(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
दाङको दंगीशरण गाउँपालिका–२, सिमलकुनाका ५३ वर्षीय कुलबहादुर विक तुलसीपुरबाट फर्कंदै गर्दा बबई नदीको झोलुंगे पुलनजिकै भेटिए। यो पुल तुलसीपुर उपमहानगरपालिका–११, मोतीपुरमा छ। उनी पुलको बाटो हुँदै घोडासहित बबई नदी तर्ने तरखरमा थिए। उनका अघिअघि भारी बोकेको घोडा थियो, उनी पछिपछि थिए। उनको घर पुग्न झोलुंगे पुल तरेर केहीबेर हिँड्नुपर्ने रहेछ।
मैले आफ्नो परिचय दिएर उनलाई एकछिन रोकिन आग्रह गरेँ अनि केहीबेर कुरा गरेँ।
कता जाँदै हुनुहुन्छ?
मिलबाट आउँदै छु, घर जान लागेको।
तपाईंको घर कहाँ हो?
दंगीशरण गाउँपालिका हो; वडा नम्बर २, सिमलकुना।
मिलमा किन जानुभएको थियो?
म बिहानै धान खोज्दै हिँडेको थिएँ। धान किनेर तुलसीपुरको मिलमा कुटाएर राखेको छु। आज साँझ परिगयो। भोलि त्यो चामल तुलसीपुर बजारमा बेच्न जाने हो। म यस्तै सानेतिनो व्यापार गर्छु।
यो घोडाले बोकेको के हो?
यो त ब्राण (मसिनो भुस) हो। यो भुस गाईवस्तु पाल्नेले किन्छन्। यो भुस महँगोमा बिक्छ। धान कुटाउँदा पैसा तिर्नु पर्दैन, भुस दिए पुग्छ।
यो घोडा कहिले किन्नुभएको हो?
घोडा किनेको दुई वर्ष भयो, २७ हजार (रूपैयाँ) मा तुलसीपुरबाट किनेको हुँ। राम्रो घोडालाई त एक लाखभन्दा धेरै पर्छ।
पहिला के काम गर्नुहुन्थ्यो?
म इन्डिया (भारत) आउजाउ गर्थें। लेखपढ नगरेकालाई नेपालमा रोजगारी छैन। ऋण काढेर कतार पनि गएँ। दलालले ठूलो सपना देखाएका थिए, सजिलो काम छ भनेका थिए। त्यहाँ पुगेपछि सडकको काम गर्नुपर्यो। साह्रै मुस्किलको काम थियो, डेढ वर्षमै फर्कें।
कतारमा कति कमाइ भयो?
जम्माजम्मी ६ लाख (रूपैयाँ) जति कमाइ भएथ्यो। दुई लाख ब्याज तिर्दै सकियो। बचेको चार लाखले सिमलकुनामा ऐलानी जग्गा किनेँ। ऐलानी भए पनि १२ कठ्ठा जग्गा छ। घर पनि त्यहीँ छ।
जग्गा किनेपछि विदेश नजाने निर्णय गरेँ। बिरानो मुलुकमा पसिना चुहाउनुभन्दा आफ्नै ठाउँमा घोडा किनेर लाद्न (भारी बोकाउन) थालेको हुँ।
यो घोडालाई यसरी भारी बोकाउँदा वा कहिलेकाहीँ हिर्काउँदै हिँडाउनु पर्दा दया लाग्दैन?
मेरो मनको कुरा गर्नुभयो। दया लाग्छ नि! मैले यसको आँसु बगेको धेरैपटक देखेको छु। त्यो देखेर म पनि मनमनै रून्छु। म भोकै भए पनि यसका लागि घाँस काट्न जान्छु। दाना खुवाउँछु। मेरो पनि बाध्यता छ। चोर्नु, ढाँट्नु भएन। त्यसै बसेर खान पुग्दैन। यसलाई भाडी (भारी) नबोकाए हामी भोकै पर्छौं।
अब विदेश जाने उमेर पनि छैन, जान मन पनि छैन। बाँच्दासम्म त केही काम गर्नै पर्यो।
जग्गाको उत्पादनले कति समय खान पुग्छ?
बढीमा तीन महिना पुग्छ। यो घोडा नभएको भए मलाई गाह्रो हुन्थ्यो। यो त साथी जस्तै छ। यसका र मेरा दुःख उस्तै छन्। यसकै कमाइले घरगुजारा चलेको छ। यो जनावर भए पनि मेरो भावना बुझ्छ। भारी बोकेर मेरो इशारामा खुरूखुरू हिँड्छ।
धान किन्न हिँडेको थिएँ भन्नुभयो, तपाईंको गाउँमा धान फल्दैन?
हाम्रो गाउँतिर धान धेरै फल्दैन। सिँचाइ छैन। ब्याड राख्नै समस्या हुन्छ। राम्रो वर्षा भयो भने मात्र धान फल्छ। म धान फल्ने गाउँहरू घुम्दै हिँड्छु। हाम्रो ठाउँको मुन्तिर बबई नदी बग्छ तर खेतमा सिँचाइको सुविधा छैन। बबईको पानी बगेर इन्डिया पुग्छ।
आजकाल धान कति भाउमा किन्नुहुन्छ?
मैले आज पढ्ढा गाउँमा युएस ३१२ जातको धान क्विन्टलको ४३ सय रूपैयाँमा किनेँ। बजारमा पुर्याएपछि चामल क्विन्टलको ७५ सयमा बिक्री हुन्छ। अलिकति नाफा हुन्छ।
घरमा कोको हुनुहुन्छ?
म र श्रीमती छौं। कहिलेकाहीँ ठाकठुक परिहाल्छ। अलिक ठुस्किने बानी छ उसको। कहिले बिहानै उठेर केही नभनी माइती चलिदिन्छे। अहिले पनि सानो कुरामा ठुस्केर घरबाट निस्केकी, १० दिन भयो, छोरीको घरमा छे।
छोरीको घर कहाँ हो?
हाम्री एक मात्र छोरी हुन्, २४ वर्षकी भइन्। तीन वर्षकी नातिनी र एक वर्षको नाति छन्। एलएलसीमा एउटा विषयमा ब्रेक लागेपछि (अनुत्तीर्ण भएपछि) आफूखुसी बिहे गरेकी हो। उनीहरूको घर तुलसीपुरको स्यालापानीमा छ। ज्वाँइको तुलसीपुर बजारमा कपाल काट्ने पसल छ।
यो १० दिनमा श्रीमतीसँग कुरा भएको छैन?
सात दिनमा छोरीको मोबाइलमा फोन गरेको थिएँ। यस्तै हो, श्रीमतीसँगको सवालजबाफ एकै छिनमा सेलाउँछ। मैले केही नयाँ गर्न खोज्दा ऊ नाइँनास्ती गरिदिन्छे। त्यस्तै कुरामा सवालजबाफ पर्छ, ऊ ठुस्किहाल्छे।
फोनमा श्रीमतीसँग के कुरा भयो त?
घरव्यवहारको कुरा भयो। म मात्रै ठिक छु पनि भन्दिनँ, उसले भनेका पनि केही कुरा ठिक छन्। ऊ मनकी सफा पनि छे। कुटपिट गरेको होइन तर सानो कुरामा रिसाएर हिँडी। अब आउँछे होला भनेर आश गरेर बसेको छु।
पहिला अर्की श्रीमती थिई। म बाहिर भएको बेलामा छोडेर गई। उसबाट सन्तान पनि थिएन। त्यसपछि ५६ सालमा तुलसीपुरबाट अहिलेकी श्रीमती बिहे गरेको हुँ।
अहिलेकी श्रीमतीसँग कसरी बिहे भयो?
पहिलाको घर बिग्रेपछि म विरक्त भएको थिएँ। आफन्त र साथीहरूले बिहे गर भनेर सम्झाए। मलाई पनि आफू जति गरिब भए पनि मनको बह पोख्ने कोही त चाहिँदो रहेछ जस्तो लाग्यो। चिनजान भएर बिहे भएको होइन, खोजेरै गरेको हुँ। म साथी लिएर उसको माइतीमा गएँ। कुरा मिलेपछि साधारण बिहे भयो। बिहे गरेपछि श्रीमतीको मायाले जित्दो रहेछ। म श्रीमतीले भनेरै उसको माइतीघर भएको क्षेत्रमा बसाइ सरेको हुँ।
तपाईंको जन्मघर कहाँ हो?
तुलसीपुरको सक्राममा पर्छ। मैले चार कक्षासम्म पढेँ। हामी पाँच दाजुभाइ हौं। म साहिँलो हुँ। हाम्री दिदी पनि छिन्। घरको आर्थिक अवस्था कमजोर थियो। म १६ वर्षको कलिलो उमेरमा काम खोज्दै कालापहाड (इन्डिया) गएँ। जीवन यस्तै सुखदुःख त रहेछ नि!
तपाईं के काममा सबैभन्दा धेरै रमाउनुहुन्छ?
म त फुर्सद मिल्यो कि यो बबई नदीमा बल्छी लगाएर माछा मार्न गइहाल्छु। पानी परेर भेल आएको बेलामा बल्छीमा धेरै माछा पर्छ। मलाई माछा मार्न रमाइलो लाग्छ। माछा मारेर बुढाबुढी (श्रीमान्–श्रीमती) मिलेर खान्छौं।
तपाईंलाई के खान बढी मन पर्छ?
बबईमा आफैले मारेको माछा, मकैको रोटी, रायोको साग; यस्तै हो मन पर्ने। युरिक एसिडको बिरामी छु। डाक्टरले रातो मासु नखानु भन्छ तर कहिलेकाहीँ खाइहाल्छु। मासु खाएर भन्दा पनि गेडागुडी खाँदा युरिक एसिडले बढी दुःख दिन्छ।
म त बंगुर, राँगा, खसीबोका सबैको मासु खान्छु। कहिलेकाहीँ जाँडको झोल र रक्सी पनि खान्छु। श्रीमती पनि कहिलेकाहीं मसँगै (जाँड, रक्सी) खान्छे।
रातमा निद्रा कस्तो छ?
दिनभर हिँड्नुपर्छ। घोडालाई धानचामल बोकाउने र झार्ने गर्नुपर्छ। ज्यान थाकेर लखतरान भएको हुन्छ। निद्रा मजाले लाग्छ। श्रीमती रिसाएर हिँडेको दिन पो निदाउन मुस्लिक परेको थियो।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
मलाई एक्लै छ भनेर हेप्छन्, मेरा दाजुभाइ टाढा भएर होला। आफन्त नजिक नहुँदा पनि समाजले हेप्दो रहेछ। म गरिब भएर पनि हेपेका होलान्।
यति बेला आफूसँग ठिक्कको पैसा भइदिए के गर्थें भन्ने लाग्छ?
म मेरो बारीमा पुग्ने गरी सिँचाइको प्रबन्ध मिलाउने थिएँ। त्यसपछि बाह्रै मास तरकारी खेती गर्ने थिएँ।
तपाईं कहिले एकदमै खुसी भएको थियो?
पहिलो घरबार बिग्रेपछि धेरै विरक्ति भएको थियो, धेरै दुःखी भएको थिएँ। दोस्रो बिहे गर्दा निकै खुसी भएँ। जीवनको सहारा पाएँ भन्ने लाग्यो।
त्यसपछि छोरी जन्मिँदा धेरै खुसी भएँ। नातिनी र नाति जन्मिँदा पनि खुसी लाग्यो। श्रीमतीसँग बसेर मिठोमसिनो खाँदा पनि मन खुसी हुन्छ।
तपाईंलाई हाम्रो देशका नेताहरूमा को सबैभन्दा राम्रो लाग्छ?
मोहन वैद्य, उहाँको व्यक्तिगत स्वार्थ छैन। उहाँले चाहेको भए ठूलो पद पाउनुहुन्थ्यो होला तर त्यस्तो लोभ गर्नुभएन। मलाई त अहिले पनि उहाँको बोली सुन्दा आनन्द लाग्छ।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
भोट दिन पाइनँ। मेरो बसाइसराइ भएकै छैन। चुनावका दिन मोटरगाडी चल्न दिँदैनन्। हिँडेर टाढा जान सकिँदैन। पहिला एकपटक एमालेलाई दिएको थिएँ।
यति बेला चुनाव भए कसलाई भोट दिन्नुहुन्छ?
अब त व्यक्ति हेरेर दिने हो। आफन्तका लागि होइन, देश र जनताका लागि काम गर्नेलाई दिने हो।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
यो बबई नदीमा यति धेरै पानी छ। सरकारले सिँचाइको प्रबन्ध गरिदिए हुन्थ्यो। बाटाहरू फराकिला बनाउनुपर्ने हो। गरिबले सित्तैमा उपचार गराउन मिल्ने अस्पताल बनाइदिए हुन्थ्यो।
तपाईंसँग कुरा गर्न पाएर खुसी लाग्यो, धन्यवाद।
मलाई त अचम्मै लाग्यो। पत्रकार हुँ भन्नुभयो, मसँग मजाक गर्नुभएको होइन नि!