(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
कटुकुवा भन्ने ठाउँ सुर्खेतको वीरेन्द्रनगरदेखि १० किलोमिटरको दूरीमा छ। यो क्षेत्र दही–चिउरा खाने ठाउँले प्रख्यात छ। सामुदायिक वन क्षेत्र एउटा टहरा हालेर वीरेन्द्रनगरकी अनिताले दहीच्युरा बेच्दै आएकी छिन्।
उनको त्यो पसलमा सुर्खेत–दैलेख सडक खण्ड हुँदै आऊजाऊ गर्ने यात्रुहरूको भीड नै लाग्छ। उनलाई तिजको दिन पनि भ्याइनभ्याइ थियो। उनै अनितासँग हामीले गरेको कुराकानीः
पसल कस्तो चलेको छ?
राम्रो छ। सामुदायिक वनको जग्गा भएकाले पक्की घर बनाउन पाएकी छैन। अस्थायी टहरा हालेको छु। यही बाटो हिँड्ने मान्छेहरू आउँछन्। दहीच्युरा खान्छन्। पसल राम्रै चलेको छ।
परिवारमा को–को बस्नुहुन्छ? मेलमिलाप कस्तो छ?
एक छोरा, हामी बुढा– बुढी छौं। सासु, ससुरा लगायत परिवार सगोलमै छौं। पसल चलाउन परेकाले हामी घर बाहिरै हुन्छौं। परिवारमा अहिलेसम्म मनमुटाव केही छैन। सबै मिलेरै बसेका छौं।
के गर्दा तपाईंलाई मज्जा लाग्छ? मनोरञ्जनका लागि के गर्नुहुन्छ?
अरू कुरामा फुर्सदै हुँदैन। बिहान ४ बजेदेखि बेलुका ९–१० बजेसम्म व्यापारमै व्यस्त हुन्छु। यसले गर्दा के कुरा गर्न रमाइलो लाग्छ भन्ने नै थाहा भएन। जे होस् ग्राहकलाई गुनासो गर्नुनपर्ने गरी सेवा दिन पाइयो भने खुसी लाग्छ।
फुर्सद नभएर मोबाइल चलाउने, फिल्म हेर्ने मौका नपाएको वर्षौं भइसक्यो। साथीभाइसँग बसेर गफ पनि गर्न पाइएको छैन। गफ भनेको काम गर्दागर्दै आउने ग्राहकहरूलाई के छ भाइ? के छ बहिनी? भन्यो त्यति नै हो।
खाने कुरामा के मन पर्छ?
म माछामासु खाँदिन। दही बढी मन पर्छ। हाम्रो मुख्य बेच्ने नै कुरा दही–चिउरा हो। आफूले पनि मन लागेका बेला खाइरहन्छु। अझ सिन्कीसँग भात खान बढी रूचाउँछु।
तपाईंको स्वास्थ्य कस्तो छ?
पहिलेभन्दा राम्रो छ। पहिले मलाई अल्सर, थाइराइड, युरिकएसिड, पाइल्स थियो। असाध्यै दु:ख दिन्थ्यो। महिनाको २० हजार त औषधि र चेकजाँचमै जान्थ्यो। अहिले सबै सञ्चो भएको छ। एक वर्ष भयो औषधि खाएकी छैन।
निद्रा कत्तिको पर्छ?
अहिले निद्रा पनि राम्रो पर्छ। पहिलेको तुलनामा अहिले सबै कुराले स्वस्थ छु जस्तो लाग्छ।
ठिक्क पैसा पर्ने कुनै कुरा किन्न पाए हुन्थ्यो भन्ने लागेको केही छ?
यही कुरा किन्न पाएको भए हुन्थ्यो भन्ने केही छैन। रहर पनि त्यस्तो केही छैन।
जीवनमा तपाईं एकदम खुसी कहिले हुनुभएको थियो?
म बिरामी हुँदा अलिअलि चित्त दुख्थ्यो। बिमार निको भएपछि सधैं खुसी छु। तर जीवनमा बिर्सनै नसक्ने खुसीको घटना केही छैन।
के कुराले जीवनमा एकदमै चित्त दुखेको छ?
म जतिबेला बिरामी थिएँ, त्यतिबेला मेरा दाजुभाइ र आमाबुवाले चित्त दुखाउनुहुन्थ्यो। यो मरिहाल्छेकी भनेर उहाँहरू एकदमै डराउनुहुन्थ्यो, त्यो कुराले मलाई गाह्रो पार्थ्यो ।
दाजुबहिनी कति हुनुहुन्छ नि ?
परिवारकी एक्ली छोरी हुँ। म भन्दाअघि दुई जना दाजु हुनुहुन्छ। मपछि दुई भाइ छन्।
तपाईंलाई आफ्नो टोल–समाज कस्तो लाग्छ?
मलाई पर्दा समाजले हेरेकै छ। समाजको कसैलाई पर्दा मैले हेर्न पाउँछु। कसैलाई दुख पर्यो भने सहयोगी मन लिएर अगाडि उभिने चलन छ। समाजभित्रका सबैमा एकआपसमा सहयोग आदानप्रदान हुन्छ। यस्तै कुरा मलाई मन पर्छ।
राजनीतिमा कत्तिको चासो राख्नुहुन्छ?
राजनीतिमा त्यति धेरै चासो राख्दिन। मैले चासो राखेर उपलब्धी हुन्छ जस्तो पनि लाग्दैन। चुनाव आयो भने कसले जित्यो भन्ने चासो हुने हो। नत्र केही लाग्दैन।
देशका नेतामा को मन पर्छ?
यही नेता मन पर्छ भन्ने छैन। कसैको एजेन्डा वा काम हेर्न पाएको भए पो फलानो नेता मन पर्छ भन्नू!
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
कसलाई भोट दिएँ भनेर नभनेकै राम्रो। जसलाई दिए पनि अमूल्य भोट दिइसकियो। के भनिराख्नू!
अब निर्वाचन भयो भने कसलाई भोट दिनुहुन्छ?
अब निर्वाचन भयो भने दल हेर्ने होइन। को उठ्छ भन्नेमा भर पर्छ । कोही पनि उम्मेदवार मन परेन भने भोट नै नहाल्न सक्छु।
सरकारले के काम गरिदियोस् भन्ने लाग्छ?
सरकारले बेसहारा भएर वा अरू कुनै समस्या आएर भौंतारिनुपरेका मान्छेलाई उद्दार गरिदिए हुन्थ्यो भन्ने लाग्छ। सडकमा बालबालिका र ठूला मान्छेले पनि माग्दै हिँडेको देख्दा साह्रै चित्त दुख्छ। त्यस्ता मानिसको उद्धार र व्यवस्थापन राज्यले पूर्ण जिम्मेवारीका साथ गरिदिएको भए हुन्थ्यो।