(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
भरतपुर–२७ मेघौलीकी ४० वर्षीया पार्वती महतो गृहिणी हुन्। उनी फुर्सदको समयमा थारू महिला हित, संस्कृतिको संरक्षणका लागि काम गर्छिन्। महिलाहरूलाई एकजुट बनाएर संस्कृतिको प्रचार गर्ने काममा उनी तल्लीन हुन्छिन्। हामीले भेट्दा पनि उनी छिमेकी महिलाहरूसँग यस्तै विषयमा छलफल गरिरहेकी थिइन्।
महतोलाई सुरूमा हामीले सोध्यौं:
तपाईं के काम गर्नुहुन्छ?
खासमा म गृहिणी हुँ। घरभित्रको सबै काम मेरै भइहाल्यो। त्यसबाहेक पनि मेरो काम धेरै छ। गाई, बाख्रा, हाँस, कुखुरा पाल्नेदेखि खेतको काम पनि गर्छु। आफ्नो खेतको काम सकेपछि अरूको मेलामा पनि जान्छु। गाईवस्तुका लागि स्याउला, सेवाँर (लेउ) खोज्न खोला, जंगल पनि जानुपर्छ। दाउरा खोज्न पनि जंगल जान्छु बेला–बेलामा।
काम त धेरै पो रहेछ तपाईंको?
हो नि। पेशा पो गृहिणी हो। काम त सबै गर्न परिहाल्यो। जागिर नभएपछि यस्तै हो।
घरमा अरू पनि हुनुहुन्छ होला। सघाउनु हुँदैन?
श्रीमान नेपाली सेनामा काम गर्नुहुन्थ्यो। ४ वर्ष भयो रिटायर्ड हुनुभएको। अचेल मेघौली सेराई होटलमा गार्डको काम गर्नुहुन्छ। दुई छोरा छन्। कान्छो छोरो १९ वर्षको भयो। ९ कक्षामा पढ्दा दुर्घटना भएर दिमागको हड्डी भाँचिएको थियो। अहिले पनि बिरामी नै छ। अर्को २२ वर्षको भयो। धेरै पढेन। विदेश जाने चक्करमा छ। घरको काममा ध्यान दिने मै मात्रै भन्दा पनि हुन्छ।
श्रीमानको पेन्सन पनि आउने रहेछ। जागिर पनि रहेछ धेरै दुःख गर्नुपर्ने त रहेनछ?
दुःख नगरेर त कहाँ भयो र। काम गर्ने बानी छ। यति गरेपछि केही आम्दानी पनि हुन्छ। होमस्टेहरूबाट कुखुरा, हाँसको माग आइराख्छ। पाल्यो भने पैसा आउँछ। आफ्नो खेतमा काम गर्न अरूलाई बोलाएपछि पर्म तिर्न अरूको खेतमा काम गर्न पनि जान पर्यो। खाली भएको बेलामा ज्यालामा पनि जाने गरेकी छु म त।
के काम गर्नुहुन्छ? ज्याला कति आउँछ?
धान रोप्ने, गोड्ने, मकै गोड्ने त्यस्तै त्यस्तै। पहिले दिनको ४ सय दिन्थे, अचेल घण्टाको एक सय रूपैयाँ चलेको छ।
यस्तो दैनिकीबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
बेलामा धेरै पढ्न सकेको भए जागिर खाइन्थ्यो होला। अलि सुख हुन्थ्यो होला। नपढेपछि गर्ने यस्तै हो। जे छ ठीकै छ। म मेलापातैमा रमाएको छु।
तपाईंलाई सबैभन्दा धेरै के गर्न मन लाग्छ? के गर्दा मज्जा आउँछ?
घर, खेतको कामबाहेक साँस्कृतिक कार्यक्रमहरूमा रमाउँछु। म मेघौलीको थारू साँस्कृतिक महिला समूहको सचिव पनि हुँ। महिलाहरूलाई एकजुट बनाएर संस्कृतिको संरक्षण र प्रचारमा लागेकी छु। साँस्कृतिक कार्यक्रममा आफै पनि सहभागी हुन्छु। यसमा रमाइलो लाग्छ।
संस्कृति प्रदर्शनमा तपाईंको भूमिका के हुन्छ?
म त जोकर हुँ, झुमरा नाचमा जोकर बन्छु। अरू नाचहरूमा पनि हुन्छु। डम्फु पनि बजाउँछु।
यसबाट आम्दानी पनि हुन्छ?
हो आम्दानी पनि हुन्छ। हामी होमस्टेहरूमा थारू संस्कृति देखाउँदा २५ सय रूपैयाँ लिन्छौं। बाहिर गयो भने ४ हजार रूपैयाँ लिन्छौं। त्यो पैसा समूहमा संकलन गरेर राखिन्छ। आवश्यक पर्नेले ऋण लिन्छन्। बेला–बेलामा दामासायीमा बाँडिन्छ। छोरो दुर्घटनामा पर्दा मैले पनि ऋण लिएकी थिएँ। त्यहीँबाट आएको आम्दानीले त्यो ऋण तिरेर सकियो।
थारू सँस्कृतिमा मात्रै रूचि छ कि अन्य गीत, संगीतमा पनि?
मलाई नाच्न, गाउन मन पर्छ। नेपाली लोक दोहोरी, हिन्दी गीतमा नाच्छु। स्टेजमै पनि नाचेकी छु।
फिल्म हेर्नुहुन्छ?
अचेल धेरै भयो हेरेको छैन। बिहे गरेको २३ वर्ष भयो। बिहेभन्दा पहिले सारदानगर हलमा चुनौती भन्ने फिल्म हेरेकी थिएँ। त्यसपछि फिल्म हलमा गएकी छैन। मोबाइलमा पनि आउँछ फिल्म अचेल तर मोबाइलमा प्रायः समाचार हेर्छु।
के खान मन पर्छ?
खाने कुरा सधैं मन परिराख्ने त दालभात नै हो। बाहिर जाँदा मःम मन पर्छ। बजार जाँदा खान्छु। कहिलेकाहीँ घरमै पनि बनाउँछौं।
छोराछोरीबाट कत्तिको सुख छ?
छोराहरूमा अलि अनुशासन हुँदैन। सबैका छोराहरू त्यस्तै होलान्। मेराले पनि भनेको मान्दैनन्। छोरीहरू एकचोटि भनेपछि टेर्छन्। मेरो पनि छोरी भइदिएको भए काममा सघाउने थिई भन्ने लाग्छ। छोराहरू त बोलायो भने झन् टाढा पो भाग्छन्।
श्रीमानसँगको सम्बन्ध कस्तो छ?
उहाँ मलाई एकदमै माया गर्नुहुन्छ। श्रीमान–श्रीमतीको कहिलेकाहीँ झगडा त परिहाल्छ। त्यो परालको आगो हो। श्रीमानबाट कहिल्यै पिटाइ खानुपरेको छैन।
घरमा आर्थिक कारोबार कसले गर्छ?
सबै मै गर्छु। कुखुरा, हाँस बेचेको पैसा मैसँग हुन्छ। श्रीमानले तलब बुझेर पनि मलाई दिनुहुन्छ।
कति खर्च हुन्छ?
जति जोगाउँछु भन्दा पनि मासिक ३०–३५ हजार रूपैयाँ त खर्च भइहाल्छ। पैसा खासै बचाउन सकेको छैन।
तपाईंको स्वास्थ्य कस्तो छ?
दश वर्ष पहिले बेस्सरी टाउको दुख्थ्यो। सिटिस्क्यान पनि गरियो तर केही देखिएन। पछि थारू संस्कृतिमार्फत रमाइलो गर्न थालेपछि बिस्तारै कम हुँदै गयो। अचेल ठीक छ।
रातमा निद्रा राम्ररी लाग्छ?
निद्रा त मज्जाले लाग्छ। तनाव भयो भने रहेछ निद्रा नलाग्ने। कुनै तनाव लिन्नँ।
धेरै पैसा होइन, ठिक्कको पैसाको तपाईंलाई के किन्न मन छ? खाने कुरा, लगाउने कुरा, अरूलाई दिने?
मेरो खाने, लगाउनेमा धेरै रूचि छैन। मैले लगाउने भनेको कुर्ता, साडी हो। त्यो छँदैछ। पैसा फालाफालै भए त फेरि फेरि लगाउन हुन्थ्यो। नभएपछि त्यस्तो सोच नै आउँदैन। मलाई बरू पैसा भए घर सिंगारपटार गर्न मन थियो। श्रीमानलाई चाहिँ पैसा भए गरिबलाई सेवा गर्न मन पर्छ। गरिब, असहाय, वृद्धवृद्धाका लागि केही गरौं भन्ने सोचको हुनुहुन्छ उहाँ।
तपाईंलाई सम्झना छ, पछिल्लो पटक तपाईं कहिले धेरै खुसी हुनुभएको थियो? के भएर खुसी हुनुभएको थियो।
खुसी त म सधैं नै छु। सधैंको भन्दा धेरै खुसी भएको त याद छैन। दुःखी चाहिँ भएको छु छोरा दुर्घटनामा घाइते हुँदा। त्यस्तो दिन अब नआइदियोस् भनेर प्रार्थना गर्छु।
सारै चित्त दुखेको कुरा याद छ?
त्यस्तो त छैन।
तपाईंलाई मनमा बसिरहेको, पिरोलिरहेको वा तपाईंले आशा गरिरहेको यस्तो भएदेखि हुन्थ्यो भन्ने केही छ?
व्यक्तिगत त छैन। समाजको चाहिँ छ। म समाज सेवा गर्न चाहन्छु। सामाजिक काममा खुसी हुन्छु। आफूले देखेको जानेको सल्लाह दिँदा मान्छेहरू मान्दैनन्। यसमा दुःख लाग्छ। म संस्था बनाएर सरकारबाट बजेट ल्याउने काम गर्ने कुरा गर्छु। यसले आफ्नो लागि पनि, गाउँको लागि पनि राम्रो हुन्छ भन्छु। तर मान्छेहरू किन मान्दैनन् म अचम्ममा पर्छु। हामीले गाउँमा पैसा ल्याउनै सकेका छैनौं। हामी जागरूक भएर सरकारबाट पैसा ल्याउन सक्यौं भने त सबैलाई राम्रो हुन्थ्यो नि।
राजनीति कत्तिको चासो छ?
चासो लाग्छ। नेपाली कांग्रेस पार्टीको वडा समितिमा छु। समाचारहरू सुन्छु। के–के भइरहेको छ भनेर चासो लिइराख्छु।
देशको नेतामा तपाईंलाई को को मनपर्छ?
अलिअलि आशा भएको त्यही बालेन शाहबाट हो। अरू त सबै चोर, फटाहा जस्तो लाग्छ।
नेपाली कांग्रेसको कार्यकर्ता हुनुहुँदो रहेछ। आफ्नै पार्टीका नेता पनि मन पर्छन् होला नि?
मलाई कोही मन पर्दैन। पार्टी त थाहा पाएदेखि कांग्रेस हो। त्यसैले त्यसैमा बसिरहेको हो। सधैं पार्टीले भनेको ठाउँमा भोट हालेको छु। नेता त कोही गतिला छैनन्। सबै फटाहा जस्ता।
स्थानीय क्षेत्रमा?
हाम्रो पहिलेको वडाध्यक्ष गोबिन्द तामाङ ठीक हुनुहुन्थ्यो। उहाँले राम्रो काम गर्नुभयो। भरतपुर महानगरपालिकाकी मेयरले पनि राम्रै गरिरहेको सुनेकी छु। हाम्रो समूहलाई पनि पोशाक, बाजामा सहयोग गर्नुभएको थियो।
अब चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
बालेनपछि ज्ञानेन्द्र शाही ठीक छन्। रवि लामिछाने पनि ठीकै छन्। यता आए भोट हाल्थें। गतिला कोही उम्मेदवार भएनन् भने त आफ्नो पार्टी नेपाली कांग्रेसलाई नै भोट हाल्ने नि।
सरकारले के के काम गरोस्, गरिदियोस् जस्तो लाग्छ?
मेरा दुई छोरा बेरोजगार छन्। मजस्ता धेरैका छोराछोरी बेरोजगार छन् अहिले। उनीहरूलाई विदेश पठाऊँ खर्च बढी लाग्छ। खर्चै गरेर पठाऊँ राम्रो हुने हो कि होइन थाहा छैन। धेरैका छोराछोरीको उतै मृत्यु भएर शव पनि आउन नसकेको समाचार सुन्छु। तर हाम्रो सरकार युवाहरूलाई विदेश जान नपर्ने अवस्था यहीँ बनाउन किन सक्दैन? यहीँ ठूला उद्योगहरू खोलिदिए त विदेशको उद्योगमा काम गर्न जानै पर्थेन नि।