(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
घरमै भेटिएकी सुनितादेवी साह भोज जाने तरखरमा थिइन्। नगराईन नगरपालिका–८, खिरखिरिया गाउँकी उनी चर्को घाम र उखरमाउलो गर्मीका कारण घरबाट निस्किन गाह्रो मान्दै थिइन्।
उनका छिमेकी हुन् नगरपालिकाका मेयर विनय साह। सुनितादेवी मेयरका घरमा पार्टी प्रवेश कार्यक्रमका अवसरमा आयोजित भोजमा जानु थियो।
मैले परिचय दिएर कुराकानी गरेँ। तपाईंको अन्तर्वार्ता छाप्ने हो नि भन्दै मैले सोधेपछि उनी कुराकानी गर्न तयार भइन्।
उनै सुनितादेवीसँग गरेको कुराकानी:
के काम गर्नुहुन्छ?
खेतीपाती छ, खेतीको काम गर्छु। यति बेला रौदी (खडेरी) परेको छ। पानी पठाउन सकिएन भने धान राम्रो फल्दैन। खेती गरेन भने खान पाइँदैन। राम्रो नउब्जिए पनि खेती गर्नैपर्छ। वर्षा नहुँदा धेरै समस्या भएको छ।
पहिले–पहिले असारदेखि भदौसम्म पानी पर्थ्यो, अहिले पर्दैन। कहिलेकाहीं परे पनि जनकपुरभन्दा उत्तरतिर मात्रै पर्छ। छिमेकीको बोरिङबाट खेतमा पानी पठाउँछु तर तुरन्तै सुकिहाल्छ।
खेत कति छ, के के उब्जाउनुहुन्छ?
एक बिघाह खेत छ। त्यसमै म, बुढा (श्रीमान्), एकजना बुहारी लागेका हुन्छौं। धान, गहुँ, दालदलिहन लगाउँछौं। ठिकै उब्जियो भने सालभर चल्छ।
खेत घरबाट टाढा छ। तरकारी खेती गर्न मिल्दैन। तरकारी खेती गर्दा हातमै पानी चाहिन्छ। सधैं छिमेकीमा भर परेर पनि हुँदैन, उसैलाई पनि चाहिन्छ। कहिले पैसा हुँदैन, डिजेल महँगो छ। डिजेल आफैले हालेर पानी पठाएको भाडा पनि तिर्नुपर्छ।
कति छोराछोरी छन्?
तीन जना छोरा छन्। सबैले कमाउँछन्, खान्छन्। जेठो छोरा खेती गर्छ। माइला छोराको पसल छ। उसले टेन्ट पनि राखेको छ। कान्छो जनकपुरमा बस्छ। पढलेखको काम गर्छ।
छोराबाट कत्तिको सुख पाउनुभएको छ?
सुख पाएकी छु। सेवाटहल गरेकै छन्। बिरामी परेका बेला उपचार गराउँछन्। बुहारीले खाना पकाएर खुवाउँछिन्। नातिनातिनीले पनि हेरेकै छन्।
मेरो छिमेकका छोराहरू विदेश गएका छन्। मैले आफ्ना छोरालाई जान दिइनँ। जति कमाउँछौ, गाउँमै बसेर कमाओ भनें।
विदेश गएपछि वर्षौंसम्म उतै बस्नुपर्छ, तुरुन्तै आउन सक्दैन। मलाई केही भइहाल्यो भने उसले हेर्न पनि सक्दैन। मेरा छोरा मेरो आँखा अगाडि हुनुपर्छ। छोराबिना म रहन सक्दिनँ।
तपाईंलाई खानामा सबैभन्दा धेरै के मनपर्छ?
हामी गरिबलाई जे जुर्छ त्यहीँ खान्छु। भात, रोटी, तरकारी, दाल सधैं खान्छौं। यसमा दुधदही पनि भयो भने धेरै मनपर्छ। सधैं दुधदही खान पैसा पुग्दैन। कहाँबाट आउँछ र त्यति पैसा! दुध धेरै महँगो भइसक्यो। खेती गर्ने किसानको आम्दानी छैन।
दुधदही नखाएको कति भयो?
थुप्रै भयो, १५ दिनभन्दा बढी। पहिले आफै भैंसी पाल्थें। आजकाल धेरै काम गर्न सक्दिनँ। नातिनातिनी पनि बोर्डिङ (निजी स्कुल) पढ्न जान्छन्। उनीहरूलाई पढाउन धेरै खर्च लाग्छ। पढाइ छोडाएर काम गराउन पनि मिलेन।
घर छेउमै सरकारी स्कुल छ तर त्यहाँ राम्रो पढाइ हुँदैन। जुन स्कुलमा पढेर बुद्धि बढ्छ त्यहीँ न पढाउँछु! खेत बेचेरै पनि राम्रो स्कुलमा पढाउँछु।
तपाईंलाई धेरै मन पर्ने काम के हो?
हामी अकिल (थाहा पाउने) भएदेखि नै खेतमा काम गर्न गयौं। मैले खेतीबाहेक केही गर्न पनि जानिनँ। मलाई त खेतबारीमा काम गर्न मनपर्छ। अहिले धेरै कामै गर्न सक्दिनँ। खेतमा धान समेट्छु, रेखदेख गर्छु। खेतमा खाजापानी पुर्याउँछु।
मनोरञ्जनका लागि के गर्नुहुन्छ?
हामी त केही पनि गर्दैनौं। फुर्सदका बेला देवरानी र बुहारीसँग गफ गर्छु। छिमेकीसँग कामको कुरा हुन्छ, सुखदुःखको कुरा हुन्छ। मोबाइल, टिभी हेर्न मन पर्दैन। टिभीमा के के बोल्छ, म बुझ्दिनँ।
परिवारमा मेलमिलाप कस्तो छ?
धेरै राम्रो छ। सबै मिलेर बसेका छन्। तीनवटा छोरा तीन ठाउँमा बस्छन्। केही त्यौहार (चाड) भयो भने सबैजना आउँछन्। मिठो बनाउँछन्, खान्छन्, रमाइलो गर्छन्।
तपाईको स्वास्थ्य कस्तो छ?
अहिले त ठिकै छ तर दबाईकै बलमा बाँचेकी छु। बिपी (ब्लड प्रेसर) को समस्या छ। मेरो बिपी लो (कम) भइहाल्छ। सधैं ट्याब्लेट खानुपर्छ। यस्तो समस्या भएको ५–६ वर्ष भयो।
रातमा निद्रा कस्तो हुन्छ?
ठिकै सुत्छु, ४–५ घण्टा निदाउँछु। कहिलेकाहीं कामले थकाइ लाग्यो भने बढी पनि सुतिहाल्छु।
यति बेला तपाईंको हातमा ठिक्कको पैसा हुँदो हो त के किन्नुहुन्थ्यो होला?
मलाई अब केही सोख छैन। छोराछोरी, बुहारी, नातिनातिनी सबै छन्। हामी गरिब मान्छे, धेरै सोख पालेर हुँदैन। हामीले ठूलो सपना देखेनौं। काम गर्यौं, खायौं, पियौं, छोरा र नातिनातिनी हुर्कायौं।
यतिले मलाई पुगेको छ। सबैभन्दा ठूलो सन्तोष हो। मसँग जे छ, धेरै छ। यसमै सन्तोष छ। यति भएपछि केही पनि चाहिँदैन।
सबैभन्दा धेरै खुसी कहिले हुनुभयो?
खुसी नै छु। छोराछोरीको बिहे भयो, नातिनातिनी जन्मिए। त्यसमै धेरै खुसी भएँ।
अनि सबैभन्दा धेरै चित्त दुखेको पनि सम्झना होला नि?
मेरो घरमा देवीदेउता लागेर जेठो छोरा बिरामी भयो। घरमा उत्पात मच्चियो। घरमा धेरै धामी आए, भाकल गरे। डाक्टरबाट पनि छोरा ठिक भएन। केही गर्दा पनि नभएपछि जनकपुरमा बसेको कान्छो छोराले ‘ईशामसी’ को प्रार्थना गरे। छोराले ‘ईशामसी’ को प्रार्थना गर्दा मान्छेले नराम्रो भने। हामीले पनि छोरालाई गाली गर्यौं।
जे गरे पनि घरको समस्या हटेन। हाम्रा पुर्खाले देवीदेउता मान्दै आएका थिए। अन्तिममा यहाँको घरजग्गा बेचेर अर्को ठाउँ जाने सोच्यौं।
मैले कान्छा छोरालाई जनकपुरबाट बोलाएँ। ऊ पास्टर (ईशाई धर्मगुरु) लिएर आयो। पास्टरले प्रार्थना गरिदिए अनि सबै राम्रो भयो। उनी आउनुअघि धेरै दु:खमा थियौँ।
धर्म परिवर्तन गर्दा समाजका मान्छेले के भने?
गाउँमा धेरै विरोध भयो। हामी समस्यामा हुँदा कसैले सहयोग गरेनन्। हामीलाई राम्रो भएपछि अर्को धर्म मान्दा अनेक थरी कुरा गरे।
विस्तारै समाजले पनि सहयोग गर्न थालेको छ। सुरूमा गाउँको भोज खान नदिने भन्थे, हामीले सम्झाएपछि निम्तो दिए।
हामी बिहेको भोजमा खान्छौं तर मरेकोमा हुने भोजमा खाँदैनौं। मान्छे मरेको दुःखमा पनि कर्जा लिएर, जमिन बेचेर भोज गरेको हामीलाई ठिक लाग्दैन।
सुरूमा समाजका मान्छेले बिहेको भोज खाएपछि मरेको ठाउँको भोज पनि खानुपर्छ भने तर विस्तारै ठिक भयो।
यस्तो भए हुन्थ्यो भनेर तपाईंको मनमा बसिरहेको कुनै कुरा छ कि?
म मात्रै खुसी भएर राम्रो लाग्दैन। सबैजना खुसी–सुखी भए राम्रो हुन्थ्यो। कसैले अर्काको दुःखमा तमासा हेरेर बसेको मलाई राम्रो लाग्दैन। यस्तो नभई सबै सुखी भए हुन्थ्यो, एकले अर्कालाई सहयोग गरे हुन्थ्यो जस्तो लाग्छ।
तपाईंलाई आफ्नो गाउँसमाज कस्तो लाग्छ?
अहिले त ठिकै लाग्छ। मुखअगाडि हामीलाई कसैले पनि खराब भनेको छैन। गाउँलेले सहयोग पनि गरेकै छन्। सबै मिलेर बसेका छौं।
देशको राजनीति कस्तो लाग्छ?
नेताहरूलाई राजनीतिमा नाफा छ। उनीहरू पैसा खान राजनीति गर्छन्। यहाँको राजनीति राम्रो लाग्दैन। हामीलाई राजनीतिमा चासो पनि छैन।
गरिबका लागि केही पनि छैन। गरिबका लागि नेताहरूले के गरेका छन् र! यहीं हेर्नु न; आधा सडक बनाइदियो, आधा त्यसै छोडिदियो। यो सडक बनाउँदा पनि धेरै घुस खाएको छ भन्ने सुन्छु।
यति बेला सरकारले के काम गरिदिनुपर्छ जस्तो लाग्छ?
हामी किसानलाई खेती गर्न गाह्रो भएको छ। सधैं भोट दिएका छौं तर सरकारले एउटा बोरिङ (पानी तान्ने मेसिन) पनि दिएको छैन। बोरिङ मात्रै दिए पनि खेती गरेर सालभरलाई खान पुग्थ्यो। सरकारले सडक पनि बनाइदिनुपर्छ।
धेरै नेताहरूको नाम सुन्नुभएको होला, तपाईलाई को नेता मनपर्छ?
म बुझदिनँ, को को नेता छन्। मलाई नेताको बारेमा केही पनि थाहा छैन।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
जुली महतोलाई दिएँ, सूर्य छापमा। हुन त म गाछी (रूख) छापको मान्छे हुँ तर जुलीलाई भोट दिएँ।
आउने चुनावमा कसलाई भोट दिनुहुन्छ?
कसलाई दिन्छु, अहिले कसरी थाहा हुन्छ र! त्यति बेलासम्ममा मर्छु कि बाँच्छु, त्यो पनि थाहा छैन। जिउँदो रहें भने जसलाई मन लाग्छ उसलाई दिन्छु।