(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
५८ वर्षीय चेकराम चेपाङ आँगनको छेउमा बाँस काटिरहेका थिए। मैलो टिसर्ट, हाफ प्यान्टमा खुर्पेटो भिरेका उनी खेततिर जान हतार गरिरहेका थिए। उनले लगाएको ढाका टोपी धुजाधुजा नै परेको छ। तर उनी चितवनको विकट पहाडी गाउँ कान्दाका हुनेखाने मध्येका एक परिवारका मुली हुन्। मैले उनीसँग कुरा गर्न केही समय मागेँ। उनी कुरा गर्न तयार भए।
खेततिर के छ काम आज?
तरकारीहरू लगाएको छु। झार च्यात्नुपर्ने छ आज। पानी पनि हाल्नुछ।
के–के लगाउनुभएको छ तरकारी?
सागहरू हो। बोडी, स्कुसहरू पनि छ।
बारीमा अरू के–के फलाउनुहुन्छ?
यहाँ धेरै लगाउने त मकै, कोदो हो। धान हुँदैन, सबै पाखोबारी हो। मकै, कोदो बाहेक तरकारी लगाउँछौं।
खेतबारी कति छ?
३५–३६ रोपनी छ, छ न त। तर सबै पाखो हो। एक पाथी मकै लगायो भने चार डोको फल्छ। धेरै भएर के गर्नु।
तरकारी बिक्री पनि गर्नुहुन्छ?
त्यही बिक्री गरेर त चामल किन्ने हो सर। तरकारी तयार भएपछि बोकेर तल कालिटार पुर्याउँछौं। दुई, तीन घण्टा बोकेपछि गाडीमा हालेर भण्डारा लैजान्छौं बेच्न। बेचेर आएको पैसाले चामल किनेर ल्याउने हो।
ढाका टोपी पुरानो भएछ। कति वर्षअघि किन्नुभएको हो?
खोइ यादै छैन। किनेको पनि होइन होला। कताबाट आइपुग्यो। यही भने पनि लगाउँदा टाउकोलाई राम्रै हुन्छ भनेर लगाइरहेको छु ।
तपाईंले पढ्नुभयो कि भएन?
११ वर्षको हुँदा एक पटक ३ घण्टा हिँडेर नलुङटार स्कुल गएको थिएँ। त्यहाँ मास्टरले विद्यार्थीलाई पिटेको देखेपछि डर लाग्यो। त्यो दिनपछि जानै छाडें। अचेल त विद्यार्थीलाई पिट्यो भने पनि कानुन लाग्छ रे। त्यतिखेर त मज्जाले पिट्थे।
गाउँमै स्कुल रहेछ त?
अहिले त गाउँमै छ स्कुल। हामी सानो छँदा थिएन। यहाँको स्कुल हामी गाउँलेले श्रमदान गरेर बनाएका हौं। पहाड खारेर स्कुलका लागि जमिन तयार पारियो। दिनमा दश घण्टा सिमेन्ट बोकियो। छोराछोरीले पढ्न नपाए पनि अहिले नाति, नातिनाहरूले पढ्न पाएका छन्।
कस्तो लाग्छ बालबालिकाले पढेको देख्दा?
राम्रो लाग्छ। बेला–बेलामा स्कुल गएर उनीहरू पढेको हेर्छु। गाउँमै छात्राबास पनि खुलेको छ। निःशुल्क खान, बस्न व्यवस्था छ। हाम्रो बेलामा पनि यस्तो भइदिएको भए कति राम्रो हुन्थ्यो होला जस्तो लाग्छ। मेरा ५ जना नाति, नातिना यहीँ पढ्छन्।
अनि तपाईंको जिन्दगी कस्तो चलिरहेको छ त?
जिन्दगी राम्रै छ भन्नुपर्यो। धेरै आशा पनि छैन। काम गर्ने, खाने त हो।
सुख, दुःख कस्तो छ?
सुख त के हुनु र, गर्न सक्यो भने सुख, नसके दुःख हो।
खान पुगेको छ?
चेपाङ समुदायका धेरै अझै पनि खानाको लागि जंगलको भर पर्छन्। मेरो परिवारलाई जंगलको भर पर्न परेको छैन। आफ्नै उब्जनीले पुगेको छ हामीलाई।
खानेकुरा के मन पर्छ?
खानेकुरामा भात, तिउन त्यही त हो।
बजारमा पाउने खाने कुरा पनि खानुभएको छ होला नि?
पैसा भयो भने खाने हो। मःम खाएको छु। मिठै हुन्छ। तर एक दिन खाएर मिठो भएर के काम। आफ्नो घरको भात, तिउन, ढिँडो दिनदिनै पकाएर खाएको छु, मिठो भए पनि, नभए पनि त्यही ठीक।
कुनै रोग बिमार छ कि छैन ?
अहिलेसम्म रोग छैन। ज्यान त दुखिहाल्छ काम गरेपछि। बसेर उठ्दा कहिलेकाहीँ रिँगाटो लाग्छ। अरू केही छैन।
अस्पताल गएर जँचाउनुभएको छैन?
गाउँमा स्वास्थ्य चौकी खुलेको छ। तर जँचाएको छैन। अल्लि अघि एउटा शिविर आएको थियो। त्यहाँ जँचाएको हो। ठीक छ भनेका थिए डाक्टरले। सामान्य समस्या भए झाँक्रीले पनि निको पार्छ। ठूलै भए जाने हो अस्पताल।
राति निद्रा लाग्छ?
निद्रा त सुत्न खोजेपछि लागिहाल्छ।
तपाईं जिन्दगीमा सबैभन्दा बढी खुसी कहिले हुनुभएको थियो?
खुसी त अहिले छु म। काम अल्लि कम गरेर भएको छ। पहिले त सधैं काम मात्रै गर्नुपर्थ्यो। सधैं दुःखमात्रै हुन्थ्यो। घरमा बस्न पाउँदा मलाई खुसी लाग्छ। नत्र काम गर्न परिहाल्छ, दुःख भइहाल्छ। घरमा पाहुना आउँदा पनि खुसी लाग्छ।
सबैभन्दा दुःखी हुनुभएको दिन याद छ?
आमा, बाबु मर्दा दुःख लाग्यो। अनि केही वर्षअघि मैले पालेका ३९ वटा बाख्रा विष खाएर एकैपटक मरे। यसले मलाई असाध्यै दुःखी बनाएको थियो। रूनै मन लागेको थियो। निकै दुःख गरेर पालेका थिएँ बाख्रा। माउ नै १९ वटा थिए। सबै बेचेको भए ३ लाख रूपैयाँ आउँथ्यो। त्यत्रो क्षति हुँदा पनि कसैले सहयोग गरेनन्। भएको सबै सम्पत्ति गयो।
गाउँ कस्तो लाग्छ अचेल?
पहिले त झ्याउ लाग्थ्यो। अनकन्टार थियो। अचेल रमाइलो लागेको छ। गाउँमा स्कुल बनेर चहलपहल बनेको छ।
समाज, छिमेकी कस्ता छन्? राम्रो, नराम्रो के छ?
मलाई मेरो समाज राम्रो लाग्छ। बिरामी पर्दा सहयोग गर्छन्। खेती गर्दा सबै मिल्छन्। नराम्रो केही छैन।
नाचगान गर्नुहुन्छ कि गर्नुहुन्न?
नाचगान गर्दिनँ। हेर्न माज्जा लाग्छ।
कहिले हुन्छ गाउँमा नाचगान?
चाडबाडमा हुन्छ। हेरेर रमाउँछु।
मोबाइल चलाउनुहुन्छ?
छोरी आउँदा कहिलेकाहीँ हेर्छु।
कस्तो लाग्छ मोबाइल हेर्दा?
रमाइलो हुँदो रहेछ। बेलामा पढ्न पाए चलाउन जानिथ्यो होला। लगाएर दिएको हेर्ने हो म त। त्यही हेर्न पनि मज्जा हुँदो रहेछ।
के देख्नुभयो मोबाइलमा?
नाच्ने, गाउने गरेको थियो। कहिलेकाहीँ त मज्जाले हँसाउँछन्।
रेडियो त होला नि घरमा?
रेडियो पनि छैन।
देश, विदेशका खबर कसरी थाहा पाउनुहुन्छ त?
अरूले भने थाहा हुन्छ नत्र थाहा हुँदैन। स्कुलका सरहरूले सुनाए भने थाहा हुने हो, नत्र लाटै हो।
नेपालको प्रधानमन्त्री को छ अहिले थाहा छ?
थाहा छैन।
पहिले को थियो?
खोइ बिर्सियो।
देशका नेता कसैको नाम थाहा छ?
पहिले गिरिजा भन्ने सुन्थे। तर को हो थाहा छैन। चुनावको बेलामा रूख, सूर्य, घण्टी भन्छन्। त्यही हो सुनेको। नेता त चिन्दिनँ।
भोट कसलाई दिनुभयो त?
सूर्यलाई दिएको हो पहिले। जो माग्न आउँछ त्यसलाई दिने हो।
के भनेर भोट माग्छन्?
गाउँको विकास गर्छु भन्छन् भन्न त।
विकास गरे त?
सूर्यले अलिअलि त गरेको हो। घण्टीले पनि गर्छ कि जस्तो त छ।
अबको चुनावमा कसलाई भोट हाल्नुहुन्छ?
हेरम को आउँछ माग्न।
तपाईंहरूले भोट सधैं हाल्नुभयो, गाउँलाई के भयो?
के गर्नु र खोइ। केही छैन गाउँमा। भोट माग्नेहरू माग्दाको दिनमात्रै देखिन्छन्। त्यसपछि आउँदैनन्।
सरकारले के गर्दिए हुन्थ्यो जस्तो लाग्छ?
विकास गर्दिए हुन्थ्यो। बाटो खोल्दिए हुन्थ्यो जस्तो लाग्छ।
गर्लान् त सोचेजस्तो?
अहिलेसम्म गरेनन्। अब गर्लान् भनेर भरै त कसरी परौं र खोइ।