(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
गत साताको एक दिन झमक्क साँझ हुँदै थियो। नवलपरासीको सुस्ता गाउँपालिका–२, कुडियामा टहलिँदै गरेका भेटिए स्थानीयवासी ७९ वर्षीय वीरेन्द्र जयसवाल। गर्मीको मौसम, सोही अनुसारको पहिरनमा थिए। काँधमा गम्छा राखेका थिए। मैले उनीसँग परिचय गरेर सेतोपाटीका लागि संवाद गर्न चाहेको बताएँ। उनी तयार भए।
हालखबर कस्तो छ, आराम हुनुहुन्छ?
अहिलेसम्म राम्रै छ भोलिको त कसलाई थाहा हुन्छ र!
के काम गर्नुहुन्छ?
यही गाउँमा फलफूलको सानो पसल चलाएर बसेको छु।
फलफूल कहाँबाट ल्याउनुहुन्छ?
थोक व्यापारीले गाडीमा हालेर यहीँ ल्याइदिन्छन्। म उनीहरूसँग किन्छु र पसलबाट खुद्रामा बेच्छु। कहिलेकाहीं बर्दघाटबाट पनि ल्याउँछु।
फलफूल व्यापार कस्तो छ?
गाउँघरमा फलफूलको व्यापार धेरै के हुनु र! फलफूल किनेर खाने मान्छे थोरै हुन्छन्। कहिलेकाहीं पूजाआजाका लागि किन्छन्। कोसेली लैजान परे किन्छन्। किनेर आफै खाने थोरै हुन्छन्। मलाई दिनभरि पसलमा बस्न काम पुगेको छ, त्यति हो।
कति वर्ष भयो पसल गरेको?
धेरै भएको छैन, तीन वर्षजति भयो।
यो पसल सुरू गर्नुअघि के काम गर्नुहुन्थ्यो?
खेतीकिसानी गर्थें; खेतमा धान रोप्ने, उखु लगाउने यस्तै।
खेतीकिसानी त अहिले पनि छ होला नि?
अहिले पनि छ। फलफूल पसलले मात्र कहाँ खान पुग्छ र! एक बिघा खेत छ, धान र उखु लगाएको छु। धान घरमा खानलाई ठिक्क हुन्छ। उखु बेचेर आएको पैसाले घरको अरू खर्च चल्छ।
दिनमा कति व्यापार हुन्छ?
कहिले १५ सय (रूपैयाँ), कहिले दुई हजार जतिको व्यापार हुन्छ। सड्ने चिज हो, समयमा बिक्री भएन भने नास हुन्छ, घाटा लाग्छ।
खेतीपाती र व्यापार त तपाईंको काम भइहल्यो, अरू के गर्न राम्रो लाग्छ?
हामी बानियाँ हो। घुमफिर गर्न र व्यापार गर्नमै मजा लाग्छ। अरू काम गर्ने खासै मन हुँदैन। खेती र व्यापारमै मन रमाउँछ।
तपाईंलाई सबैभन्दा मन पर्ने खाना के हो?
सबैभन्दा मन पर्ने त शाकाहारी खाना हो। कहिलेकाहीं माछामासु पनि खान्छु तर माछामासुभन्दा दालभात र सागसब्जी नै बढी मन पर्छ।
घरमा को को हुनुहुन्छ?
श्रीमती, दुई जना छोरा, तीन छोरी।
परिवारका सदस्य सबै सँगै हुनुहुन्छ?
अहिलेसम्म सबै सँगै छौं। अब छोराहरूलाई अलगअलग गरिदिने विचार छ। कान्छा छोराको बिहे गर्न बाँकी छ। उसको बिहे गरेपछि अंशबण्डा मिलाइदिन्छु।
छोराछोरीले कत्तिको सुख दिएका छन्?
आजकलका छोराछोरीले बाबुआमालाई सुख दिन्छन् र! छोराछोरीले सुख दिने त कुरा मात्रै हो।
छोराछोरीले सुख नदिए कसले दिन्छ त?
सकेसम्म आफैले मिहिनेत गर्ने र आफैले सुख लिने हो। छोराछोरीबाट आशा गर्नेले कहिल्यै सुख पाउँदैन।
तपाईंको स्वास्थ्य कस्तो छ?
स्वास्थ्य ठिक छैन, तीनचार महिना भयो सुगर (मधुमेह) को औषधि खान थालेको। अरू बिमार त देखिएको छैन तर सुगरले अरू बिमार पनि ल्याउँछ भन्छन्।
तपाईंको निद्रा कस्तो छ?
निद्राको झोंक हुन्छ, कहिले मजाले लाग्छ, कहिले लाग्दैन। अहिले अलि कम निद्रा लाग्ने गरेको छ। पहिले दिनभरिको थकान हुन्थ्यो, रातमा अलिकति (मदिरा) खाएपछि मस्त निदाइन्थ्यो। अहिले त (मदिरा) खान पनि छोडें।
मनमा कुरा खेलेर निद्रा नलागेको हो कि?
त्यो पनि होला। बुढेसकाल लाग्यो, दुःख पाइने हो कि भन्ने डर लाग्छ। मनमा यस्तै कुरा खेलेर निद्रा नलागेको होला।
यति बेला तपाईंसँग ठिक्क पैसा हुने हो भने के किन्ने थिएँ जस्तो लाग्छ?
सपना त कसको हुँदैन र! जसको पनि हुन्छ नि! मेरो पनि सपना छ। पैसा भयो भने पक्की घर बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ। अहिले टिनले छाएको सानो झुपडी छ।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
यो जिन्दगीमा त्यस्तो धेरै खुसी भएको दिन त मलाई सम्झना नै छैन। सधैं दुःखैदुखमा दिन बिते। खुसी कहिल्यै पनि आएन।
सबैभन्दा धेरै चित्त दुखेको त सम्झना होला नि?
म सानैदेखि नै दुःख पाएको मान्छे हुँ। म १२ वर्षको हुँदा बुबा बित्नुभयो। त्यसपछि सबै जिम्मेवारी मेरै काँधमा आयो। तीन वर्षअघि आमा पनि बित्नुभयो। बुबाआमा बित्नुभन्दा अर्को ठूलो दुःख के हुन्छ र!
यस्तो नभइदिएको भए हुन्थ्यो भनेर तपाईंको मनमा रहेको कुनै पिर छ कि?
बुबा त्यति छिटो नबित्नुभएको भए हुन्थ्यो भन्ने लाग्छ तर आफूले भनेर कहाँ हुन्छ र!
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
राम्रै छ। गाउँघर हो, छरछिमेकसँग अलिअलि नोंकझोंक त भइहाल्छ तर हामी सबै मिलेर बसेका छौं। गाउँघरमा नमिलेर सुखै छैन। एउटा घरमा तीनचार जना छोरा छन् भने त झगडा हुन्छ, गाउँघरमा पनि कहिलेकाहीं तलमाथि पर्छ।
टोलसमाजको सबैभन्दा मन पर्ने पक्ष के हो?
टोलमा एकअर्कालाई गर्ने चलन छ। कसैलाई दुःख पर्यो भने सबै एकजुट हुन्छन्, सहयोग गर्छन्। मलाई मन पर्ने पनि यही हो।
टोलसमाजको मन नपर्ने पनि केही छ कि?
त्यस्तो त केही पनि थाहा छैन। सबै ठिकै देख्छु। म गाउँघरमा धेरै डुल्न पनि भ्याउँदिनँ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
राजनीति राम्ररी चलेको छैन। राम्ररी चल्यो भने त देशमा छिटो विकास हुन्छ। किसानलाई पनि राम्रो हु्न्छ।
तपाईंलाई मन पर्ने नेता को हो?
मलाई मन पर्ने त हाम्रै क्षेत्रका हृदयेश त्रिपाठी हुन्। हामीसँग धेरै मिल्ति पनि थियो तर चुनाव हारे।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
अब कहाँ चुनावमा भोट दिएको सोध्नुहुन्छ! त्यो त भन्न मिल्दैन।
चुनाव सकिएको दुई वर्ष हुन लाग्यो, अझै भन्न मिल्दैन र?
मैले गणतन्त्र आएपछि (हृदयेश) त्रिपाठीजी नै लाई भोट दिएको हो। यसपालि उहाँले जित्नुभएन।
अबको हुने चुनावमा कसलाई (भोट) दिनुहुन्छ?
पहिले चुनाव हुने समय त आओस् अनि सोचौंला। पहिले दिएकालाई नदिने, नयाँलाई दिने।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
बाटोघाटो हेर्नू त कस्तो छ! बाटो राम्रो बनाउनुपर्ने हो। गरिब जनतालाई खान छैन। सरकारले त सबैलाई खान पुग्ने व्यवस्था गराइदिनुपर्ने हो तर त्यस्तो छैन। गरिबको दुःख आफैसँग छ।