(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
नारायणी नदीमाथि हालै निर्माण पूरा भएको सुस्ता पुग्ने झोलुंगे पुलको मुखमै छ उनको ठेला। केही दिनअघि म पुग्दा अण्डा र भुजा, बदाम, मटर, नमकिन, चाउचाउ, प्याज, मूला र चटपट बनाउने अन्य सामानले उनको ठेला भरिएको थियो। दिउँसोको चर्को गर्मीमा हलुका लुगा लगाएर ठेलामा मटर भुट्दै थिए। उनले मलाई ‘चटपटे खानुहुन्छ कि अण्डाभुजा’ भनेर सोधे। मैले उनीसँग कुरा गर्न आएको बताएँ, उनी तयार भए।
पश्चिम नवलपरासीको सुस्ताका ५३ वर्षीय रामानन्द तेली गुप्तालाई गाउँलेहरू ‘पाइलट बाबा’ भनेर पनि चिन्ने रहेछन्।
उनै 'पाइलट बाबा' सँग गरेको कुराकानी:
चटपट व्यापार गरेको कति वर्ष भयो?
भयो होला ३० वर्ष जति। मेरो अर्को कुनै व्यवसाय छैन। सानैदेखि यही ठेलाको व्यापार हो।
अहिले व्यापार कस्तो छ?
अहिले त ठिक छ तर सधैं एकनास हुँदैन। कहिले एकैदिनमा पाँच हजार (रूपैयाँ) को व्यापार हुन्छ, कहिले पाँच सयको पनि हुँदैन। खेतबारी छैन, यही व्यापारले घरव्यवहार चलेको छ। पहिले मेरो जग्गा थियो, सबै जग्गा यही नारायणी (नदी) ले बगाइदियो।
जग्गा नभए पनि दुःखी छैन। अरूको पाँच बिघा जग्गाको उखुले कमाउने पैसा म यही ठेलाले कमाइदिन्छु। मेरा लागि यही ठेला पाँच बिघा जग्गा हो। मेरो परिवार पाल्ने यही हो।
एक दिनमा कति किलो केराउको चटपट बनाउनुहुन्छ?
तीन किलो काँचो केराउ त सधैं भिजाउँछु। त्यो सबै सकिन्छ। बिदाको दिनमा र चाडपर्वको समयमा ५ किलोसम्म भिजाउँछु। त्यो सबै सकिन्छ।
केके मिसाएर चटपट बनाउनुहुन्छ?
केराउ, चाउचाउ, भुजा, नमकिन, बदाम र मकैको नमकिन पनि छ। प्याज, खुर्सानी, हरियो धनियाँ, मूला, टमाटर सबै थोक हुन्छ।
चटपट बनाउने सामान कहाँबाट ल्याउनुहन्छ?
चाउचाउ र भुजा किनेर ल्याउँछु। बदाम पनि काँचो किनेर घरमै भुट्छु। नमकिन घरमै बनाउँछु।
थोरै खानेले कम्तीमा कति रूपैयाँको चटपट किन्नुपर्छ?
नेपाली २० रूपैयाँ र भारू १० रूपैयाँ, त्योभन्दा बढी जति रूपैयाँको किने पनि भयो।
तपाईंको ठेलामा चटपटबाहेक अरू केके पाइन्छ?
अण्डाभुजा पाइन्छ। पहिले नै अर्डर भयो भने १० जना सम्मलाई खाना पनि बनाइदिन्छु।
यो व्यापार त छँदैछ, यसबाहेक फुर्सदमा तपाईंलाई के गर्न मन लाग्छ?
छोराछोरी र श्रीमतीसँग घुम्न जान्छु। रहर त सबैलाई लाग्छ नि! मेरो ससुराली भारतमा छ, त्यता जाँदा पनि घुम्न निस्कन्छु।
नेपालका त धेरै ठाउँ गएको छु। परासी, बुटवल, चितवन, धादिङ, मुग्लिङ, नौबिसे, थानकोट सबै ठाउँ गएको छु। मुग्लिङ र मनकामनामा चटपट पनि बेचेको छ।
कति समय व्यापार गर्नुभयो मुग्लिङ र मनकामनामा?
डेढ वर्ष जति बसेँ हुँला। व्यापार ठिकै थियो तर त्यहाँ टिक्नै दिएनन्। त्यसपछि फर्केर यतै आएँ।
कसले, किन टिक्न दिएन?
खोइ, त्यो त कसरी भनूँ। मलाई बोलिरहनुपर्ने, त्यहाँ पनि यहाँजस्तै ‘पाइलट बाबाको चटपट खानुस्’ भनेर चिच्याउँदै बेच्थेँ। सुस्ताबाट आएको भनेपछि माया गरेर मेरैमा खाने पनि धेरै थिए। त्यहाँ पहिलेदेखि चटपट बेचेकालाई मेरो व्यापारले डाहा भएर होला, मलाई धपाइदिए।
तपाईंलाई चाहिँ धेरैजसो के खान मनपर्छ?
मलाई त सबै चिज मिलाएर खान मनपर्छ। आज रोटीसब्जी खायो भने भोलि दालभात खान्छु। दुई तीन दिन बिराएर माछामासु खान्छु। सबै मिलेको चिज हुनुपर्यो। मन परेको भनेर एउटै चिज धेरै खाएर भएन।
घरमा कोको हुनुहुन्छ?
घरमा आमा हुनुहुन्छ, ८२ वर्षकी हुनुभयो। श्रीमती, दुई छोरा र बुहारी छन्। दुई जना छोरी बिहे भएर आआफ्नो घरमा छन्।
छोराछोरीले कत्तिको सुख दिएका छन्?
सुख दिएका छन् नि। ठूलो छोरा २५ वर्षको भयो। ऊ पनि ठेलामा व्यापार गर्छ। कान्छो छोरा २१ वर्षको भयो, यहीँ नारायणीमा डुंगा चलाउँछ। दिनभरि जति कमाउँछन्, त्यो सबै बाबाआमालाई ल्याएर देखाउँछन्।
अझै पनि उनीहरूको भन्दा बढी मै कमाउँछु। छोरीहरूको पनि सबै राम्रो छ। यही त हो सुख!
मधेसमा छोरीको बिहे धेरै खर्चिलो छ, दाइजो दिनुपर्ने समस्या छ भन्छन्, तपाईंलाई पनि त्यस्तो समस्या भयो कि?
हो, मधेसमा यस्तो समस्या छ। ठूली छोरीको बिहे गर्दा दहेज (दाइजो) मै नौ लाख रूपैयाँ लाग्यो। कान्छी छोरीकोमा अलिक कम खर्च भयो। छोरीहरूको बिहेमा खर्च लागे पनि छोराको बिहेमा आउँछ नि!
बिहेमा बेहुली पक्षले ऋण गरेर भए पनि दाइजो दिने, बेहुला पक्षले मागेर लिने, यस्तो प्रथा गलत हो जस्तो लाग्दैन?
गलत त लाग्छ नि। पैसा नभएका मान्छेका धेरै छोरी छन् भने साह्रै गाह्रो हुन्छ। धेरै छोरीको बिहे कसरी गर्नु! गलत भए पनि कसैले एक्लै हटाएर हट्दैन। यो त समाजका सबै मान्छे मिलेर हटाउनुपर्यो।
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिले आँखामा अलिअलि समस्या छ। घामपानी र आगोमा काम गर्नुपर्छ। धुलो र धुवाँले बिग्रिएको होला। परासी गएर उपचार गरेर आएको छु, ठिक हुँदैछ। डाक्टरले राम्रो उपचार गरिदिनुभयो।अरू स्वास्थ्य त सबै फिटफाट छ। अहिलेसम्म दुई वटा मात्रै सुइँ लगाएको छु, त्यो पनि दाँत दुखेर उखेल्दा। त्यसबाहेक अहिलेसम्म कुनै औषधि खाएको छैन, सुइँ पनि लगाएको छैन। मलाई कोरोनाले त छुन सकेन! अरू कुन बिमारले छुन्छ होला र!
रातमा निद्रा कत्तिको लाग्छ?
निद्रा त राम्रै लाग्छ। साँझ ८ बजे सुतिसक्छु। बिहान दुई बजे नै उठेर घरको काम गर्छु। दिनभरि बेच्ने चटपटको लागि सबै सामान तयार गर्छु। प्याज र मूला काट्छु। ठेला सजाउँछु। आफ्नो ठेला सजाउन बुढी (श्रीमती) र बुहारीलाई लगाएर त भएन, आफैले गर्नुपर्यो।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
म त जिन्दगीमा सधैं खुसी नै खुसी छु। मैले कहिल्यै पनि दुःख मानिनँ। साथमा एक दुई रूपैयाँसम्म नहुँदा पनि बुबाआमा र छोराछोरीका अगाडि दुःख देखाइनँ। सधैं खुसी भएर बसेँ।
कुनै दिन त दुःखी पनि हुनुभयो होला है?
बाढीले जग्गा बगाउँदा दुःख लागेको थियो तर अहिले सबै बिर्सिएँ। हाम्रो जम्मा १४ बिघा जग्गा थियो, सबै यही नारायणीले लग्यो। जग्गा लगे पनि हामी सबै ठिक छौं। यही नै हाम्रो खुसीको कुरा हो।जग्गा बाढीले लगेपछि बुबा अचानक बित्नुभयो। बुबा बित्दा धेरै दुःख लाग्यो।
तपाईंको मनमा कुनै कुराको पिर पनि छ कि?
केको पिर हुनू! म त गाउँभरिको सुखी मान्छे हुँ, जता गए पनि पैसा भेट्छु।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
राजनीति राम्रो लागेर त म कांग्रेस भएको हो नि! मलाई त राजनीति मन पर्छ।
तपाईंलाई मनपर्ने नेता को हो?
मलाई त रामु दाइ (सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष रामप्रसाद पाण्डे) र सन्तु प्रधान (प्रदेशसभा सदस्य देवकरण कलवार) सबैभन्दा धेरै मन पर्छन्। हामी त उनीहरूलाई नै नेता मान्छौं। सुस्ताका लागि उनीहरूले धेरै राम्रो काम गरेका छन्। रामु दाइले जितेपछि सुस्तामा बाटोघाटो पक्की भयो। सुस्तामा उनीहरूको देन धेरै छ।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
सबैलाई मिलाएर दिएको हो। रामु दाइलाई सूर्यमा पनि दिएको हो तर जित्नुभएन। सन्तु प्रधानलाई रूखमा दिएको, उहाँले जित्नुभयो।
अहिले चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
त्यो त पछिको कुरा हो, अहिले नै कसरी थाहा हुन्छ र! रामु दाइ र सन्तु प्रधान उठ्नुभयो भने उहाँहरूलाई नै दिने हो। उहाँहरू नउठे विचार गरौंला।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले त धेरै गरिदिएको छ। अहिले पुल बनाइदियो। अब लालपुर्जा र नागरिकता दिए हुन्थ्यो। सुस्ताका धेरै मान्छेको लालपुर्जा र नागरिकता छैन। नागरिकता र लालपुर्जा नभएपछि मान्छेले केही पनि काम गर्न पाएका छैनन्।
भारतले विवाद गरेको जग्गा फिर्ता ल्याउनुपर्छ। सरकारले यति गर्यो भने हामी भारतीय एसएसबीसँग लड्न जानुपर्छ र! पर्दैन नि!