(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
कञ्चनपुरको पुनर्वास नगरपालिका, भीमबस्तीकी बासिन्दा हुन् ५५ वर्षीया लक्षु साउद। सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षणका लागि धनगढी आएकी रहिछन्। धनगढीमा उनका छोराको पसल छ। छोराबुहारी धनगढीमै बस्छन्। लक्षु छोराको पसलमा भेटिइन्।
हामीले उनै लक्षुसँग गरेको कुराकानी :
सञ्चै हुनुहुन्छ?
ठिकै छ ।
तपाईंको आफ्नै पसल हो?
छोराको पसल हो। म त कञ्चनपुर बस्छु। यहाँ सेती अस्पतालमा जँचाउँन आएकी हुँ।
बिरामी हुनुहुन्छ? के भएको नि?
हातखुट्टा सुन्निन्छन्। हातखुट्टा र पाखुरामा गाँठागुठिल्ला पनि आउँछन्। के गरेर यो रोग ठिक होला! हैरान भइसकें। जति उपचार गरे पनि ठिक भएको छैन।
डाक्टरले के भनेका छन्?
गाउँमा स्वास्थ्य चौकीमा देखाउँछु। धनगढी आएर सेती अस्पतालमा पनि देखाउँछु। ठीक भएको छैन। डाक्टरले केही पनि भनेका छैनन्।
राति निद्रा कस्तो छ?
जिउ नदुखेका बेला त निदाउँछु। कहिलेकाहीँ शरीरले निदाउन दिँदैन। आँखा नजोडी रात बित्छ।
मस्त निदाएको पनि सम्झना होला नि?
खेतमा काम गर्ने समयमा धेरै निदाउँथें, खेतमा रोपाइँ गर्दा गर्दै पनि निदाउँथें। कहिलेकाहीँ खेतमै निदाउँथें। साथीहरूले चिमोटेर उठाउँथे।
उमेरमा त दिनभरि काम गरेपछि राति मस्त निद्रा लाग्थ्यो। कहिले रातभरि ओखल कुट्ने, जाँतो घुमाउने काम गर्नुपर्थ्यो, टाढाको पानी पनि बोक्नु पर्थ्यो। राति कामले सुत्न नपाएका बेला दिउँसो खेतमै निद्रा लाग्थ्यो।
बाल्यकालको सम्झना के के छ?
घाँसदाउरा गरेको सम्झना छ, अरू केही छैन। जिन्दगी घाँस दाउरामै बित्यो।
पढ्नलाई स्कुल जानुभएन?
छोरीलाई पढाउने चलन नै थिएन। स्कुल जाने केटा धेरै हुन्थे। केटी थोरै हुन्थे। मलाई त कामले नै फुर्सद मिलेन।
गाउँका बुढापाका महिला प्रौढ शिक्षा पढ्न जान्थे। मैले त त्यो पनि पढिनँ। प्रौढ शिक्षामा जाने फुर्सद पनि भएन। गाईभैंसीको पछि लागेको लाग्यै भएँ।
तपाईंका आमाबुबा के काम गर्नुहुन्थ्यो?
खेतीपातीको काम गर्थे। जमिनदार नै थिए। छोराछोरीमा एक भाइ र म थियौं। हाम्रो त बच्चामै बिहे भयो।
कति वर्षको उमेरमा बिहे भयो?
म सानी, बच्चै थिएँ बिहे हुँदा, जम्मा १० वर्षकी। मभन्दा २० वर्ष जेठासँग बिहे भएको हो। उहाँ (श्रीमान्) बिहे हुनुअघि नै कमाउन भारत जानुभएको थियो। बिहे गरेपछि मलाई हिँडाएरै घर लगेका थिए।
उहाँले त मभन्दा अगाडि नै दुई वटा बिहे गर्नुभएको रहेछ। दुबै जना उहाँलाई छोडेर गएका रहेछन्। म तेस्री श्रीमती भएँ। बाबुआमाले दिएपछि नाइँ भन्ने कुरा थिएन। त्यही पनि १० वर्षको उमेरमा के थाहा हुन्थ्यो र!
बिहेपछिको जिन्दगी कस्तो चल्यो?
बिहेपछि पनि उही घाँस, दाउरा, जाँतो, ओखल, घट्ट, खेतीपाती यस्तैमा बित्यो। आठ जना छोराछोरी जन्माएँ। तीन छोरी र दुई छोरा बिते। तीन छोरा बचाउन सकें।
पाँच जना छोराछोरी कसरी बिते?
तीनवटै छोरी जन्मिने बित्तिकै आँखा नखुली बिते। छोराहरू पनि सानैमा के के भएर बिते, थाहा नै पाएनौं। अहिले पो जतातै डाक्टर छन्, अस्पताल छन्। उहिले यस्तो केही पनि थिएन।
छोराहरूले कत्तिको सुख दिएका छन्?
बढिया सुख दिएका छन्। छोराबुहारीले बसीबसी खाऊ भन्छन्। छोराबुहारीले बसेर खाऊ भने पनि काम नगरी बस्न मन लाग्दैन।
परिवारमा मेलमिलाप कस्तो छ?
राम्रो छ। छोराहरू आआफ्नो काममा छन्। सबै मिलेकै छन्। बुढा (श्रीमान्) त अब बुढो भइसक्नुभयो।
तपाईं घरमा के के काम गर्नुहुन्छ?
बुढालाई खाना बनाउँछु। मेलौली (बैतडी) बाट तराई झरेको १५ वर्ष भयो। यता पनि बाख्रा पालेकी छु। अलिअलि खेतीपातीको काम पनि गर्छु। पहिलाको जसरी त गर्न सक्दिनँ तर काम नगरी बस्दिनँ। त्यसै बसेर खान मन लाग्दैन। काम गरेरै खाएको राम्रो लाग्छ। सानैदेखि काम गर्ने बानी भयो।
तपाईंलाई रमाइलोका लागि गर्न मन पर्छ?
मन पर्ने काम गर्न त ईश्वरले पनि पुर्याइदिनु पर्यो नि! बुढेसकाल लागिसक्यो। मन पर्ने काम भनेर गर्न पाइने होइन। जिन्दगी सधैं उस्तै हो। के मन पर्ने भन्नु! के मन नपर्ने भन्नु!
तपाईंलाई मनपर्ने खाना के हो?
खाना त सबै मन पर्छ। सबै खानेकुरा मिठो लाग्छ। यो चाहिँ धेरै मन पर्छ भन्ने केही छैन। खान पाए भयो।
तपाईं जिन्दगीमा के कुरामा धेरै खुसी हुनुभयो?
खुसी नै छैन, सधैं दुःखमै छु। विपत्तिमै जिन्दगी गयो। कहिल्यै खुसी आएन।
तपाईंसँग ठिकठिकै पैसा हुँदो हो त के किन्नुहुन्थ्यो होला?
अहिले केही पनि किन्ने रहर छैन। आफूलाई चाहिएको चिज छँदै छ।
आजकाल विचार गर्दा जिन्दगी के रहेछ जस्तो लाग्छ?
गुना बाँदरको जस्तो भयो जिन्दगी। पढ्न पाइएन। सानी छँदा स्कुल जान मन लाग्थ्यो। घरकाले घाँसदाउरा गर्न पठाउँथे। मलाई यो जिन्दगी केही न केहीको लाग्छ। जिन्दगी जस्तो नै छैन।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
रमाइलो लाग्छ। अहिले धेरै सुविधा छ। पहिलाको जस्तो गाह्रो छैन।
पहिला कस्तो हुन्थ्यो?
पहिला यस्तो सुविधा थिएन। मोटरगाडी थिएन। बिजुली पनि थिएन। अहिले त धेरै सुविधा छ नि!
देशको राजनीतिमा कत्तिको चासो छ?
राजनीति जानेको छैन। घाँसदाउरा बाहेक केही पनि थाहा भएन। केही थाहा नपाएर त जिन्दगी त बाँदरको जस्तो भएको हो नि!
देशमा धेरैपटक चुनाव भइसक्यो, कतिपटक भोट दिनुभयो?
अहिलेसम्म एकपटक पनि दिएको छैन।
किन नि?
भोट दिन जाने कार्ड (मतदाता परिचयपत्र) नै बनाएको छैन।
कार्ड किन बनाउनुभएन त?
बनाउन जाने फुर्सद नै भएन। सधैं कामको धमाधम भयो।
अब कार्ड बनाउनुभयो भने आउने चुनावमा कसलाई भोट दिनुहुन्छ?
खोइ, बाँचिन्छ कि मरिन्छ के थाहा! बाँचिएछ भने उति बेलै सोचौंला।