(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बुटवल उपमहानगरपालिका–११, प्रगतिनगरमा सुकुम्बासी बस्ती छ। त्यही बस्तीमा छ ७० वर्षीया बोमा मगरको घर। गत साता उनीसँग भेट हुँदा घरको बरन्डामा बसेकी थिइन्। उनै बोमासँग गरेको कुराकानी :
सञ्चै हुनुहुन्छ?
के सञ्चो भन्ने, के बिसञ्चो भन्ने, यस्तै छ।
तपाईं घरमा के काम गर्नुहुन्छ?
उमेर गयो, अब के काम गर्ने हो र! बुहारीले पकाएर दिएको खाने, बस्ने।
घरखर्च कसरी चल्छ?
कान्छो छोरो कुवेतमा छ। उसले पैसा पठाइदिन्छ। मेरा श्रीमान आसाम राइफल (भारतीय फौज) मा हुनुहुन्थ्यो। उहाँ बितेर गए पनि मेरो नाममा अलिकति पेन्सन आउँछ। त्यसबाट पनि घरखर्चमा भरथेग हुन्छ।
तपाईंलाई के गर्न मन लाग्छ नि?
मलाई त केही पनि गर्न मन लाग्दैन। जति गर्नु शरीर बलियो, राम्रो हुँदासम्म गरियो। सकेसम्म काम गरिन्थ्यो। नाचगान गर्न रमाइलो लाग्थ्यो। अहिले त घरमै बस्ने, टिभी हेर्ने र त्यसैमा रमाउने।
तपाईंलाई एकदमै मनपर्ने खाना के हो?
आजकाल त केही पनि खान मन लाग्दैन। लाउन, खान, घुम्न सबै मनपर्ने भनेको त शरीर ठिक हुँदासम्म रहेछ। रोग लागेपछि केही पनि मन नलाग्ने रहेछ। अहिले त बिमारले गर्दा कलक्क खाइहालूँ भन्ने केही पनि हुँदैन। जे खाए पनि करले खाने हो।
तपाईंलाई के बिमार छ?
मेरो स्वास्थ्य राम्रो नभएर दुःख पाएकी छु। छालाको रोगले सताएको छ। शरीरभरि छाला चिलाएर हैरान छु, १५ वर्षभन्दा धेरै भयो। छालाको डाक्टरलाई देखाउन धेरै ठाउँमा गएँ, औषधि खाएकी खायै छु तर सञ्चो भएको छैन।
धेरै औषधि खाएर होला, अहिले त प्रेसर (उच्च रक्तचाप) र ग्यास्ट्रिक पनि सुरू भएको छ। त्यसको पनि औषधि खान थालेकी छु। शरीर फतक्क गल्छ। घुँडा दुख्छ, उठेपछि बस्न सक्दिनँ, बसेपछि उठ्न सक्दिनँ। हैरान भएकी छु।
राति कत्तिको निदाउनुहुन्छ?
शरीर चिलाउँदा चिलाउँदै दिनरात बित्छ, केको निद्रा लाग्नु! मनभरि कुरा खेल्छ। यस्तो दुःख पाएर किन बाँच्नु परेको होला जस्तो लाग्छ।
कहिलेसम्म राम्ररी निदाउनुहुन्थ्यो?
रातभरि निदाएको उहिल्यै हो, अब त बिर्सिसकेँ। शरीर चिलाउने रोग लाग्नुभन्दा अघिसम्म ठिकै निदाउँथें।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
श्रीमान हुँदासम्म खुसी थिएँ होला। श्रीमान बितेपछि त खुसी र रमाइलो पनि उहाँसँगै गयो।
सबैभन्दा दुःखी कहिले हुनुभएको थियो?
श्रीमान र ठूलो छोरो बित्दा जति दुःख त अरू केमा लाग्नु थियो र! श्रीमानलाई ठूलो बिमार केही पनि थिएन। अलिअलि निशापान (मदिरा सेवन) गर्नुहुन्थ्यो। बितेको पनि १४ वर्ष भइसक्यो।
ठूलो छोरो तीन वर्षअघि बित्यो। जम्मा ४१ वर्षको थियो। माइलो छोरो, कान्छो छोरो, बुहारीहरू, नातिहरू सबैले माया त गर्छन् तर बितेर गएकाको धेरै सम्झना आउने रहेछ। आफ्नो बिमारले पनि दुःख दिएकै छ।
हिजोआज घरमा कोको हुनुहुन्छ?
बुहारी र नातिहरू छन्। जेठो छोरा बित्यो, बुहारी कुवेतमा छिन्। माइला छोराबुहारी छुट्टिएर अलग बसेका छन्। म कान्छा छोरासँग बसेकी छु। कान्छी बुहारी सँगै छिन्।
छोरा बुहारीले कत्तिको सुख दिएका छन्?
धेरै सुख दिएका छन्, सकेसम्म राम्रो गरेका छन्। मेरो धेरै ख्याल राखेका छन्।
यति बेला तपाईंसँग ठिक्क पैसा भएर के किन्न पाए हुन्थ्यो जस्तो लाग्छ?
किन्न मन लागेको भन्ने केही पनि छैन। शरीर चिलाउने यो रोग सञ्चो भइदिए हुन्थ्यो। यसका लागि त बरू दुईतीन लाख (रूपैयाँ) पनि खर्च गर्थें होला।
तपाईंको मनमा गढेर बसेको केही कुरा छ?
श्रीमान त्यति चाँडै नबितेको भए हुन्थ्यो। जेठो छोरो बित्यो। मनको पिर त यही भइहाल्यो नि! श्रीमान भइदिएका भए दुःखसुखका कुरा गर्न पाइन्थ्यो। शरीर चिलाएर रातभरि निदाउन सक्दिनँ। उहाँ भएको भए त के भयो भनेर सोध्नुहुन्थ्यो होला। छोरा बुहारीले पनि राम्रो गरेका छन् तर श्रीमान साथमा भएका भए झन् राम्रो हुन्थ्यो।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
टोल समाज त ठिकै छ। दुःखसुखमा एकअर्कालाई सरसापटी सहयोग गर्छन्। सबै मिलेर बसेका छन्।
टोल समाजको सबैभन्दा राम्रो पक्ष के हो?
सबै मिलेर बसेका छौं, त्यही नै हो राम्रो हो।
टोल समाजको सुधार्नुपर्ने पक्ष पनि केही छ कि?
नराम्रो त केही भएजस्तो लाग्दैन। मलाई त बिमार छ। बाहिर कतै जाँदिनँ। बाहिरफेरको धेरै कुरा थाहा पनि हुँदैन।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
नेपालमा केको राजनीति छ र! सबै जता खान पायो त्यतै लपक्कै हुन्छन्। कोही एमाले भन्छन्, कोही कांग्रेस भन्छन्, कोही माओवादी भन्छन्। अरू पनि के के छन् तर खानेबेला सबै एउटै हुन्छन्।
आफ्नो गाउँ बनाऊँ भन्दैनन्, सुकुम्बासीलाई लालपुर्जा दिऊँ भन्दैनन्। चुनावका बेला भोलि नै लालपुर्जा दिउँला भनेजस्तो गर्छन्। गर्ने बेला आफ्नो मात्र गर्छन्, हाम्रो काम केही पनि गर्दैनन्।
तपाईंलाई नेपालको नेता को मन पर्छ?
को मन पर्छ भन्ने हो खोइ! मनपर्ने जस्तो काम कसैले गरेका छैनन्। अब त जसले लालपुर्जा दिन्छ, उसैलाई मन पराउने हो।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
भोट त सूर्यमा दिएको नि! अहिलेसम्म सूर्यमै भोट दिएको हो। लालपुर्जा पाइन्छ कि भनेर पनि सूर्यमा दिएको हो तर पाएको छैन।
अब चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
अब त लालपुर्जा नपाएसम्म कसैलाई पनि भोट नदिने, जसले लालपुर्जा दिलाउँछ, उसैलाई दिने हो।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले सबैभन्दा पहिले त सुकुम्बासीलाई लालपुर्जा दिनुपर्छ। नेपालमै काम गरेर कमाउन पाउने व्यवस्था ल्याइदिनुपर्छ।