(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरका मंगल महतो घरमै थिए। बिहान खेतमा काम गरेर आएका उनी थकित देखिन्थे। उनको घरअगाडि सडक पेटीमा टायर गाडा थियो। खाइलग्दा एकहल गोरू बाँधिएका थिए।
उनले कहिलेकाहीँ बाँसको व्यापार गर्छन्। आफूलाई किसान भन्छन्। हामीले उनै मंगलसँग कुराकानी गरेका छौं :
के काम गर्नुहुन्छ?
अहिले त खेतीपाती नै बढी गर्छु। धान र उखु लगाउँछु। थोरै तरकारी पनि लगाउँछु। बीचबीचमा अलिअलि बाँसको व्यापार गर्छु।
यो वर्षाको समयमा बालीनालीको अवस्था कस्तो छ?
एकपटक पानी आयो सबै डुबाउने गरी। त्यसपछि पानी परेको छैन। अरूतिर धेरै वर्षा भएको भन्ने सुन्छु तर हाम्रोतिर पानी नभएर धानको बिजोग छ।
अहिले धान फुट्ने (धानको बाला निस्किने) बेला छ। पानी धेरै चाहिन्छ तर पानी नै छैन। किसानलाई त सधैं यस्तै हो। भगवान् भरोसे चलेको छ।
बाँसको व्यापार कस्तो चलेको छ?
जनकपुरमा बाहिरबाट ट्रकमा बाँस आउन थालेपछि हाम्रो व्यापारको अवस्था गडबड छ। बाहिरबाट ट्रकमा ल्याएको बाँस सस्तो पर्छ। हाम्रोतिर किसानसँग महँगोमा किन्नुपर्छ। महँगोमा किनेपछि महँगोमै बेच्नुपर्यो। महँगो भएपछि बिक्री हुँदैन।
चार–पाँच वर्षदेखि बाँसको व्यापार चौपट भएको हो। अहिले गाउँमा सय रूपैयाँ गोटा भेटें भने भने किन्छु नत्र किन्दिनँ। पहिले हाम्रो गाउँका बाँसको व्यापार गर्ने अरू पनि थिए। अहिले उनीहरूले छोडिसके। म एक्लै कहिलेकाहीँ किनबेच गर्छु।
तपाईंले बाँसको व्यापार गरेको कति भयो?
भयो २० वर्षजति। सुरू गरेका बेला त व्यापार राम्रो थियो। राम्रो फाइदा हुन्थ्यो। अहिले मन्दी छ। एक टायरगाडा बाँस काट्न दुई दिन लाग्छ। बेच्न पनि दुई–तीन दिन लाग्छ। मुस्किलले दुई हजार–पच्चीस सय रूपैयाँ फाइदा हुन्छ।
वर्षभरिका कति कारोबार गर्नुहुन्छ?
अहिले दुई लाख जतिको कारोबार हुन्छ। पहिले यसको दोब्बर–तेब्बर हुन्थ्यो। तुरन्तै बिक्थ्यो पनि। अहिले घरबाट लोड (भारी) गरेर बिहानै हिँड्छु, दिनभर घुम्छु। कहिले एक दिनमै बिक्छ। कहिले दुई–तीन दिन लाग्छ।
मान्छेले के कामका लागि बाँस किन्छन्?
कोही घर बनाउन, कोही घेराबेला लागाउन, कोही टाट बुन्न किन्छन्। डोम समुदायले ढाकी र नाङ्लो बुन्न किन्छन्। धेरै त ढलानमा बिक्री हुन्छ।
सधैं बाँस बेच्न कसरी लैजानुहुन्छ?
टायरगाडामै लैजाने हो। गाडा तान्न एक लाख ५५ हजारको गोरू राखेको छु। पहिले गोरूले नै खेतीपाती पनि गर्थें। अहिले त ट्याक्टरबाट जोताउँछु।
गाउँमा कसैलाई टायरगाडा जरूरी पर्यो भने लैजान्छन्। पहिले गाउँमा घरघरमा गोरू हुन्थे। अहिले यो गाउँमा मेरो मात्रै छ। मैले सधैं गोरू राखेको छु। गोरू पाल्ने बानी परिसक्यो। मलाई त घरमा गोरू नभई हुँदैन।
बाँस व्यापारमा के के समस्या हुन्छ?
मुख्य समस्या त उही मानिसहरू बाँस सस्तोमा किन्न खोज्छन्। नाफा लिन धेरै गाह्रो हुन्छ। मिहिनेत अनुसारको नाफा हुन छाड्यो भन्ने नै हो। बाँस वव्यापरमा हिँड्दा वर्षातको समयमा गोरू बाँध्ने ठाउँ हुँदैन। आफू त जसोतसो कहीँ सुतिहाल्छु, गोरू जोगाउन गाह्रो हुन्छ।
बाँस कसरी जम्मा गर्नुहुन्छ?
बाँस हुने मान्छेसँग किन्नुपर्छ र आफूले कटाउनुपर्छ। काट्ने मजदुरले गोटाको १५ रूपैयाँदेखि २५ रूपैयाँसम्म लिन्छ, बाँस हेरेर पैसा लिन्छ।
बाँस बेच्न घरबाट हिँडेपछि दुई–तीन दिनमा मात्र फर्कनुहुँदोरहेछ, रात कसरी बिताउनुहुन्छ?
हामी त सकडपेटीमै पनि बसिहाल्छौँ। टायरगाडाको तल सुत्छौं। दाउरा, भाडावर्तन, खानेकुरा सबै बोकेका हुन्छौं। जहाँ बस्छौँ त्यहीँ पकाउँछौं, खान्छौं। बाँस बेचिसकेर मात्रै फर्किन्छौं। एक्लै हुँदा टाढा जान गाह्रो हुन्छ, नजिकमै घुम्छु।
व्यापार राम्रो कि खेतीपाती?
राम्रो त व्यापार नै हुन्छ। खेती गर्न परिवारमा मान्छे चाहिन्छ। तन्दुरूस्त हुनुपर्छ। मेरो परिवारमा त खेतीमा म एक्लै परिहाल्छु। खेतीमा मिहिनेत धेरै छ। सिँचाइ छैन। वर्षाको भरमा खेती गर्नुपर्छ, उब्जनी राम्रो हुँदैन।
आफूले खानलाई एक बिघाजति खेती गर्छु। तरकारी पनि किन्न पर्दैन। अरू जमिनमा आँपको बगैंचा लगाएको छु तर आँपबाट पनि फाइदा छैन। उखु लगाएको छु। उखुबाट अलिअलि पैसा आउँछ।
खेतीबाट फाइदा छैन तर खानलाई धान फल्छ। जमिन खाली छोड्न मन लाग्दैन।
व्यापार र खेतीमा व्यस्त रहनुहुन्छ, मनोरञ्जनका लागि के गर्नुहुन्छ?
मनोरञ्जन भनेर त्यस्तो केही पनि गर्दिनँ। काम नहुँदा घरमै बस्छु। छिमेकीहरूसँग गफ गर्छु। गाउँमै यतायता घुम्छु।
खानामा सबैभन्दा धेरै के मनपर्छ?
दालभात, तरकारी, तरूवा, रोटी, दुध सबै मन पर्छ। हाम्रो मधेशीमा शाकहारीका लागि मासु बराबर यही खानेकुरा हो।
तपाईंका छोराछोरी कति छन्?
दुई छोरा र चार छोरी छन्। एकजना छोरा पहिले नै बितिसक्यो। अहिले एक जना विदेशमा छ। अर्को घरमै छ। छोरीहरूको बिहे भइसक्यो। उनीहरू ससुरमा (श्रीमानको घरमा) बस्छन्।
छोराछोरीबाट कतिको सुख मिलेको छ?
छोरी बिहे भएर आफ्नो घर गइहाले। छोराबाट सुख मेरो भाग्यमा लेखेको छैन। उनीहरू मिलेर बस्दैनन्। सबैजना मिलेर बसेको भए दुःख हुने थिएन।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
अहिले गडबड छ। खाना राम्रो पच्दैन। व्यापारमा जान पनि गाह्रो हुन थालेको छ। । अरू पनि केही न केही भइरहन्छ। टेन्सन (तनाव) ले रोगबिराम बढ्छ।
रातमा निद्रा कस्तो छ?
म राति धेरै बेर जागेरै बस्छु, तीन–चार घण्टा सुत्छु। धेरै सुत्दा पनि त खराबी गर्ला नि!
यति बेला तपाईंसँग ठिक्कको पैसा हुँदो हो त के किन्नुहुन्थ्यो होला?
केही सोख छैन। घर बनाउन बाँकी छ तर मसँग धेरै पैसा छैन। घर बनाउन कम्तीमा २० लाख रूपैयाँ चाहिन्छ। मसँग त्यति पैसा नै हुँदैन। छोराहरूले बनाउलान्।
सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
धेरै खुसी भएको याद छैन। कान्छो छोरा हुँदासम्म खुसी नै थिएँ।
सबैभन्दा धेरै दुःखी भएको दिन सम्झना छ?
छोराको मृत्यु हुँदा सबैभन्दा धेरै दुःखी भएँ। धेरै दिन रोएँ, कराएँ। त्यति पीडा त कहिल्यै भएको थिएन।
छोरा कहिले बित्नुभएको?
उसको नाम विवेक थियो। बितेको तीन वर्ष भयो। मोटरसाइकल दुर्घटनामा परेर गयो।
यस्तो भए हुन्थ्यो भनेर तपाईंको मनमा चलिरहने कुरा केही छ कि?
सबै मान्छेले कमाइ गरोस्। सबै धनी होओस् भन्ने कुरा मनमा चलिरहन्छ। एकजना पनि गरिब नहोओस् जस्तो लाग्छ।
तपाईंलाई आफ्नो गाउँसमाज कस्तो लाग्छ?
राम्रै लाग्छ। मान्छेहरू मिलेर बसेका छन्। सबै ठाउँमा राम्रो–नराम्रो मान्छे त भइहाल्छ।
गाउँमा मान्छेहरू एकअर्काको घरमा जान्थे, दुःखसुखका कुरा गर्थे। आजकाल त्यस्तो वातावरण छैन। एउटाले अर्कोकालाई शंका गर्छ। कोहीसँग कसैले मतलब राख्दैन। यस्तो भएको राम्रो लागेको छैन। गाउँमा गँजेडी, नसेडी पनि बढेको छ।
देशको राजनीति कस्तो लाग्छ?
त्यो त राजनीति गर्नेलाई नै थाहा होला। सबै नेता पैसामा बिक्छन्, पैसा लिएर मात्र काम गर्छन्। भोट लिएर जितेपछि गाउँमा केही पनि काम गर्दैन। कांग्रेसलाई भोट दिएँ तर १० वर्षदेखि खेतमा एउटा इनार खनाइदिन भन्दा पनि गरिदिएन।
तपाईंलाई मन पर्ने नेता को हो?
नेता त बालेन शाह नै राम्रो छ भनेको सुन्छु। ऊ कोहीसँग डराउँदैन। सबै मान्छे उसले राम्रो काम गरेको छ भन्छन्। बाँकी त सबै चोर छन्।
गएको संसदीय चुनावमा कसलाई भोट दिनुभयो?
मैले त गाउँकै कृष्ण महतोलाई दिए। उनी स्वतन्त्र उठेका थिए। गाउँका युवा हुन्, गाउँका लागि काम गर्छन् भन्ने लागेको थियो तर उनले धोका दिए। राजनीति नै छोडेर विदेश हिँडिदिए।
आउने चुनावमा कसलाई भोट दिनुहुन्छ होला?
अहिले नै ठ्याक्कै भन्न सक्दिनँ। को उम्मेदावर हुन्छ, त्यसमा भर पर्छ।
यति बेला सरकारले के काम गरिदिनुपर्छ जस्तो लाग्छ?
सरकारले खेतीमा सिँचाइको व्यवस्था गरिदिए हुन्थ्यो। सिँचाइ भएपछि किसान मजाले खेती गर्छन्। सबै किसानलाई बोरिङ (भूमिगत पानी तान्ने) व्यवस्था गरिदिनुपर्छ। सिँचाइ र मलको व्यवस्था गरिदिए पुग्छ, बाँकी काम किसानले आफै गरिहाल्छ। यहाँ नेताका नजिकका मान्छेले बोरिङ पाएका छन्।