(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बुटवल उपमहानगरपालिकाका–१०, कालिकानगरमा सडक किनाराको एउटा छहारीमा भेटिए एक वृद्ध। कालिकानगरकै बासिन्दा रहेछन्; नाम रेश्मीराज पौडेल। उनी दिनहुँजसो बेलुकीपख लौरो टेकेर टोलतिर टहलिन निस्कँदा रहेछन्।
म उनीसँग कुरा गर्न अघि सरेँ। आफ्नो परिचय दिएँ अनि अन्तर्वार्ता छाप्ने अनुमति मागेँ। उनी पनि कुराकानी गर्न तयार भए।
तपाईंको नाम के हो? उमेर कति भयो?
मेरो नाम रेश्मीराज पौडेल, ९४ वर्षमा छु।
यति वृद्ध उमेरमा पनि हट्टाकट्टा हुनुहुँदो रहेछ त?
अहिलेसम्म हट्टाकट्टा नै छु। बेलुकीपख लौरो टेकेर टोल घुम्न निस्कन्छु। घरबाहिर निस्किएपछि दौंतरीहरू भेटिन्छन्, गफ गर्न पाइन्छ। मानिसहरू भेट्न पाइन्छ। अहिले तपाईंसँग भेट भयो। कुरा गर्न पाइयो।
तपाईंको घर कहाँ हो?
मेरो खास घर त अर्घाखाँचीको जुकेना हो। म ८७ (१९८७) सालमा जन्मिएको हुँ, ९१ वर्षको उमेरसम्म गाउँमै बसेँ। तीन वर्षअघि श्रीमती बितेपछि घरमा बस्न मन लागेन। बुढो मान्छे एक्लै बस्ने कुरा पनि भएन। छोराबुहारीहरू बुटवलमा बस्छन्। म पनि उनीहरूसँगै बसेको छु। छोराहरूको घर भएपछि मेरो पनि घर भयो।
बुढेसकालमा पहाडको घर र जग्गाजमिन छोडेर हिँड्नुपरेछ!
निकै गाह्रो भयो।
म बुबाआमाको एक्लो छोरो, एक दिदी र एक बहिनी थिए। दिदी बितिसकिन्, बहिनी छिन्। म तीन वर्षको हुँदा बुवा बित्नुभएछ। आमाले दुःख गरेर हामी तीन छोराछोरी हुर्काउनुभयो। गाउँमा हाम्रो प्रशस्त जग्गाजमिन छ। अहिले पनि सय मुरी धान फल्ने खेत छ। बारी–खरेन पनि धेरै छ। अहिले सबै त्यतिकै छोडेर आउनुपरेको छ।
आजकाल तपाईंलाई के गर्न मन लाग्छ?
हरिराम कीर्तन गर्न र मन्दिर दर्शन गर्न मन लाग्छ। केही दिनअघि छोरी आएकी थिइन्। उनैसँग केबलकार चढेर बसन्तपुर गएँ। माथि डाँडामा कामाख्या मन्दिर रहेछ, दर्शन गर्यौं। पण्डितलाई टीका लगाइदिएर दक्षिणा दिएँ। पण्डितले मलाई रुद्राक्ष माला लगाइदिनुभयो।
जवान छँदा पनि तीर्थ–ब्रत गर्नुहुन्थ्यो?
तीर्थ गइयो नि! अयोध्या, काशी, गंगासागर, मुक्तिनाथ, स्वर्गद्वारी, पशुपतिनाथ सबै ठाउँ गएको छु। जनकपुरको जानकी मन्दिर जान पाएको थिइनँ। छोराछोरीलाई सुनाएको थिएँ, यसपालि लिएर गए। जानकी मन्दिर पनि दर्शन गरेर आएँ।
घरमा को को हुनुहुन्छ?
दुई छोराबुहारी, एक छोरी, नातिनातिना सबै छन्।
छोराछोरीबाट कत्तिको सुख पाउनुभएको छ?
धेरै राम्रो छ। ठूलो छोराले र कान्छा छोराले यहीँ (बुटवल) अभियानपथमा एकएक वटा घर बनाएका छन्। छोरी काठमाडौंमा सरकारी जागिरे छिन्। मैले सानैमा बुवा गुमाएँ पनि मलाई छोराछोरीले धेरै सुख दिएका छन्।
कहाँ घुम्न मन लागेको छ, के खान मन लागेको छ, सबै सोध्छन्। मेरो जन्मदिनमा दुःखी गरिबलाई भोजन गराइदिन्छन्। अहिलेको जन्मदिनमा देवीनगर (बुटवल) को अपांग आश्रममा भोजन गरायौं। मेरो धेरै रेखदेख गर्छन्। छोराछोरीले मात्र होइन, बुहारी नातिनातिना सबैले सुख दिएका छन्।
परिवारमा मेलमिलाप कस्तो छ?
धेरै राम्रो छ। दुई भाइ छोराका घर जोडिएका छन्। म धेरैजसो जेठो छोरासँग बस्छु। कान्छा छोराको घरमा केही मिठो पाकेको छ भने ल्याइदिन्छन्। एउटा घरमा पकाएको मिठोमसिनो अर्को घरमा पुर्याउँछन्। बाँडेर खान्छन्।
तपाईंलाई के खान मन पर्छ?
अब त के खान मन पर्ने हो र! दालभात, तरकारी यस्तै मन पर्छ। बजारको चिज केही पनि खान मन लाग्दैन। माछामासु खाने गरेको छैन, सानै उमेरमा छाडेको हुँ।
तपाईंको स्वास्थ्य कस्तो छ?
अब त स्वास्थ्य कस्तो छ भन्ने हो र! प्रेसर (उच्च रक्तचाप) को औषधि खाएको १५ वर्ष भयो। अरू ठिकै छ। लौरो टेकेर हिँड्दैछु।
निद्रा कस्तो छ?
उमेर गएपछि निद्रा हराउने रहेछ। राति ११ बजे सुत्दा पनि २ बजे नै ब्युँझन्छ्। एकपटक निदाएर ब्युँझेपछि निद्रा नै लाग्दैन। रात त्यतिकै बित्छ।
निद्रा नलागेपछि के गर्नुहुन्छ?
के गर्नु र! यता कोल्टे फर्किने, उता कोल्टे फर्किने! बिस्तारामा बस्ने, हरेराम जप्ने! उज्यालो हुन थालेपछि गीता (श्रीमद्भगवद्गीता) र चण्डी पाठ गर्छु।
अझै पढ्न सक्नुहुन्छ?
सक्छु नि! अहिले पनि हरेक दिन बिहान पाठ गर्छु। पूजा गर्छु। पढ्नलाई चस्मा लगाउनु परेको छैन। चस्मा लगाउने त हिँडडुल गर्दा मात्र हो।
तपाईंलाई ठिक्क पैसाको यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने केही छ?
मलाई त सबै भरिपूर्ण छ। चाहिएको चिज छोराबुहारीले, छोरीले ल्याइदिन्छन्। केही चिजको अभाव छैन।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
म त सधैं धेरै खुसी छु। म धेरै सानो छँदा बुवा बिते पनि हजुरबा र आमाले दुःख हुन दिनुभएन। बुढेसकालमा छोराछोरीले आफ्नो राम्रो बन्दोबस्त गरेका छन्। आजसम्म पुर्ख्यौली जग्गाजमिन बेच्नुपरेको छैन। म त अहिले पनि खुसी छु।
सबैभन्दा धेरै दुःखी कहिले हुनुभयो?
दुःखी त बेलाबेला भइयो। बुवा बितेपछि बुवाको भागको अंश हजुरबाले मलाई दिनुभयो। त्यसमा काकाहरूले ईर्ष्या गर्नुभयो। राम्रो खेतबारी दिएको भनेर त्यसमा आँखा लगाउनुभयो। अन्तिममा सबैले छोडेको जग्गा मैले लिएँ। त्यस बेला धेरै दुःख लागेको थियो।
हजुरबाले दिएको अंश अर्कोले खोस्न पाउँदैन भनेर कसैकसैले त मुद्दा हाल्न पनि भनेका थिए तर आमाले जहाँको दिन्छन् त्यहीँको लिएर बसौंला, मुद्दा मामिला गर्नु हुँदैन भन्नुभयो। काकाहरूले छाडेको जग्गा लिएर पनि मैले जीविका चलाएँ।
आफूलाई हुर्काएका हजुरबा र आफ्नी आमा बित्दा पनि धेरै दुःख लाग्यो। मैले दुई वटी श्रीमती बिहे गर्नुपर्यो। पहिली श्रीमती छोराछोरी नहुँदै बितिन्।
उनी बितेपछि जेठानले आफ्नै छोरी बिहे गरिदिनुभयो, मभन्दा १४ वर्ष कान्छी थिइन्। उनी तीन वर्षअघि ७७ वर्षको उमेरमा बितिन्। त्यस बेला पनि धेरै दुःख लाग्यो।
यस्तो नभएको भए हुन्थ्यो भनेर तपाईंको मनमा गढेर बसेको केही कुरा छ कि?
अब के पिर मान्ने हो र! त्यस्तो केही पनि छैन। आमा र हजुरबुवाले हुर्काउनुभयो। हजुरबाले काकाहरूको बराबर अंश दिनुभयो। मैले पनि छोराछोरीलाई राम्रै शिक्षादीक्षा दिन सकेँ। म सन्तुष्ट छु।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
पहाडको टोल समाजले त मलाई धेरै मानेको थियो, सम्मान गरेको थियो। मैले कसैको दुई पैसा चलाउन परेन। गाउँलेलाई परेका बेला सहयोग गरेँ। गाउँको ‘जिम्मुवाल’ थिएँ। त्यही भएर पनि सबैले मान्थे।
यहाँ (बुटवल) को टोल समाज कस्तो लागेको छ?
यहाँको पनि स्वर्ग नै लागेको छ। दिनभरि घरभित्र बसे पनि साँझबिहान बाहिरफेर डुल्छु। नयाँनयाँ मान्छे भेटिन्छन्। अहिले तपाईंले गरेजस्तो सोधिखोजी गर्छन्। रमाइला कुरा गर्न पाइएको छ, रमाइलो छ यहाँको समाज पनि।
टोल समाजको सबैभन्दा राम्रो पक्ष के हो?
सबै राम्रो छ। कहाँ कहाँबाट आएका भए पनि सबै मिलेर बसेका छन्। एकअर्कालाई सहयोग गर्छन्।
टोल समाजको मन नपर्ने पनि केही छ?
मन नपर्ने केही पनि छैन। हामी नेपालीजस्तो मिलेर बस्ने दुनियाँमा अरू को होला र!
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
राजनीतिका कुरा त छोडिदिनुस्! जे जे गर्छन् माथि पुगेका टाउकेहरूले गर्छन्। हामीले त गाउँघरका कुरा गर्ने हो। म पनि सात सालमा कांग्रेसको झण्डा बोकेर गाउँघर डुलेको हुँ। त्यति बेलाको आन्दोलनमा हिँडेको हुँ। अहिले त सबै सकिहाले नि!
गाउँमा मान्छे छैनन्। काम गर्ने बलिया जति सबै विदेशमा छन्।
देशको नेतामा तपाईंलाई को मन पर्छ?
अहिलेका कोही नेता पनि मन पर्दैन। पहिले राजा महेन्द्र मन पर्थे। महेन्द्रजस्तो राष्ट्रभक्त मान्छे मैले कोही पनि देखिनँ। उति बेला पनि गाउँगाउँमा विद्यालय, बाटोघाटो, सरकारी कार्यालयका भवन सबै महेन्द्र राजाले बनाएका हुन्।
अहिलेका कुनै पनि नेतामा महेन्द्रको जस्तो क्षमता छैन। म त राजा महेन्द्र अर्घाखाँची आएको बेला उनीसँगै जिल्ला घुमेको पनि छु।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
भोट त पहिलादेखि जसलाई दिन्थेँ, गएको चुनावमा पनि उसैलाई दिएँ।
कसलाई दिनुभयो त?
भोट दिएको पनि भन्छन् र! त्यो त भन्दिनँ। एउटालाई दिएको भन्दा अर्को रिसाउँछ।
आफ्नो भोट हो नि, जो राम्रो लाग्यो उसलाई दिएँ भन्न डर मान्नुपर्छ र?
रूखमा दिएको हो। उहिले नै कांग्रेस भएँ, अहिलेसम्म पनि चुनाव चिह्न फेरेर भोट दिएको छैन। शरीरमा जनै नछोडेजस्तै हो मेरा लागि चुनाव चिह्न पनि।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ होला?
अब त भोट नदिने। म यहाँ (बुटवलमा) छु, भोटर लिस्ट पहाडमा छ। अब एउटा भोट दिन पहाड के गइरहनु र! चौरासी (८४ वर्ष उमेरको पूजा) गरेपछि त भोट नदिए पनि पाप लाग्दैन रे!
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
अरू त के गर्ने हो र! सरकारले सबैलाई सुख शान्ति हुने काम गरोस्। नेताहरू मिलेर देश चलाऊन्। सरकारमा बस्नेहरू नमिल्दा जनताले धेरै दुःख पाए।
अहिले त एमाले र कांग्रेसले सरकार बनाएका छन् रे! उनीहरू मिलेर काम गरे भने जनतालाई दुःख हुँदैन।