कक्षा मा पुगेँ अनि २६ वर्षको उमेरमा एसएलसी (कक्षा १० को अन्तिम परीक्षा) पास गरेँ। त्यही बेला मेरो दाइ धेरै रक्सी खान थाल्नुभयो। मान्छेहरूले छिछिः र दुरदुर गर्न थाले। घरमा कमाउने कोही भएनन्।
भाइ पढाइमा धेरै अब्बल थियो। भाइको पढाइमा समस्या नहोस् भनेर मैले घरको खर्चका लागि काम गर्नुपर्ने भयो। म पढ्ने र काम पनि गर्ने विचारले धनगढी आएँ।
कैलाली बहुमुखी क्याम्पसमा भर्ना भएर १२ कक्षा पूरा गरेँ। त्यही बेला बीमा कम्पनीमा काम सुरू गरेँ। धनगढीमा सानीआमाको घर थियो। उहाँले घरको सटरमा बस्न दिनुभयो। त्यहीँ बसेर काम गर्दै आफ्नो पसल पनि सुरू गरेँ।
ब्याचलरसम्मको पढाइ पनि गरेँ। मास्टर्स (स्नातक) पढ्न पाइनँ।
तपाईंको गाउँ चााहिँ कहाँ हो?
मेरो बाल्यकालको गाउँ कञ्चनपुरको बेलौरी, बुबाले बेचेपछि गएको ठाउँ कैलालीको गेटा। अहिले पनि मेरो माइती घर त्यहीँ (गेटा) हो। भाइ अछाममा शिक्षक छ। दाइले रक्सी खान छाड्नुभयो, काम गर्दै हुनुहुन्छ।
आमा पनि गाउँमै हुनुहुन्छ। अरू भाइबहिनी पनि आआफ्नो घरजम गरेर बसेका छन्। मैले बिहे गरेको एक वर्ष भयो।
तपाईंलाई सबैभन्दा मनपर्ने काम के हो?
मलाई त ब्युटिसियनको काम नै धेरै मन पर्छ। आफू राम्री बन्ने, अरूलाई राम्री बनाउने; यसमै रमाउँछु। काममा कसैको दबाब छैन, स्वतन्त्रता छ। यो काममा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ, चिटिक्क परेर बस्नुपर्छ। रमाउँदै काम गर्न पाइन्छ।
खानामा सबैभन्दा बढी के मन पर्छ?
मासु धेरै मन पर्छ।
मन परेको खाना कत्तिको खान पाउनुहुन्छ?
आफ्नै कमाइले खाने हो, कसैसँग माग्नु परेको छैन। मन लागेपछि खान पाइहाल्छु, दिन पर्खिनु पर्दैन।
तपाईं के कारणले धेरै खुसी हुनुभएको छ?
त्यस्तो खुसी नै भनेर त खास केही छैन तर आफू आत्मनिर्भर भएकोमा खुसी छु। ब्याचलरको अन्तिम परीक्षा पास हुँदा पनि धेरै खुसी भएँ।
डिग्री पढूँला, रेडियो र टिभीमा काम गरूँला भन्ने सोचेकी थिएँ; त्यो सपना पूरा भएन।
धेरै दुःख लागेको र चित्त दुःखेको पनि होला नि?
छ नि, २०७६ सालमा दुर्घटनामा परेर बहिनीको निधन भयो। त्यो बेला साह्रै दुःख लाग्यो। कर्म दिने बाबा पनि २० वर्ष अघि बित्नुभयो। जन्मदिनेको बाबाको त के कुरा गर्ने!
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
अहिलेसम्म त सब ठिक छ। अब के हुन्छ थाहा भएन। डेलिभरी (सुत्केरी हुने) को समय आउँदै छ।
निद्रा कस्तो छ?
निद्रा त लाग्छ मजाले।
मनमा चिन्ता लागिरहने कुनै कुरा पनि छ कि?
श्रीमानको अलिअलि चिन्ता लाग्छ। उहाँको काम बर्दियामा छ। म यहाँ (धनगढीमा) बस्छु। पहिला त एक्लो जिन्दगी थियो, बिहेपछि श्रीमानको माया लाग्दोरहेछ।
उता एक्लै के गरिरहनुभएको होला भन्ने चिन्ता लाग्छ।
श्रीमानसँग सम्बन्ध राम्ररी चलोस्, कहिले पनि मनमुटाव नहोस् भन्ने लाग्छ। श्रीमानबाट राम्रो व्यवहार र माया पाइरहूँ भन्ने पनि कुरा मनमा आइरहन्छ।
यति बेला तपाईं ठिकठिकै पैसाको के किन्न चाहनुहुन्छ?
चाहेको चिज त किन्न सकिहाल्छु तर अहिले मैले पैसा जोगाउनु छ। नजिकै डेलिभरीको समय आउँदैछ, पहिलो बच्चा हुने हो।
अहिले नयाँ चलेकोवाला एक जोर कुर्ता सुरूवाल किन्ने मन छ तर किनेको छैन।
परिवारमा मेलमिलाप कस्तो छ?
ससुरालीतिर (श्रीमानको घर) बुढाबुढी (श्रीमान–श्रीमती) छौं। सासूससुरा छैनन्। एक जना नन्द इन्डिया (भारत) मा हुनुहुन्छ। घरमा आमाजू मात्रै हुनुहुन्छ। उहाँलाई धनगढीमै आउनू भन्छु तर उतै बस्न मन पराउनुहुन्छ।
म यता आफ्नो काममा हुन्छु। परिवारका मान्छे टाढाटाढा छौं, मेलमिलाप र माया राम्रो छ।
माइतमा पनि राम्रो छ। सबैले आ-आफ्नो जीविका चलाएका छौं। एउटा घर बनाउने सपना छ। बुढाबुढी नै काम गर्दैछौं, हेरौं के हुन्छ।
महिला आत्मनिर्भर हुन कसको सहयोग चाहिन्छ?
सुरूआत आफैले गर्ने हो। त्यसपछि घरपरिवारको र राज्यको सहयोग चाहिन्छ।
मान्छेको जिन्दगी के रहेछ?
जिन्दगी त दुःखैदुःखको र संघर्षको यात्रा जस्तो लाग्छ।
तपाईंलाई आफ्नो गाउँसमाज कस्तो लाग्छ?
गाउँसमाज राम्रो छ। गाउँमा हावापानी राम्रो हुन्छ, वातावरण पनि राम्रो हुन्छ। मेलमिलाप र सहयोगी भावना हुन्छ। ऐंचोपैंचो पनि चल्छ।
सहरमा भएको सुविधा गाउँमा छैन। म सहरमा बसेको १२ वर्ष भयो। अब त सहरकै बसाइ राम्रो लाग्छ। यहाँको सामाज पनि ठिकै छ।
देशको राजनीति कस्तो लाग्छ?
राजनीति पूरै डामाडोल छ। राजनीति राम्रो भइदिएको यति धेरै युवा किन विदेश जान्थे र! बेरोजगारीको समस्या किन हुन्थ्यो र! घरमा आमाबुबा मात्र छन्, युवा विदेशमा छ। देशमा भएका जति बेरोजगार बसेका छन्।
अहिलेको युवा पिँढी कठिन अवस्थाबाट गुज्रिएको छ। म पनि ‘नेपाल परिवार दल’ को एक सदस्य थिएँ। मलाई धेरै आश्वासन दिएका थिए– तिम्रो ब्युटी पार्लरमा तालिम दिने, आरक्षणमा तालिम चलाउने भनेर तर आठ वर्ष भइसक्यो; आश्वासन मात्रै पाएँ। कार्यक्रम आउँदा बोलाउँदैनन्।
देशका नेतामा को मन पर्छ?
को भन्ने! सबै एकै जस्ता लाग्छन्। कसलाई राम्रो भन्ने! मलाई त कोही पनि मन पर्दैन। मन पर्ने नेता नै छैनन्।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
भोट कसलाई दिएँ थाहा भएन, दिन त दिएँ। एमालेलाई पनि दिएँ, कांग्रेसलाई पनि दिएँ। तीन चार ठाउँमा छाप हानेकी थिएँ।
विकासको काम कस्तो देख्नुभएको छ?
हाम्रो गाउँ गोदावरीको कुरा गर्ने हो त एउटा पनि काम भएको देखेकी छैन। धनगढीमा गोपी हमाल (मेयर) ले सडकमा बिजुली बत्ती राखे, सडक किनारमा बोटबिरूवा लगाए। धनगढीमा त झलमल उज्यालो छ। हाम्रो उता अध्यारो हुँदा दुःख लाग्छ।
सरकारले केके गर्नुपर्छ?
देशमा रोजगारी बढाउने काम गर्नुपर्यो। रोजगारी भए युवाहरू विदेश जाने थिएनन्। पढेलेखेका युवा विदेश गएपछि नेपालको विकास कसरी होला! युवालाई स्वदेशमा काम गर्ने वातावरण बनाइदिनुपर्यो।
देशमा काम गर्ने वातावरण नभएर महिलाहरू पनि सानो बच्चा छोडेर बाहिर (विदेश) गइरहेका छन्। सीप भएर मात्र के गर्नु नेताहरूले देशमा टिक्ने वातावरण नमिलाएपछि!
यहाँ काम गर्नेलाई पनि धेरै दुःख छ। मैले पनि वडामा पाँच हजार, कर कार्यालयमा साढे सात हजार (रूपैयाँ) कर तिर्नुपर्छ। पहिला ‘घरेलु कार्यालय’ मा कर लिँदैन थिए, अहिले त्यहाँ पनि तीनचार हजार तिर्नुपर्छ।
सरकारले कर लिन्छ तर सुविधा दिँदैन।