(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी हो धनगढी सहर। यहाँ काम र पढाइका सिलसिलामा धेरैको अस्थायी बसोबास छ। आफ्नो काम गर्नेका लागि धनगढी बजारमा अटोरिक्सा आयस्रोतको माध्यम बनेको छ। अटोरिक्सा चलाएर दैनिक गुजारा गर्नेको संख्या निकै ठूलो छ।
यस्तै मध्ये एक हुन् धनगढी उपमहानगरपालिका–७, मनेहराका बासिन्दा ५८ वर्षीय रामप्रसाद चौधरी हुन्। उनीसँग आफ्नो अटोरिक्सा छ, धनगढी बजारमा चलाउँछन्। उनको आम्दानीको मुख्य स्रोत पनि यही हो। हामीले उनै रामप्रसादसँग जिन्दगीका दुःखसुखको कुरा गरेका छौं।
तपाईंको जन्म कहाँ भएको हो?
म कैलालीको पहलमानपुरमा जन्मेको हुँ।
बाल्यकालको सम्झना कस्तो छ?
आमाबुबा कमैया थिए। एक वर्ष एउटा घरमा काम गर्थे, अर्को वर्ष अर्कैको घरमा पुग्थे। घर फेरिएपछि हाम्रो बास पनि फेरिन्थ्यो। म १५ वर्षको हुँदा आमाबुबा दुबै जना बिते। म सानो उमेरमा गाईबाख्रा चराउने काम गर्थें। ठूलो हुँदै गएपछि हलो जोत्ने काम गरेँ। कमैयामुक्ति भएपछि धनगढी आएँ। कमैयामुक्ति हुँदा म ३५ वर्षको थिएँ।
सानो छँदा स्कुल गएर पढ्न मन लाग्थ्यो तर पढ्न पाइएन। कमाराको छोराले कहाँ पढ्न पाउनु! सानैदेखि काम गर्नुपर्थ्यो।
पढ्छु भनेर आमाबुबालाई पनि भनेँ तर पैसा छैन भने। मैले जिन्दगीका ३५ वर्ष साहुको घरमा कमारो भएर कटाएँ। आमाबुबाको जिन्दगी त कमारो भएरै बित्यो।
कमैया हुँदा के काम गर्नुपर्थ्यो?
जमिनदारको हलो जोत्ने, गोरुलाई घाँस काट्ने, गाईगोरुको हेरचाह गर्ने, खेतीपातीको काम गर्ने, घरको काम गर्ने; सानैदेखि यस्तो काम गरेको हुँ। बल्ल ३५ वर्षको उमेरमा छुटकारा मिल्यो।
कमैया हुँदा तपाईंको आफ्नो घर थियो कि थिएन?
नाइँ, आफ्नो घर थिएन। जमिनदारकै घरमा बस्थ्यौं। जमिन उनीहरूको हुन्थ्यो। त्यो जमिनमा सानो छाप्रो बनाएर बस्थ्यौं।
कमैया मुक्तिपछि जमिनदारको छाप्रो छाडेर कहाँ बस्नुभयो?
सरकारले धनगढीको मनेहरामा बस भनेर जग्गा देखाइदियो। त्यहीँ सानो छाप्रो बनाएर बस्यौं।
कमैयामुक्तिपछि कसरी गुजारा गर्नुभयो?
मजुरी (मजदुरी) गरेर परिवार पालियो। छोराछोरीलाई धेरै पढाउन सकिएन। अलिअलि मात्रै पढाउन सकियो।
छोराछोरी कति छन्?
दुई छोरी, एक छोरा।
कति पढाउनुभयो त छोराछोरीलाई?
छोराले १२ कक्षासम्म पढ्यो। छोरीहरूले १० कक्षासम्म पढे। त्यहाँभन्दा माथि पढाइ गर्न मन गरेनन्। छोरीहरूको बिहे भइसक्यो।
पढ्न किन मन गरेनन् त?
मसँग पैसा पनि भएन। उनीहरूले पनि पैसा नभएपछि पढ्न सकिँदैन भन्ने ठाने होलान्। वातावरण पनि त्यस्तै भयो, उनीहरूको बिहे भयो।
छोराछोरीहरू के काम गर्छन्?
छोरीहरू बिहेपछि आफ्नै घरमा छन्। घरकै काम गर्छन्। बच्चा हुर्काउँछन्, पढाउँछन्। आआफ्नो गुजारा गरेर बसेका छन्। छोरो भारतमा काम गर्छ।
छोराछोरीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
ठिकै छ। छोराले पनि अलिअलि पैसा पठाउने गरेको छ। भारत गएको एक वर्ष जति भयो।
पारिवारिक मेलमिलाप कस्तो छ?
राम्रो छ, घरमा झगडा कहिल्यै हुँदैन।
मनेहरामा कति जमिन छ? कमैयामुक्तिपछि सरकारले थप जमिन दियो कि?
सुरूमा सरकारले दिएको तीन कठ्ठा जमिन हो। त्यही तीन कठ्ठामा घरवास छ। अरू जमिन छैन।
तपाईं कमाइ गर्न देशबाहिर जानुभयो कि जानुभएन?
पाँच वर्षअघि भारतको हिमाचल गएको थिएँ। रोड कटिङमा काम गरेँ। दुई वर्ष काम गरेर फर्कें।
अटोरिक्सा चलाउन थालेको कति भयो?
दुई वर्ष जति भयो।
अटोरिक्सा आफ्नै हो?
आफ्नै हो, समूहबाट ऋण निकालेर किनेको हो।
ऋण तिरिसक्नुभयो कि बाँकी छ?
तिर्दै छु, अझै डेढ लाख जति बाँकी छ।
अटोरिक्सा चलाएर कति कमाइ हुन्छ?
सवारी पाउँदा त दिनको एक हजार, पन्ध्र सय जति कमाइ हुन्छ। कहिलेकाहीँ पाँच–सात सय मात्रै हुन्छ। यही कमाइले गुजारा चलेको छ।
श्रीमती के काम गर्नुहुन्छ?
घरको काम गर्छिन्। खेतीपातीको काम पनि गर्छिन्। धान, गहुँ, मसुरो लगाउँछौं।
तपाईंलाई मनोरञ्जनमा सबैभन्दा बढी मनपर्ने के हो?
पहिला नाचगान गर्न मन लाग्थ्यो। नाचगानमा खुब रमाउँथेँ। आजकाल त फुर्सद नै हुँदैन।
मोबाइल फोन चलाउनुहुन्छ?
छोराले ठूलो टच मोबाइल पठाएको छ। दिनभरि काम गरेर घर गएपछि हेर्छु।
मोबाइलमा के के हेर्नुहुन्छ?
कतै केही घटना भए त्यसको भिडिओ हेर्छु। टाढाटाढाका समाचार हेर्छु। फिल्म हेर्छु। गीत पनि हेर्छु।
तपाईंलाई मन पर्ने खाना के हो?
मासुभात खान मन पर्छ। भातदाल, दहीदुध पनि मन पर्छ। मैले सानैदेखि दहीदुध खाएको हुँ।
यस्तो मनपर्ने खाना कत्तिको खान पाउनुहुन्छ?
आफैंले कमाएर खाने हो। राम्रो कमाइ भएका दिन खान मन लागेको चिज किनिहाल्छु।
जिन्दगीमा के कुराले धेरै खुसी हुनुभएको छ?
सधैं खुसी छु तर यही हो भन्ने केही छैन।
मनमा चिन्ता लागिरहने कुरा पनि केही छ कि?
अलिअलि पैसा तिर्नु छ। कहिले राम्रो बनाउन सकूँला भन्ने कुराको चिन्ता छ। यसबाहेक अरू केही छैन। दुःखसुख जीवन चलेकै छ। ऋण गर्न नपरे हुन्थ्यो जस्तो लाग्छ तर अलिअलि ऋण नगरी व्यवहार नै चल्दैन।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
राम्रै छ।
कहिलेकाहीँ स्वास्थ्य परीक्षण पनि गराउनुहुन्छ होला नि?
गराउँछु नि! सानोतिनो बिरामी भए पनि अस्पताल जान्छु। डाक्टरले दिएको औषधि खान्छु तर ठूलो समस्या छैन।
राति निद्रा कत्तिको पर्छ?
दिउँसो बढी थकाइ लागेका दिन बढी निद्रा लाग्छ। थकाइ कम भए निद्रा पनि कम हुन्छ।
जिन्दगीमा मस्त निदाएको दिनको सम्झना छ?
त्यस्तो त याद भएन।
यति बेला साथमा ठिकठिकै पैसा हुँदो हो त के किन्नु हुन्थ्यो होला?
लगाउने राम्रो लुगा किन्न पाए हुन्थ्यो भन्ने लाग्छ। म धेरैजसो त छोराकै लुगा लगाउँछु, आफ्ना लागि खासै किनेको छैन। छोराको भविष्य राम्रो बनाउन भनेर लागेको छु।
तपाईंलाई आफ्नो गाउँसमाज कस्तो लाग्छ?
हाम्रो गाउँमा समूहहरू छुट्याएको छ। केही सरसल्लाह गर्नुपरे हामी समूहमा छलफल गर्छौं। गाउँसमाज भनेको यही त हो नि! गाउँका मान्छे सहयोगी हुन्छन्, सबै सहयोगी छन्। मिलेर बसेका छौं। आफ्नो मलाई राम्रो लाग्छ।
आजसम्म चुनावमा कतिपटक भोट दिनुभयो?
धेरैपटक दिएँ।
गएको चुनावमा कसलाई दिनुभयो?
सबैलाई दिएको हो। वडामा कांग्रेस, प्रदेशमा कांग्रेस र प्रतिनिधि (सभा) मा एमालेलाई दिएँ। मेयरमा गोपाल हमाललाई दिएको हो।
आगामी चुनावमा कसलाई भोट दिने?
भोट दिने बेला त सिकाउन आउँछन् नि! गाउँ छिमेकीमा सल्लाह हुन्छ। जसलाई दिने सल्लाह हुन्छ उसैलाई दिने हो।
देशको मनपर्ने नेता को हो?
कोही छैनन्। नेतालाई चिनेकै छैन।
यति बेला सरकारले के काम गरिदियोस् जस्तो लाग्छ?
देशको सुरक्षा गर्नुपर्छ, बाटोघाटो बनाउनुपर्छ। गरिबलाई मद्दत गर्नुपर्छ।