(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
केही दिनअघि हामीले भेट्दा पबिसरा मगर वीरेन्द्रनगरको सडक छेउमा रहेको थोरै खाली ठाउँमा मकै पोल्दै थिइन्। उनको छेउमा छाता थियो। पानी र गर्मी छल्न त्यही छाता ओड्दै उनले मकै पोल्दिरहिछन्। हामीसँगको कुराकानीमा आफ्नो र परिवारको सामान्य खर्च जुटाउन मकै पोल्ने र बेच्ने गर्दै आएको बताइन्।
उनैसँग गरिएको कुराकानीः
तपाईंको समय कसरी बितेको छ?
यो समयमा मकै पोलेर बेच्छु। मकै नहुने सिजनमा तरकारी, साग बेचेर बस्छु। यसले समय त व्यस्त भएरै वितेको छ। तर कमाइ भने पुग्नेगरी हुँदैन। बेरोजगार बस्नुभन्दा काम गरिएको त छ।
परिवारमा को–को बस्नुहुन्छ? मेलमिलाप कस्तो छ?
केही छोरीहरूको विवाह भयो। अहिले दुई छोरा, एक छोरी र हामी श्रीमानश्रीमती बस्छौं। अहिलेसम्म मेलमिलाप पनि राम्रै छ। मिलेर सबै बसेका छौं।
तपाईंलाई के गर्दा मज्जा लाग्छ, काममा होस् या मनोरञ्जनमा?
प्रायः व्यस्त हुन्छु। के कुरामा रमाइलो मान्ने, के कुरामा नमान्ने भन्ने पनि थाहा छैन। उमेर छँदाजस्तो साथीभाइसँग गफ गर्ने गरेकी छैन। उमेर मिल्ने साथीभाइहरू मजस्तै व्यस्त हुन्छन्। व्यस्त नबनौं भने पनि खर्च पुर्याउन आफ्नो काम गर्नैपर्यो। मज्जा लागे पनि नलागे पनि आफ्नो काम गर्नैपर्छ। त्यस्तो रमाइलो गर्ने वातावरण बनेकै छैन अहिलेसम्म। मैले त अहिलेको तिजमा पनि नाँचगान गरिनँ। काम पनि नगरेर घरमै बसेर तिजको दिन बिताइदिएँ।
खाने कुरामा के मन पर्छ?
होटल–रेष्टुरेन्टमा गएर छानेर मन परेको खानेकुरा खाने गरेकी छैन। घरमा नियमित खानेकुरा मात्र हो। कहिलेकाहीँ हाम्रोमा विशेष भनेको माछा, मासु हो। माछामासु कहिलेकाहीँ मात्र खाने भएकाले खानेकुरामा त्यही नै मनपर्छ।
तपाईंको स्वास्थ्य कस्तो छ? मजाले निद्रा पर्छ?
अहिलेसम्म ठूलो रोग लागेर उपचार गर्नुपरेको छैन। त्यस्तो दीर्घरोग पनि मलाई छैन। दिनभरि थाकेर होला, निद्रा पनि राम्रोसँग पर्छ। आनन्दले निदाउँछु।
ठिक्क पैसा पर्ने के किन्न मन छ?
त्यस्तो त केही सोचेकै छैन। आफूसँग भएको खाने–लगाउने कुराले पुगेको जस्तो लाग्छ। यति पैसा भए यही किन्न पाए हुन्थ्यो भन्ने मनमा आउँदै आएन। अरूलाई गतिलो उपहार दिनुपर्छ भन्ने पनि मनमा लागेन। कसैले मलाई उपहार देओस् भन्ने पनि लागेन।
जीवनमा एकदमै चित्त दुखेको के कुराले हो?
यही बेला चित्त दुखेको थियो, यसलाई बिर्सनै गाह्रो भयो भन्ने त कुनै दिन छैन। परिवार चलाउने कुरामा अलिअलि दु:ख गर्नुपरेकै हुन्छ। सानोतिनो कुराको अभाव हुँदा चित्त दुखिहाल्छ नि।
अनि खुसी भएको कुनै समय छ त?
खुसी भएको कुरा पनि याद छैन। आमा भएपछि सन्तान जन्मिँदा, हुर्किंदा खुसी नै भइयो होला। त्यो त त्यसै पनि भगवानले दिएको खुसी भइहाल्यो। त्यो भन्दा अरू कुरा पाएर खुसी भएको थाहा छैन।
छोराछोरी कति जना छन्, उनीहरूले तपाईंलाई सुख दिएका छन् त?
छोराछोरी धेरै नै छन्। कतिले विवाह गरिसके। विवाह गरेकाले आफूले गरी खाएका छन्। मसँग भएकाले पनि भनेको मानेका छन्। अहिलेसम्म छोराछोरीका कारण मैंले दुख पाएकी छैन।
तपाईंलाई हाम्रो समाज वा टोल कस्तो लाग्छ? समाज–टोलको के कुरा मन पर्छ?
अहिलेसम्म त छिमेकीले राम्रै गरेका छन्। जता बसे पनि समाजसँग घुलमिल हुनु नै पर्छ। घुलमिल भएपछि समाज आफ्नो भइहाल्छ। ‘जसरी हुन्छ, त्यसरी नै जीवन चलाउने हो,’ भनेर समाजले हौसला दिने कुरा मन पर्छ। मर्दा वा पर्दा परिवारपछि को त समाज नै हुन्छ नि। समाज नराम्रो लाग्ने कुरै भएन।
राजनीतिमा कत्तिको चासो राख्नुहुन्छ?
मलाई त राजनीति भनेको के हो भनेर पनि थाहा छैन। मतलब पनि गर्दिनँ। राजनीतिले के चाहिँ गरेको छ र जस्तो लाग्छ।
देशको नेतामा को मन पर्छ?
नेतालाई देखेको भनेको टिभीमा हो। सुनेको रेडियोमा हो। भेट्दै नभेटेका नेता को मन पर्छ भन्नू!
गएको निर्वाचनमा कसलाई भोट दिनुभएको थियो?
मैले आफू १८ बर्षको हुँदा चुनावमा भोट हालेकी हुँ। त्यसपछि भोट हालेकै छैन। त्यतिबेला एमालेलाई भोट हालेको हो।
अब निर्वाचन भयो भने कसलाई भोट दिनुहुन्छ?
बसाइँ सराइ ल्याएको छैन। अब बसाइँ सराइ ल्याएपछि आफू बसेको ठाउँबाट भोट हाल्न पाइने होला। अब चुनाव भयो भने जसले हामी यस्तो, यस्तो कुरामा राम्रो गर्न सक्छौं भनेर ग्यारेन्टी गर्छन् उसैलाई भोट हाल्ने हो।
सरकारले के काम गरिदियोस् भन्ने लाग्छ?
सरकारले त जनताका लागि केही गरेकै छैन नि। सानासाना काम गरेपछि जनता खुसी हुन्छन्। सरकार ठूला काम गर्छौं भनेर मात्र लागेको छ। गरिबीमा जीवन बिताइरहेका हामी जस्ताका लागि रोजगारीको ग्यारेन्टी गरिदिए हुन्थ्यो। शिक्षा, स्वास्थ्य नि:शुल्क गरिदिएको भए तल्लो वर्गका परिवारलाई दु:खै हुन्थेन। अपांगता भएका व्यक्तिलाई सहज बाटोघाटो बनाइदिनुपर्यो । ती व्यक्तिको परिवार चल्ने गरी जीवन निर्वाह भत्ता दिने व्यवस्था सरकारले गर्नुपर्छ।